कला

घर फर्के रंगकर्मी पोखरेल

काठमाडौं- अचानक अचेत भएर नर्भिक अस्पताल भर्ना भएका रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्केका छन्। मंगलबार राति करिब एक बजे ललितपुर सुनाकोठीस्थित घरमा एक्कासि अचेत भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालको आइसियुमा उपचार गरिएको थियो।

चिकित्सकका अनुसार उनलाई 'सिजर अट्याक' भएको हो। उनको स्वास्थ्य सामान्य छ। ‘अल्कोहल लिनु भएको थिएन,' पत्नी निशा शर्माले भनिन्, ‘निदाइरहनु भएको थियो, अचानक छटपटाउँदै अचेत हुनुभयो।'

शर्माका अनुसार पोखरेलको शरीर कठांग्रियो, दाँत किट्दै बन्द भए, आँखा पल्टाएर मुटुको धड्कन पनि अचानक बन्द भएजस्तै भयो। घरका आफन्तले उनलाई प्राथमिक उपचार गर्दै एम्बुलेन्स बोलाए। प्राथमिक उपचारपछि उनको नाडी र मुटु चल्न थालेपछि अस्पताल पुर्‍याइएको शर्माले बताइन्।

‘राति निकै आत्तियौं, चिकित्सकले यस्तो अट्याक कहिलेकाहीँ हुने बताए पनि रिपोर्ट आएपछि मात्र के भएको हो यकिन थाहा हुन्छ,' उनले नागरिकसँग भनिन्। पोखेरलको स्वास्थ्य अवस्था सुधारिँदै गएको छ। उनलाई चिकित्सकले त्यस्तो अट्याक दोहोरिनसक्ने आशंकामा २४ घन्टे निरीक्षणमा राखे पनि सिटीस्क्यान, इसिजीलगायत विभिन्न परीक्षणको रिपोर्ट सामान्य भएकाले बेलुकी ५ बजे डिस्चार्ज गरे।

रंगकर्मीहरू सुनीललाई रंगमञ्च पुनर्जागरणका प्रमुख अभियन्ता मान्छन्। आरोहण नाट्य समूहका संस्थापक समेत रहेका उनले पुरानो बानेश्वरमा गुरुकुल स्थापना गरी सम थिएटर र रिमाल थिएटर गरी दुइटा नाटकघर सञ्चालनमा ल्याएका थिए। एक दशकसम्म चलेपछि गुरुकुल बन्द भएको थियो।

विभिन्न नाटकमा अभिनय र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाटकसम्बन्धी प्रशिक्षण लिएका उनले भारतको राजधानी नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चमा स्नातक गरेका थिए। दर्जनौं नाटक निर्देशन र अभिनय गरेका पोखरेलले पछिल्लोपल्ट बेलायती नाटककार विलियम सेक्सपियरको नाटक 'अ मिडसमर नाइट्स सपना' निर्देशन गरेका थिए।

पोखरेलले गुरुकुल ब्युँताउने योजना बनाइरहेको उनका विद्यार्थी रंगकर्मी सरिता गिरीले बताइन्। शुक्रबार मण्डला थिएटरमा मञ्चन हुने 'बोक्सीको घर'की नायिका गिरीले भनिन्, ‘उहाँको अस्वस्थताको खबरले हामी चिन्तित छौं।'

पोखरेलको स्वास्थ्य स्थिति बुझ्न उनीलगायत धेरै रंगकर्मी अस्पताल पुगेका थिए।

प्रकाशित: २७ श्रावण २०७३ ०२:५७ बिहीबार

घर फर्के रंगकर्मी पोखरेल