कला

क्षमा गर्न किन हुन्छ गाह्रो?

दर्शन

अनादरो विलम्बश्च वै मुख्यम निष्ठुर वचनम

पश्चतपश्च पञ्चापि दानस्य दूषणानि च

भनिन्छ अपमान, अनादर, कठोर वाणी र दान दिएर पश्चातापजस्ता कर्मले जीवनलाई नै दूषित बनाएका हुन्छन्। सन्त, सज्जन र विद्वानहरू सबैको चाहना हुन्छ कि कसैले गल्ती ग¥यो, चित्त दुखायो भने पनि क्षमा गरिदिऊँ तर यो सजिलो छैन किनकि थाहा हुँदाहुँदै पनि बाहिरी तलबाट बुझेर र आदर्शवादी भएर मात्र क्षमा गर्न सक्ने गुणवत्ताको विकास हुँदैन। यसका लागि व्यक्तिभित्र रहेका केही स्वभावलाई जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। त्यसबाट माथि उत्रन सकेमात्र कसैलाई क्षमा गर्न सकिन्छ।

द्वेष भाव जान्नु

जबसम्म व्यक्ति स्वयम् द्वेष भावबाट मुक्त हुँदैन, उसले अरूलाई सजिलै क्षमा गर्न सक्दैन तर स्वयम्को स्वभावलाई द्वेष मुक्त बनाउने प्रयास भने गर्न सकिन्छ। त्यसका लागि सर्वप्रथम आफूभित्र रहेको द्वेष केका लागि, कोसँग र किन हो? जागृत भएर थाहा पाउन सक्नुपर्छ। आफ्नो आन्तरिक भावना, मन र विचारलाई सम्यक दृष्टिले हेर्नुपर्छ। प्रतिशोधको भावना भित्र छ भन्ने थाहा पाउनासाथ म यसलाई सुधार गर्छु भन्ने संकल्प लिनुपर्छ। जब म वैर भाव राख्न समर्थ छु भने निर्वैर हुने गुण पनि त मभित्र नै होला भन्ने मनन गर्नुपर्छ। सकेसम्म गुनासोरहित हुने अभ्यास बढाउँदै लैजानुपर्छ। कसैप्रति प्रेमपूर्ण समर्पित हुने कला विकास गर्दै लैजाने, अनुरोध, प्रार्थना, शिष्टतालाई आफ्नो स्वभाव मान्दै सर्व मंगलको भावनालाई अभ्यासरत बनाउदै लैजाने। द्वेष पनि अभ्यासको परिणाम भएर स्वभाव बनेको हुन्छ भने द्वेषरहित हुन बिस्तारै आफ्नो स्वभावमा परिवर्तन ल्याउँदै जानुपर्छ।

सर्व मंगल भावको विकास गर्ने कला, सबैको भलाइ सोच। यो सजिलो छैन तर उपाय छन्। संसार त द्वन्द्वात्मक छ, रचनाकारको रचना नै मानव र दानव स्वभाव दिएर पठाएको छ। रोजाइ आफ्नो हातमा छ। सृष्टिको रचनालाई स्विकार्दै म कस्तो स्वभावमा बाँच्ने भन्ने निर्णय आफ्नो भयो भने नकारात्मक स्वभावबाट आफू मुक्त भइन्छ। जसरी हामी सुख, शान्ति, सम्पत्ति, स्वास्थ्यका लागि नित्य प्रार्थना गर्छौं, त्यसरी नै आफूमा सर्व मंगलको भाव विकास होस् प्रार्थना गरिएको छ त ? आत्म मंगल, मेरो शरीर, विचार र मन मात्र म होइन, मेरो आत्मासँग म जोडिएको छु। यति थाहा पाएर अभ्यासरत हुने कि भने बिस्तारै द्वेष मुक्त स्वभावमा स्थित हुन सकिन्छ। द्वेष भावबाट मुक्ति हुनासाथ क्षमा गर्न गाह्रो हुँदैन।

