कला

सहयोग

लघुकथा

१.सहयोग

पाभ्लो ली पर्दा पन्छाएर भित्र पस्यो। भित्र र बाहिर छुट्याउने यही एउटा पर्दा थियो। बमबारीबाट भत्किएको उसको घरबाट टुटेफुटेका सामान जोडेर बस्ने ठाउँ बनाएको थियो। उसको हातमा दुईवटा रोटी थियो।

पाभालिचेन्कोले भनिन्,‘मलाई त धेरै भोक लागेको छ भने दुईवटा रोटी छोरालाई खुवाउने कि हामी खाने?’

थाहा छैन ढाँट्यो वा के गर्‍यो तर पाभ्लो लीले भन्यो, ‘मैले बाहिर खाएँ, तिमीहरू खाओ।’

नयाँ वर्ष जाडो अझै बढ्दै छ। बाहिरको हिउँको चिसो कपडाको पर्दाले के छेक्न सक्थ्यो र! छोरो रुन थाल्यो। भोक वा चिसो के कारण हो बुझ्न सकिएन। आमाको हातमा रोटी देखेपछि रुन छोड्यो।

पाभ्लो लीले भन्यो,‘रोटी चहिएको रहेछ है।’

बमबारीमा बचेको रेडियोबाट समाचार आइरहेको थियो,‘पश्चिमी राष्ट्रहरूबाट गोलीगठ्ठा लगायत हातहतियारको सहयोगमा कुनै कमी हुन दिइने छैन।’

२. देउराली

‘देउराली माई तिमीलाई मैले जस्तै मेरा बाजेबराजुले पनि पाती चढाए नि हो।’ सन्तमान देउरालीमा पाती चढाउँदै एक्लै बोल्यो।

तलबाट बजारमा सब्जी पुर्‍याएर हर्क मोक्तान फर्कदै थियो। उसले भन्यो, ‘के हो एक्लै कोसँग कुरा गर्दै छौ हो!’

सन्तमानले भने,‘कहिले नबोल्ने ढुंगासँग पनि बोल्नुपर्दो रहेछ मनमा तिर रोपेपछि।’

हर्कले सोध्यो,‘औ कसले पो रोप्यो हो तिर?’

-अस्ति सुनेनौ दिल्लीले हामीलाई विदेशी भनेको?

दुवै भावुक भएर परको एम जि रोडमा गाडी गुडेको हेरिरहे।

प्रकाशित: २० फाल्गुन २०७९ ०५:४३ शनिबार

अक्षर