कला

प्युठानका बाढी पहिरो पीडितलाई जिग्री–पाँडेको राहात

कठमाडौं– हाँस्य कलाकार कुमार कट्टेल(जिग्री) र अर्जुन घिमिरे(पाँडे)ले स्थापना गरेको  जिग्री–पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढीपहिरो पीडितलाई राहात वितरण गरेको छ। भूकम्पपछि सामाजिक सक्रिय प्रतिष्ठानले प्युठानको लुङ–६, बहाने पुगेर बाढीपहिरो पिडितलाई सहयोग वितरण गरेको हो।

जिग्री र पाँडेका साथै सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापालगायत कलाकार संलग्न उक्त टोलीले प्रभावित स्थानमै पुगेर राहात वितरण गरेको हो।  सय परिवार बाढी पहिरो पिडितलाई एक–एक बोरा चामल, म्याट, औषधिलगायतका सामग्री उनीहरुले वितरण गरेका हुन्।  
म्युजिक भिडियोको पारिश्रमिक १ लाख रुपैयाँ राहात सामग्री खरिदका लागि खर्च गरिएको कुमार कट्टेलले जानकारी दिएका छन्। आफ्नो पारिश्रमिकमा अन्य सहयोगी हातहरुको सहयोग थप गरेर पहिलो चरणअन्र्तगत प्रतिष्ठानले प्युठानमा राहात वितरण गरेको उनले बताएका छन्।

पीडितहरुको अवस्था नाजुक रहेकाले सहयोगी हातहरुको आवश्यकता रहेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाइ छ। अब अर्को चरणअन्र्तगत गुल्मी र झापाका बाढी पहिरो पीडित समक्ष पुग्ने उनीहरुको योजना छ। समाजिक सेवा कार्यमा सक्रिय रहने प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित: ३२ श्रावण २०७३ १०:४७ मंगलबार

प्युठानका बाढी पहिरो पीडितलाई जिग्री–पाँडेको राहात