कला

तिहार तयारी गर्दै सेलिब्रेटिज

काठमाडौं- तिहार नजिक आइसकेको छ, झिलीमिली बत्ती अनि रंगोलीको तयारी सुरु भइसकेको छ । माया, स्नेह, प्रेम र सद्भावको यो पर्व मनाउने तयारीमा सबै देशवासी जुटेका छन् । सेलिबे्रटिजहरूले आआफ्नो ढंगले तिहार तयारी गरिरहेका छन् । कस्तो छ तिहार तयारी, उनीहरूकै शब्दमा:

अजय अधिकारी ‘सुशील’ (कलाकार)

उपत्यकाभित्रै तिहारका तीन दिन विशेष सांस्कृतिक कार्यक्रममा व्यस्त रहनेछु । परिवारसहित म काठमाडौं काभ्रेस्थलीमै १० जना दिदीबहिनीसँग रमाइलो गरी टीका लगाउँछु । बच्चा हुँदा पैसा कमाउन खुब देउसी खेल्थ्यौं । अब रमाइलोका लागि देउसी खेल्ने गरेको छु । तिहार आउनुभन्दा अगाडिबाट नै दाइले घर सजाउनु हुन्छ । वास्तममा मेरो लागि तिहार पर्वले एकदमै महत्व राख्छ ।

रीचा शर्मा (अभिनेत्री)

यसपालिको तिहारमा पनि चलचित्र छायांकनमा व्यस्त हुन्छु । त्यही भएर त्यस्तो खास तयारी त छैन । सामान्य रूपमा तिहारमा झिलिमिली दीप बालेर पूजा गरी मनाउँछु । मलाई सबैभन्दा मन पर्ने चाड तिहार भए पनि समयमै चलचित्रको काम पूरा गर्नुपर्ने भएकोले अरू वर्ष जस्तो यसपालि नहुने भएको छ । झिलीमिली बत्ती, जीवजन्तुको पूजा हुने भएकोले यो पर्व मलाई मन पर्छ । किनमेल धेरै गर्नुपर्ने भए पनि समय नभएकोले किन्न पाउँदिनँ । तिहार आउनुभन्दा अगाडिबाट नै घरको सरसफाइ र तिहारको दिन फूलले घर सजाउने काम गरिन्छ । तिहारमा पहिलेजस्तो अब देउसीभैलो खेल्न पाएकी छैन ।

कोमल वली (गायिका)

चाडबाडका बेला विदेशमा बढी कार्यक्रम आयोजना भएकाले कलाकारलाई आफ्नै घरमा तिहार मनाउन मिल्न गाह्रो हुन्छ । यसपालिको तिहारमा जापानको टोकियोमा देउसीभैलो घन्काउने कार्यक्रम रहेको छ । साथै जापानमा बस्ने नेपाली भाइ र भाइ बन्न चाहने जापानीलाई पनि टीका लगाएर भाइमसला दिने सोच बनाएकी छु । मलाई सबभन्दा बढी मनपर्ने पर्व नै तिहार हो । यो पर्वमा अरू पर्वजस्तो जीवजन्तुको बलि नदिई बरु पूरा गर्ने भएकाले म पवित्र पर्वका रूपमा पनि मान्ने गर्छु । तिहारको अवसरमा चारैतिर झिलीमिली बत्ती, उज्यालो, गाई, काग, कुकुर, गाईजस्ता पशुपक्षीको पूजाआजा गर्ने, माया, स्नेहको पर्वको रुपमा मनाइने भएकाले नै तिहार पर्वको महत्व छ । तिहारसँगै भाइटीका पनि मनाइन्छ जसले भाइबहिनीबीचमा मायाप्रेम बढाएको हुन्छ । पारिवारिक पुनर्मिलनको पर्व भएकाले व्यस्त जीवनमा यस पर्वका बेला रमाइलो हुन्छ । तिहार तयारीका लागि आवश्यक किनमेल गर्न आफैं जान्छु, बजारमा धेरैसँग भेटघाट हुन्छ, सेलिब्रेटिज भइसकेपछि किनमेल गर्न अरुलाई जस्तो सहज त हुँदैन तर पनि तिहारको किनमेल गर्न आफैं जान रुचाउँछु ।

