कला

कविताको तिर्खा मेट्ने ‘घर फर्कने तिर्खा’

पुस्तक

आविष्कार कला

विष्णु आचार्य ‘अतृप्त’, दैनिक रोजीरोटीको पेसा नेपाल विद्युत प्राधिकरण। जीवनको लामो समय नेपाली साहित्यको अध्यापनमा समय खर्चिनुभएको। अतृप्तलाई नेपाली साहित्यको मलजल गर्न हृदयले निरन्तर निर्देश गरिरहेको देखिन्छ। वर्तमान नेपाली छापा तथा अनलाइनहरूमा अतृप्तको साहित्यिक सक्रियता लोभलाग्दो देखिन्छ। कवि अतृप्तले ‘घर फर्कने तिर्खा’ कवितासंग्रह मार्फत नेपाली कविताको भण्डारमा नयाँ कृति दिई आफ्नो दर्बिलो उपस्थिति प्रमाणित गरेका छन्।  

घर फर्कने तिर्खामा जम्मा ४८ थान कविता सङ्गृहीत रहेका छन्। उनका कवितामा सर्वत्र देशप्रेम, मानवतावाद, विद्रोह, प्रकृतिप्रेमको रुझान देख्न सकिन्छ। कवितासंग्रह ‘परदेशीको पत्र’ शीर्षकको कविताबाट आरम्भ भई ‘बाघ बाहिरिएपछि’ कवितामा गएर समाप्त भएको छ। पुस्तकमा सङ्गृहीत पहिलो, दोस्रो र तेस्रो कविता नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका कविताहरू रहेका छन्।

यस कविता संग्रहमा कविले कतै प्राकृतिक विपत्तिको अत्यासलाग्दो चित्र प्रस्तुत गरेका छन् त कतै प्राकृतिक सुन्दरतालाई जगेर्ना गर्दै व्यवस्थित आधुनिक विकास गर्ने सन्देश प्रवाह गर्न खोजेका छन्। साँच्चै व्यवस्थित आधुनिक विकास भए नेपाली धर्ती कस्तो हुने थियो होला? कविले सोधेका छन्।

उनका कवितामा मानवलाई प्रकृतिजस्तै क्रियाशील हुन आह्वान गरिएको छ। जसबाट देश र जनता सधैं जीवित हुने थिए भन्ने सन्देश कवितामा दिन खोजिएको छ। काँडादेखि सावधान कवितामा नेपाली जनले भोगिरहेको यथार्थताको नयाँ रूप देखाइएको छ। प्राकृतिक वृक्षरूपी काँडाहरू मात्रै होइन मानवरूपी शासकीय काँडाहरूबाट देश र जनतालाई कोर्तने/चिथोर्ने व्यवस्थाको पीडादायी यथार्थ पनि कवितामा पाइन्छ।

अनियमितता, अस्तव्यस्तता र नीति नियमभन्दा बाहिर रमाउने नेपाली समाजमा चलेको पाखुराको राजनीति पनि कवितामा आएको छ। दैनिक प्रशासन चलाउँदा भोग्नुपरेको प्रशासनिक निरीहता पनि कवितामा प्रस्ट आएको छ। देश कसले चलाएको छ? त्यो पनि कवितामा आएको छ। देश निरन्तर चल्ने प्राणवायुबाट होइन फागुनमा चल्ने हावाले चलाएको आशयका कविताहरू पनि संग्रहमा आएका छन् जसबाट नेपाली समाजको वास्तविकता सहजै बुझ्न सकिन्छ।

कवितामा नेपाली जनता कसरी चिथोरिएका, लुछिएका र ठगिएका छन् देखाइएको छ। जनताका छोराछोरीलाई अनाहकमा अल्पायुमा प्राण फाल्न उचाल्ने नेतृत्वलाई कविताले कसिलो व्यंग्य गरेको छ। आधुनिक नेपाली समाज कस्तो बनाउने, इतिहास भजाउने कि वर्तमान सजाउने? आम जनतालाई खुला प्रश्न कवितामार्फत कविले सोधेका छन्।

पत्थरको मूर्ति मन्दिरमा बसेपछि तिर्थालुमाथि गरेको शासनभन्दा कडा शासन जनप्रतिनिधिले जनतामाथि नै गरेको प्रसंग कवितामा आएको छ। सामाजिक फरकपन, उत्ताउलोपन, सामाजिक व्यवहारको फरकफरक रूप कवितामा आएको छ।

मनमा हार्दिकता नभएको वर्तमान समयमा हार्दिक श्रद्धान्जली लेख्न आतुर वर्तमान नेपाली समाजले जीवनको संघर्ष पीडामा साथ दिएर अगाडि बढाउन किन हिम्मत गर्दैन? हामीले श्रद्धान्जली दिएर संसारबाट बिदा गर्ने कि जीवनमा शुभकामना दिएर प्रगतिका पाइला चाल्न उत्प्रेरित गर्ने? कविले कवितामार्फत सोधेका छन्।

