कला

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताएका छन्।

बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएपनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सकेनन्। प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो।

सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताएका हुन्।

उनले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा। पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो। रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ का.मुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज का.मु.मात्रै भएँ। का.मु. भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ।’

सो अवसरमा उनले एउटै इच्छा छ, तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाएका थिए।

प्रकाशित: २६ माघ २०७९ १३:१५ बिहीबार

मदनकृष्ण श्रेष्ठ