कला

विलासी गुरुकी निरीह चेली

‘लिना ! तिमी छेउमा बस है,’ बीचमा बस्न असहज मान्दै लिनातिर हेरेर उमाले भन्छिन्।

‘उदय सरको क्लास भयो कि मलाई छेउमा बस भन्छेस् किन हँ ?’ लिनालाई प्रतिक्रियातर्फ ध्यान नदिई उमा भन्छिन्, ‘त्यसै कति सोधिराखेकी खुरुक्क बस न,’ उमालाई बिना कारण त्यसरी झिजो मानेको देखेपछि लिना चुपचाप बस्छिन् र मनमनै सोच्छिन्, ‘आज म स्कुलको छुट्टीपछि यसको कारण सोध्छु।’

कक्षा १० मा गणित विषय पढाउनुहुने उदय सरको क्लास भयो कि हत्तपत्त कोही केटीहरू बेन्चको छेउमा बस्नै मान्दैनथे। कारण सोधुँला भनेर प्रत्येक पटक लिनाले सोचे पनि सधैंझैं भुसुक्कै बिर्सने यही क्रमसँगै एसएलसी परीक्षा नजिकै आएपछि गणित विषयमा ट्युसन पढ्न उदय सरको घरमा जाने कुरा त्यस दिन उमालाई सोध्दा उनी मात्र होइन, अरू साथी पनि केही न केही बाहना बनाउन थालेपछि भने लिना अर्को सेक्सनकी साथी प्रभा राईसँग जान तयार भइन्।  

सरले साँझको समयमा आउन भनेपछि उनीहरू नरदेवी टोलस्थित उदय सरको घरमा ट्युसन कक्षा जाने भए। वैशाख महिना लाग्दा नलाग्दै परीक्षा सुरु भइसक्ने भएकाले माघ महिनाको चिसो त्यसमाथि साँझ पाँच बज्दा नबज्दै अँध्यारो हुन थाल्ने, तापनि लिनालाई लाग्छ– के भो त ? फेरि उदय सरकी छोरी पनि हामीसँगै पढ्छिन्। त्यस हिसाबले साथीको घर पनि त हो।  

घरमा लिनाकी आमाले भनिन्, ‘साँझको बेला किन ट्युसन जान लागिस् ? दिउँसो गए भइहाल्छ नि।’ लिनाको जवाफ थियो, ‘आमा कति डराइराख्नुभएको ? हुर्कंदै बढ्दै गरेकी छोरीलाई होस गर् भनिरहनुपर्ने। तपार्इंहरूको समय जस्तो हो र डराई डराई घरबाहिर जाने अनि बीस वर्ष लाग्दा नलाग्दै घरकाले बिहे गर् भन्दा चुपचाप बिहे गर्न राजी हुने ? मैले बाबासँग सोधिसकें। हुन्छ भन्नुभएको छ। अब आमा मलाई पढ्ने कुरामा किचकिच नगर्नू न।’

‘अलि छिटै आइजा भनेको। बढी कुरा नगर,’ भन्दै आमा कराउँदै गएपछि लिना ट्युसनतिर लागिन्।

त्यसदिन उदय सरले ‘लिना तिमीलाई अलजेब्रा अलि गाह्रो लाग्छ होइन ? यहाँ म नजिकै छेउमा बस अनि राम्ररी बुझिन्छ भनेपछि लिना झन् दङ्ग परेकी थिइन्।

कक्षामा केटी विद्यार्थीप्रति अलि लगाव राख्ने उदय सरको स्वभावबाट अन्जान लिनाले सरको छेउमा हत्तपत्त साथीहरू किन बस्न मान्दैनन् भन्ने वास्तविकता भने उसले ट्युसन पढ्न जाने क्रममा महसुस गर्न थालिसकेकी थिइन् किनकि जो विद्यार्थी उहाँ नजिक बस्न पुग्थ्यो, सिकाउने क्रममा उदय सर केही न केही बहानामा विद्याथीको कुमतिर त कहिले सम्झाएझैं गरी कुम पछाडितिर थाहै नपाएझैं गरी हात पुर्‍याउँथे। यस्तो बानी परेका उदय सरका हात त्यस दिन लिनालाई बुझाउने क्रममा उसको ब्राको स्ट्राइप छाम्दै बिस्तारै ब्राको हुकतिर पुग्न थालेपछि उसलाई निकै असहज नलागेको कहाँ हो र तर डरले केही भन्न सकिन। के गर्नुभएको सर भन्ने हो भने उल्टै मैले के गरें भन्दै प्रतिप्रश्न गर्नुहोला र सबैसामु आफ्नो खिल्ली पो उड्ने हो कि भन्ने डरले लिनाले केही भन्न सकिन।  

