कला

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार विभिन्न १० युवा तथा युवासम्बद्ध संघसंस्थालार्ई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न ८ व्यक्ति र २ संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको हो।

सम्मान तथा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन्। सम्मान पाउनेमा स्वयंसेवा र समाज सेवातर्फ काम गर्दै आइरहेको धुर्मुस सुन्तली फाउन्डेसन र व्यावसायिक कृषितर्फ काम गरिरहेको गुल्मीको पैंचो पसल प्रालि छन्।

त्यस्तै, कार्यक्रममा वातावरण सरसफाइ र स्वयंसेवातर्फ बाग्मती सरसफाइ अभियानका अभियन्ता राजु अधिकारी छन्। अधिकारीको स्थायी घर खाँदबारी, सखुवासभामा हो। चित्रकला र संगीततर्फ थाहा नगरपालिका मकवानपुरका अपांग अमिर लामाले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्राप्त गरेका छन्।

कला र संगीततर्फ सर्लाहीका शिव परियार, कृषितर्फ ओखलढुंगाका लोचन बस्नेत, चेलीबेटी बेखबिखन नियन्त्रणतर्फ माइती नेपालकी फुलमाया तामाङले पुरस्कार राशिसहित कदरपत्र प्राप्त गरेका छन्। त्यस्तै, कृषि पशुपालनमा मकवानपुरका दिपक तिमल्सिना, कलासंस्कृतितर्फ कालोपोथी चलचित्रका निर्देशक मुगुका मीनबहादुर भाम र वैज्ञानिक खोज अनुसन्धानमा काभ्रेपलान्चोकका डा. सुमन सत्याल छन्।

त्यस्तै, खेलक्षेत्रतर्फ फुटबलका नवयुग श्रेष्ठ, उसुकी निमा घर्तीमगर, जुडोकी फुपुह्लामु खत्री, तेक्वान्दोकी निशा रावलले पनि राष्ट्रिय युवा सम्मान पाए।

सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवाले मुलुकभित्रै प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतसाधनको उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन्। उनले स्वदेशमै सीपमूलक शिक्षा दिन तथा उद्यमशीलताको विकास गरी रोजगारीको वातावरण बनाएर युवालाई विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २९ श्रावण २०७३ ०२:४१ शनिबार

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान