कला

देवता र गुलाब

कविता

सुमित्रा थुलुङ अश्रुधारा

कस्ले काट्यो बोटबाट गुलाब?

बोकेर कस्ले ल्यायो मन्दिरको नजिक?

बेचेर सुन्दर फूल

के किन्छ होला उनीहरूले?

आँखा त्यही डाली र भिडबाट हट्दै हटेन...

आखिर के सम्बन्ध छ

देवता र गुलाब बिच?

मलाई त मेरै मुटु काटिदिए जस्तो लाग्यो

काटिएको गुलाबको हाँगाहरू देख्दा

ठिक त्यही बेला एउटा प्रेमिका

एउटा बुके बोकेर हिंडी अलिक हतारोमा

मेरो खुट्टा नमजाले टेकेर

उनको हातको गुलाबका हाँगाहरू

खुशी थिए थिएनन्

प्रेमीको हातमा थामिंदै गर्दा...

डालीमा सजिएर पनि

कस्तो मजाले मुस्कुराएको

ओइलिंदै गर्दा हाँगाबाट गुलाब

सकिंदै गर्दा आफ्नो अस्तित्व

अरूको प्रेमको खातिर

सुकेर फोहोरका कन्टेनरमा

मृत्युप्रतिको गहिरो भय

यतै कतै विलीन हुन्छ

गुम्बाको एक किनारमा...

यहाँ

हर कोही आशावादी थिए जीवनदेखि

प्रेमदेखि अनि जिन्दगीदेखि

र त यति भिडभाड थियो

गुलाबको थुप्रामा

प्रेम किनमेलका लागि।

फुत्त तानिदिए हुलबाट एउटा गुलाब

देब्रे हातको सहाराले

बुझाए व्यापारीलाई मोल गुलाबको

जीवनदेखि निकै हारेको म

कस्ले काट्यो होला यो गुलाबको हाँगा?

हातमा परेपछि फेरि एकपटक झसंग भएँ,

र सोचे चढाइदिन्छु एउटा देउताको नाममा

खोई के भाकल माग्नु थियो मलाई गुलाब बोकेर?

कहीं कतै देखिएन रगत

यो हत्या हुनै सक्दैन

जसरी मनको हत्या हुन्छ

कहिले दोषी ठहरिंदैन मान्छे

ठिक त्यसरी नै

गुलाबका हत्यारा पनि दोषी हैनन् नै

बिस्तारै चढे खुड्किलाहरू

ठिक सामुन्नेमा बिराजमान बौद्ध

केके मागेर जलाएका थिए कुन्नि

छेउछाउ जलिरहेको दियोका लप्काहरू

शान्ति महसुस भयो

मानौ, केही राहत भयो मनलाई

चढाइदिए एउटा गुलाब

जलाएर दियो आँखा बन्द गरे

खाली थियो मन...

प्रार्थनाहरू अघि बढे

खोई केके मागे मैले...

आयुको रेखा

मनलाई शान्ति

अनि गुलाबको हत्यारालाई माफी...

हुन्छ पनि हुँदैन पनि देवता मन्दिरमा

त्यो मनसम्म हो

र गुलाब जसले प्रेम सफल पार्छ पार्दैन

म आज यी दुई बिच उभिएको छु

बौद्धको एक किनारमा

दुवै छन् मसँग

देवता र गुलाब!

प्रकाशित: ३ फाल्गुन २०७९ ०६:०३ बुधबार

अक्षर