अस्तित्वलाई सुन्नु र मान्नु

अस्तित्वले मनुष्यको सृष्टिसँगै विवेक पनि दिएको छ। जब कठिन परिस्थिति र प्रतिकूलता महसुस हुन्छ, आफ्नो विवेकको प्रयोग गर भनेर निर्देश गरेको हुन्छ। तर मानिस बुझ्ने कोसिस गर्दैन। ज्ञान, प्रज्ञा, विवेकको प्रयोग भयो भने नकारात्मक प्रतिक्रिया, विवाद, गुनासो, भ्रम पैदा हुन्छ र? मनले चाहे गर्ने, बोल्ने र आदत बनाउने अनि कर्म र व्यवहारको परिणाम सुखद खोज्ने? यो सम्भव छैन। मन्दिर गएर दैनिक घन्टी बजाओस् या दियो जलाओस्, दौडधुप गरोस् या आन्दोलन, जीवनको आयु त एक एक दिन गर्दै बितिरहेको छ। सम्यक, संयम र होसपूर्ण भएर तिनै कर्म गर्ने हो भने अराजक जीवन बाँच्नुपर्दैन।

सन्तहरू भन्छन्-जाग, जागृत बन, सुमिरन गर, अस्तित्वको याद गर, आफूसँग भएको सम्पदाप्रति धन्यवादले भरिय। जतिन्जेल बाचिन्छ त्यतिन्जेल सत्यता, प्रेम, दया, करुणाजस्ता गुणवत्तालाई आफ्नो हृदयमा स्थान देऊ। आफ्नो संसारमा, आफ्नो परिवारमा, आफ्नो प्रेममा आफूले आफ्नो कर्तव्य र जिम्मेवारी बोध गर। सन्तहरूका, ज्ञानी व्यक्तिका यी सन्देश र जीवन बाँच्ने सूत्र सुन्ने, जान्ने र मनन गर्ने फुर्सद नै छैन।

 बेहोसीमा बहिर्मुखी संसारमा भड्किरहने हो भने शान्ति, सुशासन, स्थायित्व, प्रेमिल र सत्यवान समाजको निर्माण कहिले गर्ने? कसले गर्ने? बालुवाको घरजस्तो अस्थायी जीवनलाई सिमेन्टको घरजस्तो बलियो ठान्दै कठोर स्वभाव, कठोर कर्म, कठोर निर्णय, कठोर मन लिएर बाँचेपछि जीवनको उत्तरार्धमा त पश्चातापबाहेक के बाँकि रहन्छ र? भन्दा निद्रा लाग्दैन भन्छ मान्छे तर यति दौडधुपमा छ कि आफ्नो कर्म, सम्बन्ध, उद्देश्य र कर्तव्य बिर्सेर यस्ता कर्म गरिरहेको हुन्छ। त्यसबाट जाग्न अब धेरै प्रयास गर्नुपर्ने अवस्था आउँदै छ। किनकि आफ्नो शरीर, जीवन स्थायी छैन।

