कला

निशा केसीको लघुकथासंग्रह ‘ओजन’ को लोकार्पण

स्रष्टा समाज नेपालको आयोजनामा कथाकार निशा केसीको लघुकथासंग्रह ‘ओजन’ को लोकार्पण भएको छ।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम लगायतले सो कृतिको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले केसीका लघुकथा सिद्धान्तमै केन्द्रित रहेको र समापनले मन-मस्तिष्क झङ्कृत पार्ने बताए।

लोकार्पण कार्यक्रममा ज्ञानु पाण्डे र विवश पोखरेलले कृतिबारे बोलेका थिए। डा. ज्ञानु पाण्डेले संग्रहको कथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्था आदि समेटेको बताइन्।

 साहित्यकार विवश पोखरेलले कथाहरू ओजिलो भएको बताए।

लघुकथा समाजका अध्यक्ष गोपाल अष्कले पछिल्लो समय मुक्तकमा नाम कमाए पनि आफूले केसीलाई सबैभन्दा पहिले कथाकारकै रूपमा चिनेको र उनको पहिलो परिचय कथाकारको नै भएको बताए।

कार्यक्रमको सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले निशा केसीको व्यक्तित्वकै कारण कार्यक्रम भव्य भएको र आफ्नो संस्थाबाट चौत्तीसौं पुस्तकको रूपमा उक्त कृति प्रकाशन गर्न पाएको खुसी पोखे।

कार्यक्रममा मन्दिरा मधुश्री र रिता केसीले संग्रहमा एकएक वटा लघुकथा वाचन गरेका थिए।

कथाकार निशा केसीले आफूले लेखेका केही लघुकथाको रचनागर्भ प्रस्तुत गर्दै लेखन-यात्रामा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वप्रति कृतज्ञता-ज्ञापन गरेकी थिइन्।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा डा. सदानन्द कडेलले स्वागत मन्तव्य दिएका थिए भने मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: २ माघ २०७९ ०८:०२ सोमबार

अक्षर