कला

कृष्णश्री राईको ‘सातै सुरको सरगम तिमी हौ’ सार्वजनिक

साहित्यकार तथा गीतकार कृष्णश्री राईको गीत ‘सातै सुरको सरगम तिमी हौ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

प्रविण बेडवालको आवाज, शंकरसिंह ठकुरीको संगीत र बाबुल गिरीको म्यूजिक अरेन्जमा रहेको उक्त गीतको भिडियो कुमार गजुरेलले निर्देशन गरेका छन्।

सात महिनाअघि ‘स्टुडियो भिडियो’ को रूपमा सो गीत सार्वजनिक गरिएकोमा सोमबार ‘ कुमार गजुरेल’ युट्युब च्यानल मार्फत परिष्कृत म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक जिन्दगी र त्यसले मानिसको जिन्दगीमा सुवासित गर्ने सौन्दर्य समेटिएको उक्त गीतको भिडियोले वर्तमान र विगतलाई प्रेमिल यादको पीडायुक्त धागोले बाँधेको छ।

गीतको कथाले त्यही मीठो स्मृति र याद प्रेमीका लागि वर्तमानमा बाँच्ने आधार रहेको देखाउँछ। चोखो र साँचो मायालाई समय र मृत्युले समेत नामेट नगर्ने मर्मस्पर्शी दृश्य भिडियोमा देख्न सकिन्छ।

सबल बिम्बात्मक शब्दशिल्प, मन्त्रमुग्ध पार्ने सेमिक्लासिकल सुमधुर संगीत र हैरान नै बनाउने संगीत संयोजन र गायकको जादुमय आवाजले राईको गीत उच्च कोटिको बनेको दर्शक तथा स्रोताहरू बताउँछन्।

यस गीतमा गिरी विश्वकर्मा, तुलसी विश्वकर्मा र बालकलाकार लुनिभा श्रेष्ठ लगायतको अभिनय रहेको छ।

प्रकाशित: ३० पुस २०७९ ०४:३५ शनिबार

अक्षर