कला

मञ्चन

लघुकथा

शान्ता तिम्सिना

‘आजको रात उज्यालो नभए पनि हुन्थ्यो नि! तिमीलाई छाडेर एक्लै म कसरी बस्नु! मलाई अस्ट्रेलिया जान पटक्कै मन छैन बुढा!’ मदनलाई अँगालोमा कस्दै कामिनीले भनी।‘

भर्खर विवाह गरेको, तिमीलाई एक्लै पठाउने इच्छा मेरो नि कहाँ छ र सानू। हाम्रै भविष्यका लागि त हो। यत्रो दुःख गरेर बल्ल भिसा लागेको छ। तिमी उता पुगेर छिटो मलाई बोलाइहाल्छौ। आखिर यो रहर मेरो पनि त हो नि।’

‘सात समुद्रपारि परिवारको माया लिएर  जाँदैछु। खुसी मनले बिदा गर है मलाई।’

‘तिम्रो भनाइ त सही हो, माया! तर, मनभरि पीडा भएपछि कसरी खुसी हुन सकूँला र?’

‘चिन्ता नगर न! दुईचार महिना त हो, त्यसपछि प्रोसेस मिलिहाल्छ नि!’

यति विश्वास गरेर सबै जग्गा बेचेर एक्लै पठाएका छौ। झट्टै सँगै हुन्छौ नि हामी।’

मीठो आश्वासन र भरोसा दिंदै अस्ट्रेलिया उडेकी थिइन् उनी।

बाध्यतालाई अँगाल्दै उसले बिदाईको हात हल्लायो तर उनीभित्र खुसीको सीमा नै  थिएन। सरकारी जागिर छोडेर उनीसँग जाने प्रोसेसमा थियो ऊ।

यता अस्ट्रेलिया पुगेकी उनलाई एयरपोर्टमै लिन आयो अमन।

आफ्नो  सपना पूरा भएकामा खुसी हुँदै रमाइला पलहरू बिताउदै नयाँनयाँ ठाउँ घुम्दै फोटाहरू पोस्ट गरेकी थिइन् उनले। दुईचार दिन सम्पर्कविहीन भएकी उनलाई  फेसबुकमा अमनसँग देख्यो मदनले। उसलाई सात रेक्टरको भूकम्प गएको महसुस भयो।

फोन गर्‍यो, ‘कोसँग खिचेको हो त्यो फोटो?’

उनले सहज उत्तर दिइन्,‘अब मलाई सम्झेर तिम्रो लागि कुनै अर्थ छैन। अस्ट्रेलिया जान आर्थिक अभाव भएर पो तिमीसँग विवाह गरेको त!’

प्रकाशित: ६ फाल्गुन २०७९ ०७:२६ शनिबार

अक्षर