कला

आर्यन र नम्रता सर्वोत्कृष्ट

काठमाडौं—आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन्। पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठहर्‍याइयो।

त्यस्तै चलचित्र ‘क्लासिक’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित भए। त्यसैगरी उत्कृष्ट सहअभिनेता ‘रेशम फिलिली’बाट कामेश्वर चौरसिया र सहअभिनेत्री ‘अधकट्टी’बाट अशिष्मा नकर्मी’ घोषित भए। साथै नवअभिनेता ‘होस्टेल रिटन्र्स’बाट सुशील सिटौला तथा नवअभिनेत्री ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाह उत्कृष्ट भए।

वर्षको सर्वोत्कृष्ट व्यावसायिक चलचित्रको पुरस्कार भुवन केसीको ‘ड्रिम्स’ हुँदा त्यसैका नायक अनमोल केसी निर्णायकका तर्फबाट सर्वोत्कृष्ट अभिनेता छानिए। त्यस्तै सङ्गीतकार अर्जुन पोखरेल तथा पाश्र्व गायनमा अञ्जु पन्त सर्वोत्कृष्ट ठहरिए।

विभिन्न २० विधामा पुरस्कार प्रदान गरिएको कार्यक्रममा डा.प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र पत्रकारको पुरस्कार प्रदान गरियो। हरेक विधामा मनोनयनमा परेका पाँच जनाबाट सर्वोत्कृष्ट एक जना छनोट गरिएको थियो। त्यस्तै पुरस्कारको हरेक विधाको नामाकरण सोही विधाका हस्तीका नामबाट गरिएको थियो।

नेपाल चलचित्र विकास कम्पनी (लि)सँगको सहकार्यमा ‘गोपीकृष्ण इन्टरटेन्मेन्ट’को आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको पुरस्कारका विजेतालाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलगायतले ‘अवार्ड’ प्रदान गरे। रासस

 

प्रकाशित: ३ आश्विन २०७३ ०६:५५ सोमबार

आर्यन नम्रता सर्वोत्कृष्ट