कला

परीक्षा

लघुकथा

तुलसी पण्डित

-छोरा बाहिर हेर्त को आएछ? एकाबिहानै घरमा आएर चिच्याएको छ। अर्काको घरमा आएर किन शान्ति भंग गरिरहेछ यो।

गेटभित्रको यो आवाज सुनेर बाहिरबाट झन् ठूलो आवाज आयो,‘के गर्ने पेटमा अग्निको ज्वाला बलेपछि!’

छोराले बाहिर चियाउँदै भन्यो, ‘बाबा,यहाँ मगन्ते माग्न आएको रहेछ?’

माग्ने करायो, ‘बाबु, यो लोकतन्त्रमा सबै बराबरी हो रे! यो कुरा तिम्रा बाबाले भनेका हुन्। कसलाई मगन्ते भन्यौ तिमीले!’

नेता हर्के बार्दलीबाट करायो, ‘ठिकै त भन्यो छोराले। ल तँ यहाँबाट गइहाल्।’

‘हजुर केही पाऊँ खान। म गइहाल्छु। मैले खान नपाएको दुई दिन भयो। यो माग्ने पेशा पनि पेटको दर्द मेट्ने लोकतन्त्र होइन।’

नेता चिच्चायो, ‘मैलै तँलाई नदिने पनि लोकतन्त्र हो नि।’

‘हैन, हजुरले भोट माग्ने बेलामा यो लोकतन्त्रमा कोही भोको बस्नु पर्दैन भन्नुहुन्थ्यो। हजुरको यो लोकतन्त्रले होला झन् फलिफाप भएको! के यो नारा मात्र हो र! के अब तपाईं भोट माग्न आउँदा हामीले भोट नदिए पनि हुन्छ। फेरि तपाईं पहिलो चुनावमा मेरै घर बसेर खाना खाएर चुनाव जितेको होइन!’

हर्के झस्कियो। उसले राम्रोसँग हेर्‍यो।

‘तँ जिते यो रूप धरेर हिंडेको। आइज म तँलाई कपडा सहित खानाको व्यवस्था गरौंला।’

‘अँह पर्दैन। म यहाँ हजुरको परीक्षा लिन मात्रै आएको हुँ।’

प्रकाशित: १२ फाल्गुन २०७९ ०६:५६ शुक्रबार

अक्षर