‘कत्ति हेप्न सकेकी, म बुढी केही गर्न सक्दिँन भन्ने ठानेकी होली?’
आमाको कर्कशासँगै भाउजूको आर्तनाद पनि सुनें। म माइतीघरको मूल गेटमै पुगेकी थिएँ। महाभारतको रणभूमिमा छिरूँ या फिरूँ? दोधारमा थिएँ। दाइ बाहिरबाट गेटमै भेटिनुभयो। मेरो अनुहार पढनुभयो र भन्नुभयो, ‘सासूबुहारी सधैं यस्तै हुन्। हिंड, भित्र जाऔं।’
आमाले अनुहार उज्यालो पार्नुभयो। मैले लगेको कोसेली खोल्दै भन्नुभयो,‘लु कान्छी यो स्याउ काटेर ले। भोक लागेको छ। रक्तचाप भएकी बुढी चाँडै मरोस् भनेर होला तेरी भाउजूले तरकारीमा नुन खन्याइछे।’
म भान्छातिर जाँदै थिएँ। भाउजू दाइसँग भन्दै थिइन्, ‘कि छुट्टै बसौं कि आमालाई वृद्धाश्रममा राखौं। अब सँगै बस्न सकिन्न।’
आमा खुसी भएको बेला पारेर सम्झाएँ, ‘आमा, घरकी बुहारीलाई माया र सम्मान दिंदा घरको संस्कार राम्रो बस्ने थियो।’
आमा रनक्क तात्नुभयो, ‘लुगा धोई भने साबुनै राख्छे। खानेकुरा दिई भने मुखमा हाल्न सकिंदैन। बिरामी भयो कि मार्नलाई दबाई मात्रै खुवाउँछे। चोकमा छिल्लिन चिटिक्क परेर किनमेल जान्छे। यस्ती चण्डाल्नीलाई केको माया,केको सम्मान!’
आमाको बुहारीप्रतिको सोचले म आक्रोशित भएँ र ठूलै स्वरमा भनें,‘आमा, एकछिन आएर आमाको अनुहार चाट्ने छोरी के काम? सधैं खटने बुहारीलाई छोरीझैं माया गरे पो सुख हुन्छ।’
प्रकाशित: ५ फाल्गुन २०७९ ०५:३७ शुक्रबार