दुई दिनको जीवन चलाउन यति कठोर बन्नुपर्ने जरूरी पनि छैन तर यसरी लागिरहेको हुन्छ कि अब उसले आर्जन गरेका धन, पद, सम्मान सधैं स्थायी रहन्छन् जस्तो गरी अमूल्य हीरा जीवनलाई पत्थर प्राप्तिमा समय खर्चिरहेको छ, ऊर्जा खर्चिरहेको छ। जे साथ लिएर आएको छ र जे साथ जान्छ त्यो भित्रै छ। यहीबाहिर आर्जन गरेका सबै काम चलाउ सुविधाका चिज भोग, खुसी होऊ, खुसी देऊ। दिनमा कन्जुस्याइँ गरे पनि जीवन पर्यन्त आफै लिएर जाने त होइन। बरु अहिले नै देऊ। छ धन देऊ छैन मन देऊ। सहयोग देऊ, साहस देऊ। दुःख दिने र झुक्याउने, चतुर हुने स्वभाव त्यागिदेऊ। तबमात्र सबैलाई क्षमा दिन र सबैसँग क्षमा माग्न सक्ने बन्छौ। हाम्रा धर्मशास्त्र, हाम्रा गुरु, हाम्रा सन्त र विद्वानले यही सहज जीवन बाँच्ने कला बताए तर हामीले कति सुन्यौं, कति बुझ्यौं र कति जीवनमा अपनाउँदै छौं? याद गर्ने समय आइसक्यो किनकि जीवन अजम्मरी छैन। हामीले पहिला कर्म गरौं अनि जीवनबारे जानौंला र बाचौंला।

सतनाम भज, सुमिरन गर, ध्यानमा डुब भन्ने शब्द र वाणी सुन्ने बित्तिकै लाग्छ कि यो त बुढेसकालमा, सेवा निवृत भएपछि, जीवनमा दुःख आएपछि, तनावमा गएपछि गर्ने कुरा हो। मानिसको यही स्वभाव थाहा पाएर त सन्त कविर भन्छन्-

दुःख में सुमिरन सब करे सुख में करै न कोय

जो सुख में सुमिरन करे दुःख काहे को होय

जसले सुख पाउँदा नै, उमेर छँदा नै भजन तथा ध्यान गर्छ भने उसको जीवनमा किन दुःख आउँथ्यो र? जीवन आफ्नो प्रयासले होइन अस्तित्वको प्रसादले मिलेको छ। उसले दिएको उपहारलाई जतन गर्ने उपाय नै भजन र ध्यान हो। भजन र ध्यान शब्दको होइन, व्यवहार र कर्मको गरौं। असल कर्म, सत्य सोच, सही मार्ग, कल्याणकारिता र सहयोगी भावनाका साथ गरौं।

पाएका चिजप्रतिको धन्यवाद भाव

कसैलाई के छ? कस्तो छ? भनेर सोध्यो भने उसले जवाफ दिन सुरु गर्छ-यो छैन, त्यो छैन, यो भएन, त्यो भएन। मानौं जीवनमा प्रतिकूलता र असफलताबाहेक केही प्राप्त भएन। थोरै अन्तर्मुखी भएर जीवनलाई हेर्न जान्यो भने यहाँ नपाएका १०० चिज भने प्राप्त गरेका हजारौं चिज छन्। आफूसँग के छ होइन कि अरूको जस्तो आफूमा के भएन भन्नेतर्फको सोचले जीवन आफ्ना लागि होइन, अरूका लागि बाँचिरहेको छ मानिस। प्रतिस्पर्धा, बहिर्मुखी स्वभाव, लोभ, मोहले गर्दा धन्यवाद र अहोभावको कला नै बिर्सेको छ मानिसले। कसैले केही दियो भनेर मात्र धन्यवाद दिनुपर्छ र? आफ्नै शत्रुले पनि त अरू बढी दुःख दिएन, अरू बढी हानी गरेन, काम बिगारिदिएन भनेर सकारात्मक सोचौं न। नकारात्मक सोच मान्छेको फोहोरको झोला हो। फोहोरको झोला बोकेर हिँड्नुपर्ने बाध्यता छ र? आफ्नो अन्तर्यलाई हेरौं। आफ्नै संसारमा खुसी भएर बाँचौं। यति सहज र सरल उपाय हुँदाहुँदै दुःखको भारी किन बोक्ने? किन धेरै महत्त्वाकांक्षा बाँच्नु छ र? यो संसारमा कस्तो मानिस देख्न चाहेको हो? त्यो आफै बन्ने प्रयास गरौं।  

प्रकाशित: ५ फाल्गुन २०७९ २३:५४ शुक्रबार

अक्षर