ढुंगाको मन जस्तो कठोर मन भएका मानिसहरू स्वार्थमा ढुंगा पानीमा डुबेझै डुब्छन् तर समाज र देशको काममा किन डुब्दैनन् आजको बुद्धिजीवी मान्छे? मनमा उर्लिरहेका सबै भावना कविता बन्न सक्तैनन्। त्यसको उदाहरणको रूपमा कविले नेपालको बजेट कार्यान्वयन नहुने वास्तविकता पेश गरेका छन्। कामना गरौं, बजेट कार्यान्वयन होस् नेपाली मनमा उर्लिएका भावना सबै कविता बनून्।

वर्तमान समयमा मजदुर वर्गलाई जिस्क्याएर नवधनाढ्य वर्गले मनाउने कृत्रिम मजदुर दिवसको सन्दर्भलाई लिएर कविले समाजिक अस्तव्यस्तता माथि प्रहार गरेका छन्। फूल भनेपछि औधी रमाउने मान्छे धुलोमा फूल रोप्छ तर धुलो मन पराउँदैन, कसिंगरका रूपमा आउने धुलो हटाउन तयार हुँदैन चाहे त्यो धर्तीको धुलो होस् चाहे मनको धुलो। यसमा हामी कसरी धुलो विहीनताको कल्पना गर्न सक्छौं?

कविले सामाजिक व्यवहार संचालन पद्धतिबारे बोलेका छन्। कठोर भए न समाज चल्छ न जीवन, फेरि नरम र प्रजातान्त्रिक भैदिऊँ समाजले गर्नै नमिल्ने व्यवहार बढी गर्छ। पीडादायी व्यवहार यति धेरै गर्छ कि पीडकले नै पीडितलाई गिल्ला गर्दै भन्छ कति सहन्छस् हो हाम्रो व्यवहार कविले पीडक बनेर गरेको प्रस्तुति कवितामा पाइन्छ।

चुनावी समयको वास्तविकता चित्रण गर्दै चुनावको बेला कसैलाई सानो नसम्झन कवितामा आग्रह गरिएको देखिन्छ। प्रजातान्त्रिक अभ्यासमा सबै समान हुने तर लोकतन्त्र र गणतन्त्रको नाममा हुने प्रजातन्त्रको व्यावहारिक प्रयोगमा समानता नहुने, गरिब निमुखामाथि गरिने निम्न स्तरकोे व्यवहारबारे कवितामा होसियार भनिएको छ।

भाषणबाजहरूले आफूलाई केन्द्रमा राख्ने तर जनतालाई भने भिन्न रंगीन सपना देख्न प्रतिबन्ध लगाउने गरेको दृष्टान्त पनि कवितामा आएको छ। नेपाली जोश विदेसिन परेको यथार्थ समेट्दै शासकलाई खबरदारी गर्ने कविता पनि कृतिमा छन्। मुलुकमा भोलि जनता र कार्यकर्ताबिनाको नेता र शासक हुने सम्भावना बढ्दै गएकाले बेलैमा होस् गर्न शासकलाई कविताले अनुरोध गरेको छ। कहिले उत्तरदायी हुने नेपाली नेतृत्व नेपाली जनजीवन र जनजिविकासँग? कविले शासक बनेका र बन्न खोग्ने भोलिका शासकलाई खबरदारी सहित प्रश्न गरेका छन्।

डरको सबैभन्दा ठूलो स्रोत बाहिर जाने सूचनाहरू नै हो। कविले मित्रताको व्यवहारमा व्यक्त गरिने सूचनाप्रति पनि सचेतता अपनाउन सम्झाएका छन्। कोरोना कालजस्तै हरेक विपत्तिमा भोलिको सुन्दर संसारका लागि आज बाचौं भन्ने चेतना दिएका छन्।

वर्तमान समयको कविता लेखौं, यथार्थको कविता लेखौं कवितामा कविले भनेका छन्। अहिले भड्किलो तरीकाले पर्व मान्ने चलनलाई चार दशक अगाडिको आफ्नो बाल्यकालीन दशैंसँग तुलना गरेका छन्। कृषि फसलले भरिपूर्ण गाउँ/टोल खुसीयाली निस्फ्रिकी स्वतन्त्रताका दिनहरू कवितामा आएको छ।

त्रिशूलीको दायाँबायाँ र त्रिशूलीको पानीमा रमाउँदै आजको समयसम्म आएका कवि अतृप्तको कवितामा देशप्रेम त्रिशूली बनेर बेसरी बगेको छ। कवितामा आमाको अर्ती कविताबाट पवित्र देशप्रेम व्यक्त भएको छ। युगको जिम्मेवारी बोकेको वर्तमान पुस्तालाई सचेत रहन आव्हान गरिएको छ। नेपाली मौलिकता सहितको क्रान्ति भनेको पसीनाको क्रान्ति हो, पसीनाको क्रान्तिमा अगाडि बढ्न कवितामा आह्वान गरिएको छ।

