कला

मुक्तक दिवसमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत

नेपाल मुक्तक प्रतिष्ठानको दशौं वार्षिकोत्सव र मुक्तक दिवसको अवसरमा वरिष्ठ मुक्तकका यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत भएका छन्।

नेपाल मुक्तक प्रतिष्ठानले वरिष्ठ मुक्तककार यादव खरेललाई ५१ हजार रुपैयाँ नगद राशिको भीमदर्शन मुक्तक पुरस्कार र मुक्तककार रुद्र ज्ञवाली (रुपन्देही) लाई नगद ३१ हजार रुपैयाँ नगद राशिको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार प्रदान गरिएको छ।

उक्त दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काँइलाले प्रदान गरेका थिए।

दुवै पुरस्कारका संस्थापक तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा संस्थाले प्रकाशित गरेको ‘स्मारिका’ पनि लोकार्पण गरिएको थियो।

यसैगरी मुक्तकमा समर्पित चार संस्था घुम्ती मुक्तक नेपाल (काठमाडौं),  हातेमालो साहित्य (काठमाडौं), मुक्तक मन्डप (भैरहवा) र  मुक्तक मञ्च (पोखरा)लाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वबारे आफ्ना भनाइ राखेका थिए।

यसैगरी कार्यक्रममा प्रमुख अतिथि बैरागी काइँला, अध्यक्ष रामकाजी कोने, पुरस्कृतहरू यादव खरेल र रुद्र ज्ञवालीले आआफ्नो मन्तव्य राखेका थिए।

यसैगरी मुक्तककारहरू निर्मलरमण पराजुली (अध्यक्ष-घुम्ती मुक्तक नेपाल), रामजीप्रसाद आचार्य (अध्यक्ष-मुक्तक मन्च केन्द्र, पोखरा), विष्णु विवश पोखरेल (अध्यक्ष-मुक्तक मण्डप, रुपन्देही) र सुनिल अधिकारी (अध्यक्ष-हातेमालो साहित्य संगम)ले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए।

प्रतिष्ठानको महासचिव यादव भट्टराईले चलाएको कार्यक्रममा संस्थाका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरूलाई खादा लगाएर सम्मान गरेका थिए भने संस्थाका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा संस्थाकी सल्लाहकार उषा शेरचनले धन्यवाद-ज्ञापन गरेकी थिइन्।  

प्रकाशित: १९ माघ २०७९ ०२:४५ बिहीबार

अक्षर