कला

जलरंगमा नेपाल संगाल्दै विदेशी कलाकार

काठमाडौं- यतिबेला झण्डै चालिस देशका चित्रकार उनीहरुको ‘ड्रिमल्याण्ड' नेपालमा छन्। उनीहरु नेपालमा जलरंगका कलामा उतार्न नयाँ नयाँ विषयको खोजी गरिरहेका छन्। नेपाल पहिलो पटक आएका र पटक पटक आएकाले पनि हरेक पटक यहाँ नयाँ नयाँ कलाका विषय भेटाउँछन्। विदेशबाट आएका पाहुनाले नेपाल जो कोही पनि आउन चाहने एउटा सपनाको शहर भएको उल्लेख गर्छन्।

अन्तर्राष्ट्रिय जलरंग महोत्सव मनाउन आएका विदेशी कलाकारले एउटै मञ्चमा कलाका अनेक रुप प्रस्तुत गरे। उनीहरुले बन्द मञ्चमा मात्र हैन नेपालको खुला आकाशमुनी बसेर समेत कलामा नेपाल समेटे।

मलेसियाका जान्सन चाओ नेपालमा पहिलो पटक आएका हुन्। उनले नेपाल संास्कृतीक सस्थानको मञ्चमा ज्वलन्त काठमाडौं उतारे।  ‘नेपालको घर,शहर र यहाँको उज्यालो प्रकाशले मलाई तान्यो,' उनले काठमाडौंकै एक गल्लीको चित्र कोरेपछि भने,‘जसमा जलरंगका अनेक तरंग छरे।' उनी नेपाल नआउदैदेखि नेपाललाई माया गर्ने गरेको बताए। मैलै कति माया नेपाललाई गर्छु यो तस्विरमा झल्किन्छ मेरो सपनाको शहर हो नेपाल। उनी यहाँका हरेक वस्तुमा उनी वास्तविकता भेटे। पानी र आकाशको संगमसँगै उनले रंगीवरंगी रंगको संगम आफ्ना कलामा पोखे।

थाइल्याण्डका नामचाई सिन्चुवा पनि नेपालमा पहिलो पटक आएका हुन्। नेपालको सान ढाका टोपी शिरमा पहिरिएरै हिड्छन्। सांस्कृतीक संस्थानको मञ्चमा उनी चित्र कोरिरहँदा देख्नेहरुले नेपाली नै ठाने। परिचय गर्दा बल्ल थाहा भो उनी त थाईल्याण्डका रहेछन्। नेपाल र थाईल्याण्डबिच धेरै समानता रहेको उनले पाए। यहाँको संस्कृती र संस्कारमा अनेकता भएपनि मानिसका अनुहार र व्यवहार उस्तै रहेको उनले अनुभव गरे। ‘मैले चित्र कोर्दा पहिले नै योजना बनाएँ,' उनी आफ्ना कला प्रविधीबारे सुनाउँछन्,‘उज्यालोबाट अध्याँरो,भिजेकोबाट सुख्खा अनि ठूलाबाट सानातिर केन्द्रित हुँदै चित्र कोरे।' यि नियमहरु चित्रकारिताका सुनौला नियम हुन्। जुन एउटा कलाकारले जान्नैपर्ने विषय हुन्। पानी र आकाशको एकअर्काबिचको समायोजन उनको चित्रमा मनमोहक देखिन्थ्यो। उनले वर्षामासमा किसानले धान रोप्दै गरेको चित्र कोर्दाको दृष्यमा हिलोको तरंगमा आकाशमा लागेको बादलु प्रकाशको मिहिन मिसावट थियो। किसानी जीवनसँग जोडिएका मेसिन, ट्याक्टर, धानका बिउ लगायका उपकरणलाई समेत उनका चित्रले छुटाएका थिएनन्।

अन्तर्राष्ट्रिय जलरंग सोसाइटीका केन्द्रिय उपाध्यक्ष तथा भारतका प्रख्यात चित्रकार अमित कपुरले भने भारतकै कुनै एक घरमाथीको दृष्य चित्राकंन गरे। झलक्क हेर्दा कुनै राजकिल्ला झै देखिने उनको कलामा सेतो कयानभासमा जलरंगका रंगिन रागहरु छरिएका थिए। ‘मैले चित्र कोर्दा सिंगल प्वाईन्ट ,डबल प्वाईन्ट तथा तलमाथीका उतारचढावलाई ख्याल गरेको छु,'कपुरले चित्र कोर्दामा रहस्य खोले। नेपालमा बसेर यसरी नेपाली र विदेशी दर्शकमाझ चित्र बनाउन पाउँदा गौरवको महसुस गरेको उनले बताए।

