कला

झोला केवल झोला

कसले परिकल्पना गर्‍यो होला झोलाको ? अथवा, कसले निर्माण गर्‍यो होला सबैभन्दा पहिले झोला ? र, कुन उद्देश्यका लागि गरेको होला ? यीसँगसँगै जिज्ञासा अरू पनि उठ्छन्– प्रथमत: झोलाको नामकरण कसले गर्‍यो होला ? र फेरि, झोला नै भनेर किन गरेको होला ?

झोलाको परिकल्पना गर्ने, निर्माण गर्ने वा नामकरण गर्नेलाई सायद थाहा नहुँदो हो, भविष्यमा झोला भन्ने वस्तु यसरी प्रचलनमा आउला ! कुन टोल, कुन गल्ली, कुन घर, कुन बाटो, कुन मूल बाटो, कुन गोरेटो, कुन दोबाटो, कुन चौबाटो, जता पनि देखिन्छन् झोला। कहींकतै खाली छैन झोलाको बिगबिगी। कुन स्कुल, कुन अस्पताल, कुन अफिस, कुन होटल, साँच्चै ! झोला कति लोकप्रिय बनेको छ !

हात हातमा झुन्डिएका छन्,

पिठ्युँमा, आङमा बोकिएका छन्

अझ, सबैभन्दा बढी काँधमा भिरिएका छन्।

यहाँ प्रसंग छ– नेपाली समाजमा बोकिने झोलाको। ठिक छ, झोला त झोला भइहाल्यो। मूल सरोकारको विषय सधैं बन्ने गर्छ– ‘त्यो झोलामा के होला ?’ उसबेला एउटा युगल गीत रेडियो नेपालबाट खुबै बज्ने गथ्र्यो। कसकसले गाएका थिए कुन्नि। यकिनका साथ भन्न सकिन्न। तर गीतको बोल अझैसम्म कण्ठ छ मलाई।

नारी स्वरले सोधनी हुन्थ्यो–

‘लौ भन दाजु,

के के छ त्यो तिम्रो रातो झोलामा ?’

अनि पुरुष स्वर गुन्जन्थ्यो–

‘राजा र रानीको त तस्बिर छ

यो मेरो रातो झोलामा।’

पछि पछि यही गीतको काउन्टरमा हो कि त्यो गीत बज्नुभन्दा अघिदेखि नै हो, झोलामा ‘रेडबुक’ बोक्ने गरिए। यति मात्रै होइन, तिनै झोलामा राजसत्ताविरुद्धका पर्चा पम्प्लेटहरू पनि ओसारपसार गर्न लागिए।

आज पनि झोला बोक्ने काम निरन्तर जारी छ। तर आजका झोलाभित्र के छ ? निश्चित रूपले भन्न सकिन्न। तर प्रस्टचाहिं के छ भने झोलाहरू प्राय: पार्टी अफिसतिर भेटिन्छन्। कतिपय झोला अखबारका कार्यालयमा रिपोर्ताज पेस गरिरहेका, आर्टिकल सम्पादन गरिरहेका भेटिन्छन् भने कतिचाहिँ साँझ नढल्दैदेखि भव्य क्याफेमा चियर्स गरिरहेका देखिन्छन्।

साँच्चै भन्ने हो भने सबै खालका झोला पार्टीगत गीत गाएर नाँच्न–झुम्न खुबै मन पराउँछन्। वास्तवमा पार्टीका आधिकारिक घोषणाहरू तिनीहरूबाटै सुन्न पाइन्छ। पार्टीको नीति के छ ? कस्तो रणनीति बनाउँदै छ ? आगामी बाटो कसरी तय गर्दै छन् ? सत्ता–साझेदारी गर्दै छन् कि भएको पनि तोड्दै छन् ? यावत् विषयको लेखाजोखा तिनै झोलाले राख्छन्।