उसको छेउमै बसेकी प्रभाले लिनाको मुहार रातो हुँदै असहज मानेको याद गरेकी रहिछिन् र फर्कने बेलामा सोधिहालिन्– ‘होइन लिना, तिमी आजभोलि ट्युसन क्लासमा अनुहार किन रातो बनाउँछ्यौ हँ ?’ अनायास प्रभाको यो प्रश्नले लिना जिल्ल पर्छिन्।

‘हो र, मैले त्यसो गरें र ? मलाई त याद नै भएन,’ केही थाहा नभएझैं सामान्यजस्तो गरी लिनाले जवाफ दिएकी थिइन्। उनको जवाफ पूरा हुन नपाउँदै प्रभा बीचमै बोलिहालिन्, ‘मलाई थाहा छ। किन स्कुलमा पनि सर उस्तै गर्नुहुन्थ्यो ?’

‘के उस्तै भनेको ?’ लिना अझै सामान्य बन्ने प्रयास गरेको देखेपछि भने प्रभालाई हुनसम्म झोंक चल्छ। 

‘हेर लिना ! तिमी कुरा पचाएर नगर। तिमीलाई त भर्खर भर्खर उदय सरको हात कहाँ कहाँ पुग्छ भनेर थाहा भयो। हामीलाई पहिले नै थाहा थियो। अस्ति त झन् मेरो ब्राको स्ट्राप तानिदिनुभयो। मैले त त्यसबेलै सरको हात झट्काई दिएँ। सरले केही थाहा नपाएझैं गरेपछि म पनि चुप लागें। यस्तो प्रवृत्ति सबै सरमा हुँदैन। हेर न अन्य सरले हाम्रो गल्तीमा गाली गर्नुहुन्छ तर कहिल्यै पनि उदय सरले झैं बुझाएजस्तो गरी केटी विद्यार्थीको शरीरतिर हात त लैजान्नन्। होस्, अब धेरै दिन छैन। फाइनलपछि यो सरको मुख हेर्नुपर्दैन।’

फर्कने बेलामा बाटोभरि यही कुरा गर्दैगर्दा लिनाले बल्ल बुझिन् र मनमनै भनिन्, ‘ए त्यसैले पो रहेछ उमा यो सरको क्लासमा बेन्च छेउमा बस्न नमान्ने। अब ट्युसन बीचैमा छोड्न पनि मिलेन। घरमा के भन्ने। भइहाल्यो, प्रभाले भनेझैं केही दिन हो, त्यसपछि त यो सरसँग पढ्नै परेन।’

‘ओइ लिना ! रमेश सरले फ्ल्यास ड्राइभ देऊ। तिमीलाई यो च्याप्टरको सबै पढ्न सजिलो हुने गरी स्टडी मटेरियल राखिदिन्छु भन्नुभयो भने नदे है। ओइ, सुनिस् होइन,’ मानवशास्त्र एमए पहिलो वर्षमा अध्ययन गरिरहेकी लिनालाई उनीपछाडि बेन्चमा बस्ने सविना कार्कीले क्लासको ब्रेक टाइममा यस्तो भनेपछि सँगै उभिइरहेकी विमलाले बीचमै बोलिहालिन्। ‘रमेश सरले तिम्रो फ्ल्यास ड्राइभमा पनि पढ्ने स्टडी मटेरियल भन्दै गजबको कन्टेन्ट राखिदिनुभयो जस्तो छ,’ भन्दै बेसरी हाँस्दै भनेपछि भने सविना अलि भावुक हुँदै बोलिन्, ‘हेर विमला, यो हाँसोमा उडाउने कुरा होइन, बुझिस्।’  

हुन पनि मानवशास्त्र पढाउने रमेश खनाल सर छानी छानी विद्याथीलाई आज पढाएको बुझेनौ भने फ्ल्यास ड्राइभ देऊ, तिमीलाई बुझिने गरी स्टडी कन्टेन्ट सबै राखिदिन्छु भन्ने गर्नुहुन्थ्यो। अनि निकै दिन लगाएर फ्ल्यास ड्राइभ फिर्ता गर्ने र हेर्‍यो भने स्टडी मटेरियलको नाममा अनेक थरी राखिदिनुहुन्थ्यो। त्यसैले बिस्तारै क्लासमा साथीहरूबीच गिज्याउनुपर्‍यो कि रमेश सरलाई फ्ल्यास ड्राइभ देऊ न बोरिङ जान्छ भनेर हाँस्ने बानी परिसकेको थियो। यी सबै कुरामा लिना भने केही प्रतिक्रिया नदिईकन चुप रहन्थिन्। उनलाई यस्ता कुराले विगतमा स्कुलका उदय सरको क्रियाकलापको याद दिलाउँथ्यो।  

