कला

कार्यकर्ताको ताली

लघुकथा

अनु विज्ञाति

‘उनीहरू यति असन्तुष्ट छन् कि आज हजुरले उनीहरूको गुनासा मात्र होइन गाली समेत सहनुपर्ने हुनुसक्छ। सम्झनुस्, त्यो नकारात्मक सोचाइ भएका मानिसहरूको झुण्ड हो। त्यसैले सोही अनुसारको मनस्थिति तयार गरेर जानुहोला।’

कार्यक्रम हलमा पस्नुअघि नै निमेशले मलाई संकेत गरिसकेको थियो।

उनीहरूले विरोध त के कार्यक्रम बहिष्कार नै गर्नेछन् भने पनि मैले सत्य कुरा भन्नैपर्ने थियो। त्यसैले मञ्चमा मन्तव्य राख्दै गर्दा उनीहरूका सबै इच्छा र अपेक्षा तत्काल सम्बोधन गर्न नसकिने कुरा जानकारी गराएँ र गालीको सामना गर्न तयार रहें। तर, विरोध वा असन्तुष्टिको आवाज गुञ्जिनुको सट्टा सभाहलबाट तालीको गडगडाहट आयो।

मैले मन्तव्य सकिनेसाथ निमेशलाई बोलाएँ र झपार्दै भनें, ‘आफ्नो अपेक्षा पूरा नहुने कुरा सुन्दा पनि परिस्थिति स्विकार्दै ताली बजाउने उहाँहरू जस्ता महान् मान्छेलाई तिमीले नकारात्मक सोचाइ भएका झुण्ड भन्दिने?’

मेरो कुरा सुन्नेबित्तिकै निमेश मुख छोपेर खिस्स हाँस्यो अनि सभा-हलको एक कुनामा छेल्लिएर खैनी माड्दै गरेका एक कार्यकर्तालाई देखाउँदै भन्यो,‘वास्तवमा अघि त्यहाँ उनीहरूका नेताले खैनी पड्काएका थिए।’

प्रकाशित: ५ माघ २०७९ ०६:१० बिहीबार

अक्षर