कला

भुईं मान्छे

लघुकथा

त्रिपुरा पोखरेल खरेल

मुसा कुद्ने भोको पेटका लागि कहिले होटल अगाडि, कहिले सडकको किनारामा देखिने साँपेलाई छोइएला भन्ने डरले मान्छेहरू उदेखि जोगिएर हिंड्ने गर्छन्।

‘त्यो दिन फेरि कहिले आउँछ।’ ऊ पिपलको पात टोक्दै पोहोर साल ‘अन्तर्राष्ट्रिय अपांग दिवस’मा दिन गाडीमा आएका मान्छेहरूले  माया गरेर उसलाई छेरुन्जेल खुवाएको सम्झिदा उसको ख्याप्टे अनुहारमा चमक देखिन्छ।

साँपेले संसार चिन्न थालेको दिन कसैले पुण्य कमाउन रोपेको पिपलको छहारीमा आफूलाई एक्लो पाएको थियो। मान्छेसँगको सम्पर्क नभएर होला  उसले बोल्न पनि बिर्सिसकेको थियो।

नांगो आकाशमुनि प्रकृतिले दिएको पीडाभन्दा मान्छेबाट पाउने घृणाले उसको मन दुख्छ।

‘अब यहाँबाट उता सर्छु।’ टाउको र शरीरमा ढुंगाले बनाएको चोट मुसार्दै उसले आफ्नो आश्रयदेखि अलि पर देखिने मचानतिर पुलुक्क हे¥यो।

मचानका मालिकहरू विदेश पलायन भएपछि साँपेले त्यसमा आफ्नो  टाउको लुकाउन थाल्यो।

गतिलो ओत पाएपछि उसले कहिले नमाझेका पहेंला दाँत देखाएर हाँस्न जान्यो। खुट्टा चल्दैनन्,कमजोर हातको सहाराले घिस्रेर कन्या कलेजको गेटसम्म जानु अब उसको दिनचर्या भइसकेको छ।

बिहानै ऊ कन्या कलेजको गेटमा थियो। सधैं घिस्रिनुपर्दा उसको फाटेको लुगाबाट कुन्नि के देखेर कलेजका छात्राहरू आँखा छोप्न थाले।

कलेज पढ्नकै लागि गाउँबाट शहर आएकी शालिनीले अघिल्लो हप्ताझैं  आज पनि एक सयको नोट उसलाई दिन हात बढाई।

‘यो भुई मान्छेलाई दया नदेखा भन्दाभन्दै पनि रुपियाँ दिएर पल्काइस्, कुन दिन तँलाई मान्छेको सामु समातेर सरम पार्ला नि। साँपेले केटी देख्नै हुँदैन, पछाडिबाट च्याप्प समातिहाल्छ।’

‘यस्तो असहाय-अपांगलाई देख्दा सहायता गर्न मनपर्छ। हामी गाउँलेहरू तिमीहरू जस्तो मुटु नभएका होइनौं।’ यसो भन्दै ऊ साथीलाई छोडेर अगाडि बढी।

पछाडिबाट शालिनीको खुट्टा कसैले जोड्ले समातेको थियो।

‘आ...मा।’ शालिनीले कहालिंदै पछाडि फर्केर हेरी।

‘आमा,भोक लाग्यो। साँपेको आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको थियो।

प्रकाशित: ५ फाल्गुन २०७९ ०५:५९ शुक्रबार

अक्षर