रञ्जुश्री पराजुली
निता र राजुको एउटै स्कुल एउटै बसमा सँगसँगै आउजाउ गर्थे। उनीहरू पाँच कक्षामा पढ्थे। छुट्टीको बेला टोलका केही अरू साथीसँग अनलाइन गेम खेल्थे। उनीहरू हुर्कदै गए। नजानिंदो किसिमले उनीहरूको मायाको बीउ पलायो।
दैवको लीला अपरम्पार भन्ने उखान चरितार्थ बन्न पुग्यो उनीहरू बिच। दुवैले युएसमा आई आइटीमा उच्च शिक्षा पढ्न छात्रवृत्ति पाए र पढाइ पूरा गरे। अभिभावकले उनीहरूको क्षमता अनुसार स्वदेशमा कतै पनि मूल्यांकन नहुने हुनाले समुद्रपारि देशमा नै बसेर केरियर बनाउन छुट दिए।
दुवैको सानो छँदादेखिको प्रेमको मूल्यांकन गर्दै अन्तरजातीय नै भए पनि बिहे गर्ने स्वीकृति पनि दिए। उनीहरूले स्वदेशमै भव्य तरीकाले विवाह भयो। विदेशमा भन्दा स्वदेशमा नै आफ्नो सीपको आवश्यकता रहेको महसुस गरेर केही वर्ष विदेश बसेर फर्किए।
दुवैको पढाइको क्षेत्र एउटै थियो। आफ्नो विषयको काम खोज्न व्यस्त भए। नीताले एउटा कम्पनीमा राम्रो काम पाइन्। तर, राजुलाई काम खोज्दै भौतारिनुपर्यो। उसले चित्तबुझ्दो काम पाएन। उसमा नकारात्मक सोच पलाउन थाल्यो। सानै कुरामा पनि उनीहरूको झगडा हुन थाल्यो। उनीहरू सँगै नबस्ने निर्णयमा पुगे। सम्बन्ध-विच्छेदका लागि निवेदन दिए।
फैसलाको दिन बोलाएको भन्दा अगाडि नै अफिस पुगे। दुवै हाकिमको प्रतीक्षामा बसे। उनीहरू दुवैको मानसिकता उथलपुथल भैरहेको थियो। आफ्नो निर्णयप्रति दुवै कता-कता सशंकित भएका देखिन्थे। त्यसै बिच हाकिम आइपुगे। उनले दुवैलाई औल्याउँदै ‘तपाईंहरूको आखिरी फैसला सम्बन्ध-विच्छेद हैन त?’
दुवैले एक आपसमा मुखामुख गर्दै एउटै स्वरमा भने, ‘हैन सर, हामीले हतारमा निर्णय गर्यौ जस्तो छ। त्यो निवेदन फिर्ता दिनुस्। हामी फेरि एकपटक सोच्ने छौं।’
प्रकाशित: १९ माघ २०७९ ०५:३२ बिहीबार