कला

बैंकको प्रचारमा राजेश हमाल

पाल्पा- एनएमबी बैंकको प्रचारमा राजेश हमाल जुटेका छन्। उनले लुम्बिनी अञ्चलका विभिन्न पाँच जिल्लाहरुमा एक घर एक खाता योजना अनुसार सेवाग्राहीको घरमै पुगेर खाता समेत खोलेका छन्।

उनले बिहीबार पाल्पाको तानसेनमा सम्बोधन गर्दै सेवाग्राहीहरुलाई बचत गर्ने बानिको विकास गर्न आग्रह गरे। उनले दशैं, तिहार, छठ जस्ता पर्वहरुमा धेरै खर्च गर्नुभन्दा बचत गरेर भोलिको भविष्य सुनिश्चित गर्न पाल्पाबासीलाई आग्रहसमेत गरे। उनी भन्छन्- 'जहाँ खाता हुन्छ त्यहाँ बचत। बचत भएमात्र लगानी र रोजगारीका बाटोहरु समेत खुल्छन्।'

बैंकका क्षेत्रीय संयोजक लोकराज पनेरुले घरमै बैंकिङ्ग सुविधा पुर्‍याउन विविध सांगितिक कार्यहरु सञ्चालन गरेको बताए। उनी भन्छन्, 'बैंक खुल्नेक्रम तिव्र भएपनि निक्षेप संकलन र ऋण प्रवाहमा ध्यान नपुर्‍याईएकोले त्यसलाई ध्यान दिन कार्यक्रम आयोजना गरिएको हो।' उनले ग्राहकको विश्वास जितेर सेवा दिन बैंक प्रतिबद्ध रहेको बताए।

एनएमबि (नेपाल मर्चेन्ट) बैंकले भृकृटी, पाथीभरा, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र पुणेन्सियल फाइनान्ससँग मर्ज भएपछिको एक महिना अघिमात्र तानसेनमा बैंकको शाखा खोलेको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले नाटक तथा प्रहसन समेत प्रस्तुत गरेका थिए। महानायक राजेश हमाल एनएमबी बैंकका ब्राण्ड एम्बेस्डर हुन्।

प्रकाशित: १३ आश्विन २०७३ १३:५१ बिहीबार

बैंकको प्रचारमा राजेश हमाल