कला

चतुरे र रातो गुलाफ

लघुकथा

रञ्जुश्री पराजुली

चतुरे र सेती प्रेममा गाँसिएका थिए। धन कमाउन परदेश नगएको भनेर सेतीको बाबुले उनीहरूको बिहेको मञ्जुरी नदिएकाले ती दुईले भागी बिहे गरे। चतुरेकी आमाले केही समय सेतीलाई लुकाएर राखी।

चतुरेका गोठाला दौंतरीहरू प्राय: सबै धन कमाउन अरबतिर गइसकेका थिए। सेतीलाई छोडेर चतुरेलाई टाढा जान मन लागेन। उसले आफ्नै देशको ठूलो शहर गएर काम गर्ने   विचार गर्‍यो। जाने बेलामा सेतीलाई माया गरेर अँगालेमा बाँधेर सम्झाउँदै भन्यो,‘म धन कमाउन शहरतिर जान्छु। तँ आमासँग बस्। बेला-मौकामा आउँछु। मलाई अरूको जस्तो धेरै धन कमाउनु पनि छैन। तँलाई छोडेर म धेरै समय एक्लै बस्न सक्दिनँ। तँ राम्री छस्। अरूले आँखा लगाउलान् भन्ने पिर छ।’

सेतीले रुँदै भनी, ‘तिमी पनि नचाहिंदो शंका गर्छौ। तिमी जस्तो माया गर्ने खसमलाई छोडेर म कतै जान सक्दिनँ। तिमी पीर नगरी धन कमाउन जाऊ।’

शहरमा साहुको ठेलागाडामा सामान ओसारपसार गरेर चतुरेले राम्रै कमाउँदै थियो। सेतीको याद नआएको पल नै हुँदैन थियो उसलाई। उसले भनेकी मायाका शब्दहरू सम्झिएर चित्त बुझाए पनि छुच्चा गाउँलेहरूले सेतीको मन भाँडिदिन्छन् कि भन्ने शंका लाग्थ्यो।

एकदिन शहरका केही पसल रातै सिंगारिएका युवायुवतीहरू हातेमालो गर्दै रातो गुलाफको गुच्छा बोकेर हिंडेको देख्दा उसलाई के होला भन्ने लाग्यो। आँट गरेर उसले रातो गुलाफको फूलको गुच्छा हातमा लिएर बाहिर निस्किएका एक जोडी युवायुवतीलाई सोध्यो, ‘नमस्ते हजुर, यताका धेरैजसो तरुनातरुनीहरूले हातेमालो गरेर रातो गुलफको गुच्छा बोक्नुभएको छ। आज कुन चाड हो? पसलहरू पनि रातोले सजिएको छ।’

उनीहरूले उत्तर दिए, ‘आज प्रेम दिवस हो। केटाले आफूले माया गरेको केटीलाई रातो गुलाफको फूल र उपहारहरू दिन हो।’

चतुरे आफ्नो खल्ती छाम्दै नजिकैको रातोले सजिएको पसलभित्र पस्यो।

प्रकाशित: ४ फाल्गुन २०७९ ०५:५४ बिहीबार

अक्षर