कला

बुटवलमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ। यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै भारतको सिलिगुरीमा पनि हुने छ। बुटवलमा फागुन १०, दमकमा फागुन २० र २१ र काठमाडौंमा फागुन २७ र २८ मा हुने छ भने भारतको सिलिगुरीमा फागुन १४ र १५ मा हुनेछ।

प्रतियोगीले अडिसन दिन आउँदा आफ्नो उमेर खुलेको आधिकारिक कागज ल्याउनुपर्ने छ। साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्ने छन्। डिजिटल अडिसनमा सहभागीले पनि फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्ने छ। त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’ को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ।

‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकमण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान रहेका छन्। ‘मेरो डान्स युनिभर्स’ को निर्णायकमण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहने छन्। यी दुवै नेपालकै सर्वाधिक धनराशि भएको रियालिटी शो हुन्।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले नेपाली एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनर अपले ३० लाख रूपैयाँ र सेकेन्ड रनर अपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्। यस्तै ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनर अपले ३० लाख रूपैयाँ र सेकेन्ड रनर अपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। डान्स युनिभर्स’ को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनर अपले १० लाख रूपैयाँ र सेकेन्ड रनर अपले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App