बहादुरीको छाती देखाउँदै आएको नेपाली समाजले पुर्खाको विरासतको छाती त देखायो भोलिको पुस्तालाई छाती देखाउँदा कुन उदाहरण पेश गर्लान्? कविले वर्तमानलाई सोधेका छन्। अब नेपालीहरूले आफ्नो जीवन हावा बनाएर बँचाउने कि हुरी बनेर दौडने त्यो नेपालीको हातमा छ।  

शहीदको अवमूल्यन प्रतिको आक्रोश पनि कवितामा आएको छ। आजका सबै मानवले चेतना सहित एकैपटक पुनर्जन्म पाए भने भोलि शहीद हुने मान्छे त हुँदैनन् नै देश, समाज संचालन गर्ने मान्छे पनि नहुन सक्छ कविले सचेत गराएका छन्। कविले सुन्दर संसार देखे जस्तै शासकले पनि सुन्दर संसार देख्न सक्नुपर्ने आग्रह कविले गरेका छन्।

कालो झण्डा देखाउने मानिसको विरोध सम्बोधन हुनसक्छ, कालो झण्डा देखाउने बादलबारे कसरी सम्बोधन गर्ने प्रकृतिवादीहरूलाई कविले सोधेका छन्। विश्वको फूलबारी मानिएको नेपाललाई हाम्रै छिमेकी मुलुकले सुगौली सन्धिदेखि नै त्रासदी दिइरहेको यथार्थता पनि कवितामा आएको छ।

कृतिका कविताहरू कविताको समुन्द्र भेट्न त्रिशूलीको गतिमा अगाडि बढेका छन्। त्रिशूलीले पुरानो बाटो र साथमा लगेका सँगीहरू छाडे जस्तो कतैकतै कवितामा अपुगता पाइन्छ। समीक्षाको कलमबाट ती प्रमाणहरू पेश गर्नुपर्छ जुन लेखकको लागि पनि सूचना हुनसक्छ।

घर फर्कने तिर्खा कवितामा पसीनाको मेची बगाउने मजदुरले बनाएको घरबाट नीलगिरीको सौन्दर्य पिउने कुरा गरिएको छ। नेपालीहरू सीमाभित्र हरेक ठाउँको सौन्दर्यमा रम्न सक्छन्। कवितामा भने जस्तो नेपाली मजदुर वर्गको विकास त्यति उच्च रूपमा भएको पाइँदैन। मेचीमा काम गर्ने मजदुर हरदिन म्याग्दीमा रहेको नीलगिरीको सौन्दर्य हेर्न आउँछ? यहाँनिर हिमाल र नदीको भौगोलिक सामीप्य मिलाउन पाएको भए कविताको सौन्दर्य अझ विशाल हुने थियो कि। भविष्यमा देशभर उच्च गतिको रेलको संरचना तयार भई संचालनमा आए कविले वर्तमानमा लेखेको कविताले भविष्यमा पूर्णता पाउन पनि सक्छ।

एउटा मौलिक क्रान्तिको उदघोष कवितामा नेपाली मौलिकताको गौरवमय इतिहास वर्णन गरिएको छ। वीरका सन्तान, ऋषिमुनिका परिवार र नेपाली गौरवमय इतिहासप्रति सम्मान छ कवितामा। त्यो गौरवमय इतिहास बोकेको नेपाली सुसंस्कृत सभ्यतामा नेपाली इतिहासको लिच्छवीकालीन स्वर्णिम युग समेट्न सकेको भए कविताको स्वर्णिमता नम्बरी र छापाबाल सुनभन्दा कम हुने थिएन।

घर फर्कने तिर्खामा कविताका पाठकहरूलाई तिर्खा मेट्ने खालका कविताहरू प्रशस्त छन्। कविले कवितामा देश, समाज ,जनता, प्रकृति, मानवीय प्रेम लगायतका विषयवस्तुलाई प्रशस्त सम्बोधन गरेका छन्।

त्यसैगरी राजनैतिक व्यवस्थामा देखिएका कुरीति कुसंस्कारलाई पनि निकै चोटिलो पाराले प्रहार गरेका छन्। अतृप्तको पहिलो कवितासंग्रह ‘घर फर्कने तिर्खाले’ कविताको पारखीहरूलाई तिर्खा मेट्न अवश्य सफल हुनेछ। आगामी दिनमा यस प्रकारका कृतिहरू कविबाट आइरहून्, उर्वर र अविचलित लेखन यात्राका लागि हार्दिक शुभकामना।

पुस्तक: घर फर्कने तिर्खा

विधा: कविता

कवि: विष्णु आचार्य ‘अतृप्त’

प्रकाशक: विद्युतकर्मी साहित्यिक समाज, काठमाण्डौ

पृष्ठ: ११२

मूल्य: २५०।-

प्रकाशित: १२ फाल्गुन २०७९ ०४:४४ शुक्रबार

अक्षर