कला

डा. कडेलको नियात्रा लोकार्पित

नेपाल स्रष्टा समाजको आयोजनामा शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रासंग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण भएको छ।

वरिष्ठ नियात्राकार तथा प्रमुख अतिथि घनश्याम राजकर्णिकार, नेपाल नियात्रा समाजका संस्थापक चन्द्रप्रसाद भट्टराई, नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, नियात्राकार जय छाङ्छा लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा देश-विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्णन गरेको बताए।

समाजका संरक्षक पवन आलोकले नियात्राकारले नियात्रामा जहाँ पुग्यो त्यहींको भाषा, परिवेश, रहनसहन, मौलिकता टपक्क टिपेको बताए।

त्यस्तै गरी नियात्रा समाज अध्यक्ष प्रतीक ढकालले नियात्रामा पूर्वस्मृति र स्थानगत तादत्म्य देखाइदिएको बताए।

नियात्राकार जय छाङ्छाले विस्तृत समीक्षा गर्दै लोकार्पित कृति ओजिलो भएको बताए।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा शंकर भारती, डा शान्तिमाया गिरी र नियात्राकार डा. सदानन्द कडेलले मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ माघ २०७९ ०५:०३ सोमबार

अक्षर