कला

भगवान्

भगवान्,

हिजो मन्दिरमा बस्थ्यो

आज कुर्सीमा बस्छ!

हिजो पनि भगवानलाई मान्छेले नै बनाएको हो

आज पनि भगवानलाई मान्छेले नै बनायो

हिजो,

ढुंगालाई मन्दिरमा लगेर बनायो

आज व्यक्तिलाई कुर्सीमा लगेर!

आखिर कति नै भिन्नता छ र,

मन्दिरको भगवान् र कुर्सीको भगवानमा!

फूल चढाउनै पर्छ,

पूजा गर्नै पर्छ,

फरक यति हो,

मन्दिरको भगवानलाई पूजा गरे पुग्छ,

चाकडी गर्न पर्दैन,

भेटी दिए पुग्छ, भोट दिन पर्दैन!

फरक यति हो,

मन्दिरमा बस्ने भगवानले सास फेर्दैन,

अझ, सास मात्रै होइन कुरा पनि फेर्दैन,

फरक यति हो-

मन्दिरमा बस्ने भगवानले सुन्दैन,

केही सोधे पनि हुन्छ,नसोधे पनि हुन्छ,

बोले पनि हुन्छ, नबोले पनि हुन्छ!

कुर्सीमा बस्ने भगवानले सुन्नचाहिं सक्छ

तर,

केही सोध्नै पाइँदैन,

उनको विरुद्धमा बोल्न पाइँदैन!

र फरक यति हो-

मन्दिरमा बस्ने भगवानले भात खाँदैन,

घुस पनि खाँदैन।

तर, कुर्सीमा बस्ने भगवानले

भात/घुस मात्रै खाँदैन

उस्तै पर्दा देश नै खाइदिन्छ!

भगवान्, आफैं भगवान् बनेन

मान्छेले नै हो भगवान् बनाएको,

तर,

भगवान् बनाउन सक्ने मान्छेले,

भोट दिएर व्यक्तिलाई पनि भगवान् नै बनाउँछ,

भोट दिएर उसले-मान्छे कहिल्यै बनाएन!

प्रकाशित: १२ माघ २०७९ ०४:४६ बिहीबार

अक्षर