कला

दृष्टिविहीन सुजता उत्कृष्ट

काठमाडौं–‘तिमीले बाटो फेर्यौ अरे’ अनलाइन कभर सङ्स प्रतियोगिताको विजेता धरान–१६ की सुजता लिम्बू बनेकी छन्। यससँगै सुजताले नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर प्राप्त गरेकी छन्।

गीतकार तथा मोडल दर्पण राईको शब्द र टंक बुढाथोकीको संगीत रहेको ‘तिमीले बाटो फेर्यौ अरे’ गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको अर्जिनल स्वर रहेको छ। यस चर्चित गीतका लागि करिब पाँच महिनाअघि ‘कभर सङ्स प्रतियोगिता’ घोषणा गरिएको थियो।

यु–ट्युबमा म्युजिक ट्रयाक राखेर गरिएको यस ‘कभर सङ्स प्रतियोगिता’ मा एक हजारभन्दा बढीले सहभागी जनाएका थिए। तीमध्ये सुजाता उत्कृष्ट ठहरिएकी हुन्। ‘तिमीले बाटो फेर्यौ अरे’ गीत पुरुष र महिलाको स्वरमा छ। त्यसैले प्रतियोगितामा पनि पुरुष–महिलाले सहभागिता जनाएका थिए।

शारीरिक रुपमा दृष्टिविहीन सुजताले प्रतियोगितामा आफू उत्कृष्ट ठहरिएपछि खुसी व्यक्त गरेकी छन्। हाल धरानमै रहेकी सुजताले टेलिफोनमा कुरा गर्दै भनिन्, ‘मलाई एकदमै खुसी लागेको छ। मैले साचेकै थिइनँ।’ आफूजस्ता लुकेका प्रतिभालाई पनि अवसर दिएकोमा गीतकार दर्पण राईलगायत निर्णायकप्रति उनले खुसी व्यक्त गरिन्।

 

प्रकाशित: २९ श्रावण २०७३ ०६:५५ शनिबार

दृष्टिविहीन सुजता उत्कृष्ट