ट्युसन र क्लासमा हुने उदय सरको त्यस्तो क्रियाकलापबारे उनले कहिल्यै घरमा मात्र होइन्, अरू कसैसित पनि भनेकी थिइनन्। त्यसमाथि झन् त्यसदिन बहिनीको कान दुखेर डाक्टरलाई देखाउन जाँदा डाक्टरले परीक्षणका क्रममा अरू कहाँ कहाँ दुख्छ भन्दै टिसर्टभित्र हात छिराएर यहाँसम्म दुख्छ ? भनेर बहिनीको स्तनमा हात पुर्‍याएको देखेपछि उसलाई झन् डर लाग्ने गथ्र्याे। हत्तपत्त आफ्नो मनका कुरा नखोल्ने उसको स्वभाव झन् मौन हुन पुगेको थियो।  

त्यस दिन विशेष कक्षा लिन केन्द्रीय क्याम्पस कीर्तिपुरबाट आएका मनोविश्लेषक प्राध्यापक सुरेन्द्र मिश्र सर कोओडिनेटर सुरज केसीको अनुरोधमा कक्षा लिन आउँदा उहाँले त्यस दिन क्लासमा भनेका कुराले लिनालगायत कक्षाका अरू विद्यार्थीभित्र रहेको डर निकै हदसम्म हराउन पुग्यो।

मधुर बोली, मध्यम कद भएका मिश्र सर हातमा मार्कर समाउँदै कक्षामा प्रवेश गरेपछि भन्न थाल्नुभयो– आफूलाई जिज्ञासा लागेको कुरा पनि भन्न सक्नुहुन्छ। केही सोध्न चाहनुहुन्छ कि ? सोध्नुस्।

‘सर, हजुरले हालसालै एक अन्तर्वार्तामा लैङ्गिक हिंसा यौन दुव्र्यवहारका विषयमा भनेका कुरा हेरेकी थिएँ सर। त्यसबारे बताइदिनुस् न,’ सविनाको यो कौतुहलपूर्ण प्रश्नले सबै एकआपसमा मुखामुख मात्र होइन, स्तब्ध भए।

‘धन्यवाद बहिनी ! भनिन्छ– पृथ्वीको आधा आकाश हुन् नारी, जन्मदाता जननी हुन् नारी, जो अनेक भूमिकामा बाँधिएर पनि समाजमा आजपर्यन्त आफ्नो अस्तित्वको लडाइँ लडिरहेकी छिन्। घरपरिवार, समाज, देशका निमार्णकर्ता पनि हुन् नारी। यिनै नारीबाट जन्मिएका पुरुषबाट नै बलात्कृत हुन पुग्छिन् नारी। सहनशीलताकी प्रतिमूर्ति समस्त नारीप्रति सर्वप्रथम मेरो सादर अभिवादन,’ उहाँको यो अभिवादनले वास्तवमै कक्षा कोठाको वातावरण एकाएक शान्त बन्न पुग्यो।

कोलिन्स समाजशास्त्रीय शब्दकोशले कसैले शारीरिक बल, शरीर वा कुनै पनि हतियार प्रयोग गरी मानव शरीर सम्पत्तिमा हानी नोक्सानी पु¥याउने कार्य हिंसा हुन् भनेको छ (पेज ६६८)।  

‘समाजले महिला र पुरुषलाई दिएको भूमिका उसको दायित्व नै जेन्डर अर्थात् लैङ्गिक हो। यो ल्याटिन शब्द ‘जिनस्’बाट आएको हो। समय–स्थानअनुसार लैङ्गिक भूमिका फरक हुन्छन्। महिला र पुरुषबीच भएका शारीरिक बनोटका आधारमा जनाइने शब्द लिङ्ग हो। यो ल्याटिन शब्द ‘सेक्सस्’बाट आएको हो। लिङ्ग अर्थात् सेक्स जुन स्थायी हुन्छन्, जो लैङ्गिकझैं समय–स्थानअनुसार फरक हुँदैनन्,’ मिश्र सर विभिन्न उदाहरण दिँदै बुझाउँदै जानुहुन्छ। जो कसैले पनि अमर्यादित एवम् असहज व्यवहार गर्दा त्यसको प्रभाव व्यक्तिको शारीरिक मात्र नभईकन मानसिक रूपमा समेत पर्छ। हिंसा आफैमा अमानवीय कार्य हो। अहिलेको जल्दोबल्दो विकराल समस्या हो हिंसा।  

