कला

शहीद पंक्ति

लघुकथा

ढाकामोहन बराल

‘म साम्राज्यवादीविरुद्धको संघर्षमा ज्यानको आहुति दिएर नेपालको अस्तित्व जोगाएको मान्छे। मेरो शरीर अझै कतै जितगढी वा सिन्धुलीगढी अथवा जैथक, नालापानीमा होला।’

  ‘म निरंकुश जहानियाँ शासनको विरोधमा जनताको अधिकारका लागि लडेको हेर त खरिबोट तल मलाई।’

‘तिमीले ल्याइदिएको स्वतन्त्रता खोस्नेविरुद्ध म पुनः लड्नुपर्‍यो। ऊ पर सुखानीमा हेर त मेरो रगत आलै छ।’

‘म त हेर न जातीय उत्पीडनविरुद्ध आन्दोलनमा शहादत प्राप्त गरेको।’

‘मलाई यिनीहरूले नसकेर सीमापारिबाट आएर मारे। मेरो रगत मैले जोत्दा जोत्दैको माटाको डल्लोमा परेको छ। पत्यार नलागे कञ्चनपुरमा गएर हेर।’

‘म भौगोलिक असमानताविरुद्ध लडेको।’

‘म जातीय मुक्तिका लागि जीवन उत्सर्ग गरेको।’

शहीदहरूको लामो पंक्ति थियो। उनीहरूले तल हेरे। गुलियो उखु उब्जाउने किसान। मिल मालिकको प्रवेशद्वार अगाडि नुनिलो आँसु चुहाउँदै थियो। डोल्पाको गाउँमा कुपोषण लागेको बच्चा थियो भने उसको खाद्यान्नबाट निस्केको कमिसनको पैसाको अंशबाट खोई कसको कुकुरको बिस्कुट किनिदै थियो राजधानीको सपिङ महलमा। हरेक शहीदको नाम काढ्दै सिंहदरबारमा पदको बाँडफाट हुँदै थियो।

‘म फेरि जन्मनुपर्छ जस्तो छ।’ शहीद पंक्तिबाट आवाज आयो।

‘किन?’

अर्को आवाज आयो, ‘पुनः शहीद हुनका लागि।’

प्रकाशित: ७ फाल्गुन २०७९ ०७:४७ आइतबार

अक्षर