प्रियंका कार्की (नायिका)

तिहार मेरो ‘फेवरेट फेस्टिभल’ हो । मलाई मेरो घरमा लक्ष्मी भन्छन् त्यसकारण पनि त्यो दिन एकदमै खुसी भई गौरवान्वित महसुस गर्छु । घरको सजावटदेखि आँगनमा रंगोली बनाउने काम सबै म आफैं गर्छु । घरमा बत्ती बालेर एकदमै झिलिमिली पारेकी हुन्छु । पुजाको सामान किन्ने काम बाबाले गर्नुहुन्छ । रंगोलीका लागि रङ भने म आफैं किन्छु । हरेक वर्ष फरकफरक डिजाइनका रंगोली बनाउने गर्छु । भाइटीकामा भाइलाई एकदमै मिस गर्छु र स्काइपबाट टीका देखाएर लगाउँछु । सानीआमातर्फका भाइहरू र हाम्रै फिल्म इन्डस्ट्रीका स्क्रिप्ट राइटर श्याम बस्नेतलाई पनि टीका लगाएर ढोग्न लगाउँछु, उनीहरूले ढोग्दा एकदमै खुसी हुन्छु । तिहार मेरा लागि एकदमै महत्वपूर्ण पर्व भएको म मान्छु ।

दीपाश्री निरौला (निर्देशक, नायिका)

म जहिल्यै पनि तिहार विराटनगर घरमा गएर परिवारसँग मनाउने गर्छु । यस वर्ष त झन् भाइको बिहे भएकोले घरमा नयाँ बुहारी पनि आएकी छिन् । यस्तो बेला तिहारमा पूजा गरी रमाइलो गर्छौं । सबैसँग भेटघाट हुन्छ, उपहार दिएर तिहारको शुभकामना आदानप्रदान गर्छु । दाजुभाइलाई नयाँ लुगा दिएर, सयपत्रीको माला लगाएर टीका लगाई स्नेह साटासाट गर्छु । देउसीभैलो खेल्न आउनेलाई स्वागत गर्ने र देउसीभैलो खेल्ने गरेकी छु । झिलीमिली बत्ती, फूल र रङहरूको पर्व तिहारमा म साह्रै रमाइलो गर्छु ।

डोली सरकार (अभिनेत्री)

तिहार भन्नासाथ घरको आँगनभरि बत्ती बालेर सबैले वर्षभरिको दुःख बिर्सिरहेका हुन्छन् जस्तो मलाई लाग्छ । बिजुलीबाट बालेको बत्तीभन्दा तेल राखेर बालेको दियो धेरै मन पर्छ । उज्यालोले काम गर्न प्रेरित गर्छ भने त्यो दिन सबैतिर सद्भाव देख्ने मौका पनि पाइन्छ । टीकाको दिन दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँदा मन नै रंगीन बनेको अनुभव हुन्छ । उनीहरूसँग गरेको झगडा सबै बिर्सेर त्यो एक पलमा माया साटासाट हुन्छ । अरू पर्वमा पशु बलि हुन्छ तर तिहारमा पशुलाई पूजा गरेर सम्मान गरेको एकदमै मन पर्छ ।

निशा सिग्देल (सञ्चारकर्मी)

तिहार भनेपछि देउसीभैलो, घरपरिवारको सम्बन्ध, भाइटीका, रंगोली, झिलिमिली बत्ती, सेल सम्झिन्छ । सञ्चारकर्मीका नाताले तिहारको दिनमा पनि रेडियो कार्यक्रम उद्घोषण गर्ने जिम्मेवारी पनि भएकोले गृहजिल्ला नगएर काठमाडौंमै बस्नुपर्छ । सबैलाई एकदमै ‘मिस’ गरे पनि सूचना प्रवाहको क्षेत्रमा काम गर्ने भएकोले नैतिक कर्तव्य पूरा गरेर आफूलाई गौरवान्वित पाउँछु । तिहारका बेला तिहार स्पेसल कार्यक्रम प्रस्तुत गरेर नै रमाइलो गर्दै आइरहेकी छु ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:५० शनिबार

तिहार तयारी गर्दै सेलिब्रेटिज