कला

'युनिटी काण्ड'माथि फिल्म बन्ने

काठमाडौं- यसअघि 'राहदानी' फिल्म निर्देशन गरेका पत्रकार डब्बु क्षेत्री दोस्रो फिल्म निर्माणमा जुटेका छन्। शुक्रबार काठमाडौंमा उनको दोस्रो फिल्म 'युनिटी'को घोषणा गरियो। फिल्मको प्रारम्भिक पोस्टरलाई नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अनावरण गरे।

अघिल्लोपटक 'राहदानी'मा वैदेशिक रोजगारका विषयलाई उठाएका डब्बुले यसपालि 'युनिटी काण्ड'बाट ठगिएका नेपालीहरुका कथाव्यथा प्रस्तुत गर्न लागेका हुन्। 'पहिले पनि समसामयिक विषयमा फिल्म बनाएको हुँ, यसपालि पनि त्यस्तै विषयमा नेपालीहरुको पीडा झल्किने कथा उठाउन लागेको हुँ,' उनले भने।

सिने मनबल इन्टरप्राइजेज प्रालि र कर्पोरेट म्यागेजिनको निर्माण रहने फिल्ममा 'राहदानी'कै निर्माता लक्ष्मीप्रसाद ढकाल दोहोरिएका छन्। उज्ज्वलजंग शाहको प्रस्तुति रहने फिल्मका कलाकारहरुको भने टुंगो लाग्न बाँकी रहेको छ। उज्ज्वलजंगकै कथा रहने फिल्ममा सुसन प्रजापतिको छायांकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, हर्कुलस बस्नेतको संगीत, शैलेन्द्र शरद तथा डब्बु क्षेत्रीको गीत, कुमार महर्जनको द्वन्द्व, सुष्मा महराको हेयर स्टाइल र शिक्षा श्रेष्ठको कस्ट्युम डिजाइन हेर्न पाइनेछ।

२०६० सालदेखि ६८ सालसम्म चलेको नेटवर्किङ व्यवसाय युनिटीको भण्डाफोर गर्न एक पत्रकारले गरेको खोज अनुसन्धान तथा संघर्ष फिल्मको मूल कथाका रुपमा आउनेछ। फिल्ममा पत्रकारको कथा यथार्थपरक ढंगमा चित्रण गर्न महासंघका अध्यक्ष महेन्द्र विष्टले निर्देशक क्षेत्रीलाई आग्रह गरे।

र्‍याडिसन होटलमा भएको फिल्म निर्माण घोषणा कार्यक्रममा पत्रकार गणेश बस्नेत, लक्ष्मीप्रसाद ढकाललगायतले पनि फिल्म राम्रो बन्ने आशा व्यक्त गरे। आगामी असोजमा छायांकन गरिनेछ फिल्मलाई चैत १८ मै रिलिज गर्ने योजना निर्माण समूहको छ।

प्रकाशित: १२ भाद्र २०७३ ०३:११ आइतबार

युनिटी काण्डमाथि फिल्म बन्ने