कला

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई

गीत

गणेश श्रेष्ठ ‘अपेक्षा’

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई,

राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई।

स्वार्थबिना सेवा गर्छु भन्नु झूटो हुन्छ,

आफूलाई आफैं राम्रो भन्नु मपाई हुन्छ।

तैपनि म तिमीले झैं ढाँट्छु अरूलाई,

राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई।

आफ्नो दुनो सोझ्याउन तिमी नरम बन्छौ,

खोलो तरी गएपछि साँघु बिर्सिदिन्दौ।

तिमीलेझैं मैले पनि पिरें अरूलाई,

राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई।

प्रकाशित: १० फाल्गुन २०७९ ०६:१४ बुधबार

अक्षर