क्या काइदाको छ झोलाको बाँच्ने कला ! शरीरमा झुन्डिएकै भरमा आफ्नो ‘भातभान्सा’ चलाउँछन्, स्कुल–कलेजका ‘फिस’ क्लियर गर्छन्। यसो अलिकति परिवारमा कोही बिरामी भयो भने तत्काल अलिक ठुलो खालको झोलालाई टेलिफोन गर्‍यो, बस् त्यसले अझ माथिल्लो झोलामार्फत ‘औषधोपचार’को निकासा गरिहाल्छ। यसका लागि बस पार्टीको ‘दास’ भएर गुनगान गरिरहे पुगिहाल्यो। त्यसो त, कुनै नयाँ झोला निर्माण हुनासाथ पार्टी–गीत गाउन जानेको हुँदैन तर जब अन्य पुराना झोलासँग त्यसको संगत बढ्न थाल्छ, तब त्यो झोलामा पनि त्यही रंग चढ्न सुरु भइहाल्छ र पार्टी–गीत गाउन सुरु गरिहाल्छ।

पार्टीको गीत गाउन लागेपछि झोलालाई कसैको मतलब हुँदैन। न देशसँग मतलब हुन्छ न समाजसँग। हुन्छ त केवल आफैसँग, झोलासँगै।  

झोलाको सम्पूर्ण जीवन नै झोला। झोलाको जीवनको अर्थ नै भिरिनु अर्थात् ‘झोले’ हुनु। झोले हुनु अर्थात् भिरिएर घरडेराबाट चोकमा निस्कनु, अर्को झोलासँग हात मिलाउनु, चियाकफी पिउनु, चुरोटको धुवाँ उडाउनु र झोले गफ गर्नु अनि घर फर्कनु, दाल–भात बजाउनु, फेरि बाहिर निस्किहाल्नु र सिधा पार्टी अफिसको प्रांगणमा गएर फेरि आफ्नो ‘स्ट्याटस’का झोलाको भिडमा मिसिनु, त्यहाँ आकाश–जमीन एक एक गरेर गफ छाँट्नु, साँझ परेपछि कुनै गल्लीको वा रोडकै भट्टी वा क्याफेमा छिरेर दोस्रोको बिलमा आफ्नो भागको रकम चढाउनु र बेलुकी अबेर शरीर ढलपल गर्दै घर फिर्नु। यसबीच जुलुसमा सहभागी हुनु, आँखा चिम्लेर जुलुसभित्र निर्देशित नारा लगाउनु। बस, झोलाको दिनचर्या यति नै।

यतिखेर सहर–बजारमा झोलाहरूको बिगबिगी बढी नै देखिन्छ। उभिएर रहेकै ठाउँमै पनि छेउमै छ झोला। दायाँ फर्केर हेरूँ, बायाँ हेरूँ अथवा आफू सामुन्ने हेरूँ कि पछाडि फर्केर हेरूँ। जता पनि झोलै झोला। आँखै तिरमिराउँछन् झोलाहरू देखेर। कुनै झोला सादा सेता छन् त कुनै रंगीन, कुनै बुट्टेदार छन् त कुनै जालिदार। शरीरमा लपक्कै टाँसिएका छन् ती, मानौं शरीरकै कुनै अभिन्न अंग हो झोला, जो जन्मिँदै सालनालसहित साथमै आएको हो।  

सोच्छु, झोलाको आविष्कार नभएको हुँदो हो त समाजले कति दु:ख झेल्नुपथ्र्याे होला ! वास्तवमा, समाजमा झोलाको व्यापक प्रचलन छ र त जीवनयापनमा खुबै सहज भएको छ। आहा, कति सजिलो ! अह्राइपह्राइ, झोलालाई खास गरेर पार्टीले यसो ‘आऊ !’ भन्यो, तत्काल आइहाल्ने, ‘बस !’ भन्यो थ्याच्चै बसिहाल्ने, ‘उठिराख !’ भन्यो त्यत्तिकै उठिराख्ने, ‘जाऊ ! गइहाल’ भन्यो फेरि गइहाल्ने। यो ल्याऊ त्यो ल्याऊ जे भने पनि मानिहाल्ने।  

सबैभन्दा आकर्षक, आफ्नो पार्टीविरुद्ध बोल्नेमाथि जाई लागिहाल्छ झोला। अर्थात्, साँझ, बिहान, मध्यरात जुनसुकै बेला पार्टीको झोले हुन तम्तयार !

बडो गजबको ‘सिम्पल’ चरित्र छ झोलाको। एक शब्दमा भन्ने हो भने– ‘यस म्यान’।

bimalbhaukajee@hotmail.com

प्रकाशित: १३ फाल्गुन २०७९ ०१:४७ शनिबार

अक्षर