इन्डोनेसियाका अगुस बुडियान्ताले भने पत्र पत्र कागज भुईमा जोडेर एउटा ठूलो चित्र बनाए। मलाई यहाँ बजेको संगितको नेपाली धुनसँगै चित्र कोर्ने प्रयास मन पर्यो उनी भन्छन् संगितको भावसँगै मैले चित्रमा आफ्नो परिक्षण गरे।

थाइल्याडकै अर्का चित्रकार डेरिक किङनकले राजधानीकै मन्दिरको सुन्दर चित्र कोरे। नेपाल संस्कृती र संस्कारको धनी देश रहेछ त्यही मैले चित्रमा उतार्ने प्रयास गरे ,डेरिसले भने यहाँको जीवन र संस्कृतीको मेल बडो बेजोडको देखेपनि।

सोसाइटीका केन्द्रिय अध्यक्ष क्यानडाका एन्टोर डोगनले आफु नेपाली संस्कृती र संस्कारको फ्यान नै भएको उल्लेख गरे। कसरी मानिसहरु एकआपससँग नजिकको नातामा गाँसिएका छन् नेपाली संस्कारबाट हरेक विदेशीले सिक्नुपर्ने उनी औल्याउँछन्। ‘यहाँका मानिसका अनुहारमा होस वा व्यवहारमा मैले मानवियता पाएको छु,' उनले एउटी वृद्धको चित्र कोरेपछि बताए,‘शान्ति र ममताको खानी हुन नेपाली त्यही मैले देखेको छु।' उनले घान्द्रकको पहाडबाट देखिने हिमश्रृंखलाको निकै सुन्दर चित्र कोरे। नेपालको संस्कृती र संस्कार कलाको विषयमात्र नभएर यहाँको पर्यटनको प्रचुर सम्भावनाको विषय रहेको उनी औल्याँउछन्। नेपालमा सूर्यको प्रकार राम्रोसँग पर्ने भएकाले पनि कलाकारका लायि यो देश सुनौलो देश रहेको उनले अनुभव गरेका छन्।

नेपाली लोक संगितको धुनमा ६ कलाकारले कोर्दै गरेका चित्रहरु कम्प्यूटर प्रविधीबाट दर्शक दिर्घामा बसेकाले एकैपटक हेरे। कसले कसरी रंगको समायोजन गरेका छन्। कसको चित्र कसरी बन्दै सबै प्रत्यक्ष हेर्न दर्शकहरु दुईघण्टा बढी नउठीकनै बसे। अतिथी देवो भवः अथार्त अतिथी भनेका देवता सरह हुन्। यही मान्यता पछ्याउदै आगन्तुक चित्रकारलाई नेपाल चिनाउन महोत्सवमार्फत लागि परेको जलरंग महोत्सवको आयोजक अन्तराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एन बि गुरुङले जनाए। काठमाडौंमात्र हैन् नेपालको ग्रामिण क्षेत्रमा लगेर उनीहरुलाई नेपाली जनजीवनसँग जोड्नेछौ उनले थपे जहाँ बसेर वास्तविक नेपालीपनको आनन्दलिदैं चित्रमा तिनलाई उतार्नेछन्। विदेशी चित्रकार सहित ७५ जनाको टोली घान्द्रुक गाउँ पुगे। हिमाली गाउँको रहन सहनसँगै त्यहाँको संस्कार र संस्कृतीमाथी उनहिरुले कलाकृती तयार पारे।   हिमश्रृखंलासँग जोडिएको गाउँले जीवन विदेशी पर्यटकको आकर्षणको केन्द्र पनि हो।

दुई दिनको बसाईमा उनीहरुले नेपालीपनको महसुस गर्दै नेपाली थातथलोमा बसेर जीवन्त चित्र बनाए। ‘हिमाल हेर्दैं उनीहरुले भनेका छन् म नेपाललाई माया गर्छु अर्को पटक आउँदा परिवारसहित यहाँ घुम्न आउनेछु,'गुरुङले विदेशीको उद्गार स्मरण गर्दै भने। एकहप्ता चल्ने महोत्सव अन्तर्गत नेपाल कला परिषदमा कला प्रदर्शनी पनि जारी छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:३६ बिहीबार

जलरंगमा नेपाल संगाल्दै विदेशी कलाकार