कला

आगोको लप्का

कविता

बोक्न नसकेर अभावको भारी

थेग्न नसक्दा मनको पीर

गरिबको खुसी र हाँसो

कब्जा गरेर बसेको राज्यसत्ताले

आफ्नै आँखामुनिको परेला नदेखेपछि

जलेको मन सेकाउन

आगोको लप्कामा जल्छ मान्छे।

‘आगोले पोलेको घाउ आगोमा नै सेकाउनुपर्छ’

आहान छ बुढाको

बेथितिहरूको माला लगाएर

रवाफिलो बन्दै सुकिलो कोट भिरेर

स्वाभिमानी देखाउँछ सत्ता

सारा शक्ति आफ्नो नियन्त्रणमा राखेर

आफ्नै आँगनमा जलाउँछ विरागको चित्र।

अभिमानको पनि हद हुन्छ यार,

स्वाभिमान बेचेर किनेको अभिमानले

कसरी थेगिन्छ शरीरको भार?

कसरी उचालिन्छ तिम्रो घिच्रो?

अनि कसरी बक्न सक्छौं,

स्वाभिमानको गीत?

जनसेवाका लागि पाएको अधिकार

उनीहरूको अधिकार कुण्ठित गर्न लागेपछि

कसरी उघारिन्छ साम्यवादको दैलो?

कसरी भेटिन्छ समाजवादको लक्ष्य?

ए तृष्णाले मातिएका मैमत्तहरू!

सिंगो सूर्यलाई एकोहोरो हेरिरहन सक्छौं?

सक्दैनौं भने, आगोको लप्कासँग नखेल्नु

आफ्नो स्वार्थका लागि नबोल्नु

मन जलेपछि, शरीर जल्छ

अहिले झुक्किएर आगो यता सरेको हो

यो आगो त्यतै फर्किन सक्छ।

प्रकाशित: १४ माघ २०७९ ०५:२५ शनिबार

अक्षर