कला

सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु

मुक्तक

  १.मुक्तक

जब तिमी याद आउँछौ बितेका सबै बात सम्झन्छु,

मुस्कान तिम्रो माया, प्रेम मुटुमा छ खात सम्झन्छु।

बिर्सन त चटक्कै कहाँ सक्छु र जति भने पनि माया,

सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु।

  २.मुक्तक

फूल मनपर्छ सबैलाई किन झरेको पात चाहियो,

मलाई मीठो बात हैन समाउने बलियो हात चाहियो।

हजारौं माइलको यात्रा थाकिन्छ, हिम्मत गरेकी छु प्रिय,

मुसुक्क मुस्कुराइदेऊ किन घण्टौको बात चाहियो।

 ३.मुक्तक

कहिले तिम्रो हात समाएर घुमें,

डाँडापाखामा उत्पात रमाएर झुमें।

माया गरेकी छु ठट्टा हो र प्रिय,

तिम्रो अधरमा कत्ति मात्तिएर चुमें।

   ४.मुक्तक

कैंयन् मान्छेको भीडमा मात्र तिम्रो भर लाग्छ,

जति रिसाउँछु म फकाउन तिमीलाई कर लाग्छ।

माया भनेको यस्तै रहेछ साउने भेलझैं उर्लन्छ,

तिमीप्रतिको विश्वास देख्दा आफैसँग डर लाग्छ।

  ५.मुक्तक

धेरै माया दियौ र पो, यहाँसम्म आएकी छु,

तिम्रो मिठो आभासले धेरै खुसी पाएकी छु।

हारजितको खेल हैन समर्पणमा बित्छ जीवन,  

लाग्छ नौलौ आयाम तिम्रै लागि ल्याएकी छु।

प्रकाशित: २६ माघ २०७९ ०३:०२ बिहीबार

अक्षर