सन् १९७० तिर मानव विकासका योजनाहरू थप प्रस्ट पार्न विद्धान्हरूले अघि ल्याएको एक महर्‍वपूर्ण अवधारणा नै लैङ्गिकता हो। सन् १९८० को दशकसम्म आइपुग्दा प्रसिद्ध ब्रिटिस अन्वेषक समाजशास्त्री तथा विश्व प्रसिद्ध लेखिका ऐन ओकलीले मानव विकासको कार्य योजनामा महिलाको भूमिका र यसको अवस्थाबारे अध्ययन गर्न उनीहरूलाई पनि समेट्ने एक मानव विकासको दृष्टिकोणका रूपमा लैङ्गिकता अघि सारे। आज विश्वमा महिला विकास, लैङ्गिक हिंसा, यौन दुव्र्यवहारबारेमा खुलस्त रूपमा चर्चा परिचर्चा गरिनुमा यिनको महर्‍वपूर्ण योगदान रहेको छ।

सन् १९९५ मा युएनडिपीले मानव विकाससम्बन्धी गरेको एक अध्ययन रिपोटमा महिला–पुरुष दुवैलाई समेट्ने गरी मानव विकासका योजना बनाइएन भने विश्व नै संकटमा पर्छ भन्ने तथ्य अघि सारे। विश्वको कुल जनसंख्यामा आधा जनसंख्या महिलाको रहेको छ। त्यसैले पनि महिलालाई पृथ्वीको आधा आकाश हुन् भनिएको हो। अब बाँकी रहेको पुरुषको आधा जनसंख्यालाई मात्र समेट्ने गरी बनाइएका मानव विकासका कार्ययोजना सफल हुन सक्दैन। त्यसैले महिला सहभागिता सहकार्यमा मात्र मानव विकास सफल हुन सक्छ भनिएको छ। समयको गतिसँगसँगै महिलासम्बन्धी विविध पक्षको अध्ययन हुन थाल्यो। विश्वले बिस्तारै समाजमा पुरुषको तुलनामा महिलामाथि हुने हिंसा, यौन दुव्र्यवहारका घटना चर्चामा आउन थाले।  

मिश्र सर एकोहोरो बोल्दै जानुभयो र फेरि भन्न थाल्नुभयो। अब कुरा आयो यौन दुव्र्यवहारको। नेपालमा मात्र नभई विश्वभरि नै यस्ता प्रकारका हिंसा महिला मात्र नभईकन जोकोहीमाथि जहाँ पनि हुन सक्छ। विशेष रूपमा स्कुल–कलेजमा अध्ययनरत भाइबहिनीलगायत नानीहरू यस प्रकारका हिंसाबाट बढी प्रभावित भएका पाइन्छन्। हालसम्म घटेका घटनाका आधारमा भन्दा यौनहिंसा पुरुषमाथि भन्दा महिला तथा बालबालिकामाथि बढी मात्रामा भएको पाइनुका कारण आफूमाथि दुव्र्यवहार हुँदा प्रतिकार नहुनु वा नगरी चुप लाग्नु हो। जसले गर्दा ती व्यक्ति थप प्रोत्साहित हुने गर्छन्। पीडकभन्दा पीडित व्यक्ति स्वयम्ले आफूमाथि भएका दुव्र्यवहारको सबै सामु खुलासा नगर्ने, सकेसम्म परिवारलगायत सबैले के भन्लान् भन्ने डरले आफूमाथि भएका कुनै पनि मानसिक शारीरिक दुव्र्यवहारका कुरा खुलस्त भन्न चाहेमा पनि वातावरण असहज हुने, उल्टै आफूले अपहेलनाको सामना गर्नुपर्ला भन्ने डरजस्ता विविध कारणहरू रहेका छन्।  

प्रायः मानसिक रूपमा विकृत भएका व्यक्ति तथा अत्यधिक यौन चाहना भएका व्यक्तिबाट नै यस्ता प्रकारका मानसिक शारीरिक यौनहिंसा हुने गर्छ। सार्वजनिक यातायात भन्नाले बस, अफिस र स्कुलमा मानसिक हिंसा, यौन दुव्र्यवहार बढी भएको पाउँछौं। पुरुषका तुलनामा महिलामा सहने बानी केही बढी हुनु, अरूका सामु अप्ठ्यारो हुन सक्छ भन्ने भावना हुनु, विरोध गरी नहाल्नुजस्ता कारणले गर्दा पनि मानसिक–शारीरिक यौनहिंसा बढिरहेका छन्। निश्चित रूपमा यो मुख्य कारक हो भनी निक्र्योल गरिएको छैन। यो अध्ययनका क्रममा पाइएका आधारमा भनिएको हो।  

