कला

बुर्काबाट उदाउँदै ओशिमा

काठमाडौं- पाकिस्तानकी मलाल युसुफजाई जब स्कुलमा गोली खाएरै बालिका पढाउने अभियानमा जुटिन्, त्यहीबेला नेपालकी रिहाना खातुन भने दाइजोको बहानामा जिउँदै जलाइँदै थिइन्। अब त्यस्ता दिन दोहोरिन हुँदैन, पढ्नेले पढ्न, काम गर्न पाउनुपर्छ। र, अनगिन्ती इच्छा चाहना मार्न बाध्य पारिनु हुन्न, महिलालाई– मुस्लिम समाजमा यस्तो चेतनाका आँकुरा अंकुराउँदै छन्।

पाकिस्तानमै धेरै महिला विभिन्न क्षेत्रमा अगाडि बढिसकेका छन्। भारतकै सिनेक्षेत्र होस् वा मोडलिङ, मुस्लिम महिला अघि बढेकै छन्। नेपालमै पहिलो मुस्लिम हिरोइनका रुपमा ओशिमा बानु नेपाली फिल्म ‘रोमियो'बाट उदाउँदै छिन्। ‘मलालाले जे गर्नुभयो, ठीक गर्नुभयो,' ओशिमाले भनिन्, 'मैले शिक्षा पाएरै यो समाजमा बाँच्न सिकेकी हँु, शिक्षा युवतीका लागि अत्यन्तै जरुरी छ।

गोली खाएर पनि अरुका लागि प्रेरणा बन्न मलालालाई कति गाह्रो थियो भन्ने ओशिमा अनुमानसम्म लगाउन सक्छिन्।

‘एक न एक जनाले त नेतृत्व गर्नैपर्ने रहेछ,' उनी अभिप्रेरित हुँदै बोल्छिन्, ‘अरुले त गर्न सक्छन्, हामी किन गर्न नसक्ने?' आफ्ना समुदायका मात्र होइन, हरेक युवतीमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पैदा हुनु जरुरी रहेको औंल्याउँछिन् उनी।

रंगीन दुनियाँ मानिने मोडलिङ क्षेत्रमा पहिल्यै कदम बढाइसकेकी युवती हुन् ओशिमा। दुइटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् उनले। बिजनेस म्यानेजमेन्टमा ब्याचलर ओशिमाले सन् २०१३ देखि 'हाउस अफ फेसन' नामक कम्पनी सञ्चालन गरिरहेकी छन्, सिइओका रुपमा।

उनी मेहनतमा विश्वास राख्छिन्। बिहान उठेदेखि रात नपरुन्जेलसम्म उनी काम गर्छिन। सन २०१२ मा फेस अफ क्लासिक डाइमन्ड नामको प्रतिस्पर्धामा उपाधि जितिन्। एकवर्षसम्म क्लासिक डाइमन्ण्डको एम्ब्यासड्र भएर काम गरिन्। सन् २०१३ को मिस नेपालको टप टेनसम्म पुग्न सफल भइन्। अगाडि बढ्न आफै केही गर्नुपर्छ भन्ने सोचका साथ आफ्नै व्यवसाय सुरु गरिन्।

उनी जति आधुनिक समाजका सकारात्मक विषयमा आकर्षित छिन्। उति नै मुस्लिम समुदायका सकारात्मक पाटोप्रति सहमत छिन्। ‘म वर्षमा एकपटक हिजाब लाएर महिनादिन व्रत बस्छु,' ओशिमा सुनाउँछिन्, ‘यसले मलाई आफैलाई मूल्यांकन गर्ने अवसर दिन्छ।'

रमादान र इदमा बाहेक अरुबेला उनी हिजाब लाउँदिनन्। सामान्य पहिरनमै रहन्छिन्। भर्खरैको बकर इद परिवारसँगै मनाइन्। ‘दिउँसो हसनजीको दावतमा गएँ, बिहान बेलुका परिवारसँगै रहेँ,' उनले सुनाइन्। इद्जस्तै अर्को रात जाग्ने पर्व पनि मुस्लिम समुदायले मनाउँछन्। यस पर्वमा रातभरी जाग्राम बसेर अल्लाहको पुकारा गरिन्छ। हसन खान उनै हुन्, जसले उनलाई ‘रोमियो'मार्फत् फिल्ममा प्रवेश गराउँदै छन्। ‘प्रेमकथाको फिल्म हो,' ओशिमाले भनिन्, 'तीन जनाको प्रेमको संवेदनशील कथा छ। परिवारसँगै बसेर हेर्न सकिन्छ।'

मुस्लिम महिलाले लगाउने बुर्का उनी यदाकदामात्र लाउँछिन्। ‘बाध्यता नपरीकन बुर्का लाउँदिन,' उनले भनिन्, ‘अचेल लाउन छाडेको धेरै भैसक्यो।' तर बिहेपछिको पिरलो भने उनलाई छ। ‘खै बिहेपछि मेरो के अवस्था हुन्छ थाहा छैन, बुर्का लाएर महिलाले खाना पकाउने र घरको काम मात्र गरेर बस्नुपर्छ भन्ने सोच म राख्दिनँ।'

काठमाडौंमै उनको जन्म भयो। बुबा रहमत खानले जब हिन्दु संस्कारकी बुढाथोकी थरकी महिला बिहे गरे। तब ओशिमालाई नयाँ संस्कारमा बाँच्न केही सहज भयो। आमा नसिमा बानु हरेक मोडमा उनको साथ रहिन्। ‘तिमी आफ्नो निर्णय आफंै गर्नसक्छौ,' उनकी आमा उनलाई सम्झाउँछिन्, ‘राम्रो बाटोमा हिँड। सधैं राम्रो हुन्छ, सबैले साथ दिन्छन्।'

तर फिल्म खेल्ने निर्णय गरिसकेपछि उनको मानसिकता गिराउने खालका निकै प्रतिक्रियाले उनमा हतासपन पनि ल्यायो। ‘तैंले इज्जत फालिराछस् भनेर गालीका म्यासेजहरु पनि आए,' उनी थप्छिन्, ‘तर राम्रो गर, हामी साथ छांै भन्ने म्यासेज त्योभन्दा धेरै आएपछि हौसला मिलेको छ।' ओशिमाको ‘रोमियो' फिल्मको सुटिङ केही दिनमै सुरु हुँदैछ।

प्रकाशित: १ आश्विन २०७३ ०१:४२ शनिबार

बुर्काबाट उदाउँदै ओशिमा