‘सर यसबाट जोगिन के गर्नुपर्ला ?’ लिनाले बीचैमा सोधिहालिन्।

‘यहाँ जोगिने कसरी भन्दा पनि यस्ता प्रकारका दुव्र्यवहार हुन नदिन वा कसैबाट भइरहेको छ भने त्यसलाई सकेसम्म गोप्य राख्नु भनेको उसलाई नजानीकन प्रश्रय दिनु मात्र नभई आफूलाई आफैले मानसिक रूपमा प्रताडित गर्नु हो। गर्दै नगरेको दोषमा भागीदार हुनुजस्तै हो। त्यसैले आफूमाथि कसैबाट अनुचित छुवाइ, अपशब्द, बोली भएका छन् भने आफूहरूले यस्ता व्यवहार भइरहेको देखेर प्रतिक्रियास्वरूप आवाज उठाउने गर्नुपर्छ।’

अब कुरा आउँछ– ठुलाले त विरोध गर्लान् तर मुख्य गरी ससाना भाइबहिनीहरू जो भोलिका देशका भविष्य हुन्, उनीहरूलाई यसबाट कसरी सचेत गराउने ? सर्वप्रथम उनीहरूलाई गुड टच, ब्याड टच अर्थात् हाम्रो शरीरको कुन कुन भागमा अरूले छुनु मात्र होइन, आफूले पनि अरूलाई छुनु गलत कार्य हो भन्ने ज्ञान छोराछोरी भाइबहिनी दुवैलाई दिनुपर्छ। फेरि भाइबहिनीहरूको बढी समय बित्ने स्थान स्कुल–कलेज नै हुन्। अभिभावकले समय समयमा के भइरहेका छन् ? कतै आफ्नाबाट नै पो अप्ठ्यारो व्यवहार भइरहेको छ कि ? भन्ने कुरामा अभिभावक, बुद्धिजीवी वर्ग सचेत रहनुपर्छ। उनीहरूले केही भन्न खोजेझैं लागेमा कुरा सुनिदिनुपर्छ। आफू साथमा छु भन्ने आभास गराउनुपर्छ।  

‘सर, यस्ता यौन दुव्र्यवहारका घटना सार्वजनिक भएर पनि दोषीले सजाय पाएका छन् र ?’ अवन्तिकाले बीचैमा सोधेपछि मिश्रले सर उत्साहित स्वरमा भन्न थाले, ‘दोषी जोकोही, जहाँको भए तापनि ढिलो चाँडो ऊ सजायको भागीदार भएको छ। तिमीहरूले हलिउडका प्रख्यात प्रोड्युसर हार्वी वाइनस्टिनको घटना सुनेका छौ। विश्वभरि ख्याति कमाएका ६४ वर्षका हार्वी वाइनस्टिनले आफ्नो चलचित्रमा काम गर्ने महिला कलाकारमाथि यौन दुव्र्यवहार गर्ने, चलचित्रमा काम दिनेजस्ता अनेक वहानामा बोलाई विशेष गरी २० देखि ४० वर्ष उमेर समूहका महिलालाई आफूसँग यौनकार्यमा लाग्न बाध्य पारेको घटना ती अभिनेत्रीहरूले सार्वजनिक गरे। जसको फलस्वरूप हालै मात्र यिनलाई अमेरिकी उच्च अदालतले दोषी मानी तेइस वर्ष लामो कारावासको सजाय तोकी आज हार्वी वाइनस्टिन जेलमा सजाय काटिरहेका छन्।  

उनीजस्तै अर्का अमेरिकी सञ्चारक्षेत्रका प्रख्यात सञ्चारकर्मी विल कोस्बी अमेरिकालगायत विश्वभरि नै आफ्नो सोमार्फत निकै ख्याति कमाएका कलाकार हुन्। यिनले अफ्रिकी–अमेरिकी संस्कृतिमा महर्‍वपूर्ण योगदान पुर्‍याउनुका साथ यिनले सञ्चालन गर्ने द विल कोस्वी सोमा क्लिफ हक्सटेवलको चित्रणले गर्दा यिनले अमेरिकाका बुबाको उपनाम पाएका थिए तर यिनले पनि हार्वी वाइनस्टिनलेझैं धेरै महिलामाथि यौन दुव्र्यवहार गरेको दोषारोपण लाग्यो। जुन सत्य साबित भएपछि यिनलाई दिएको सम्मान सबै फिर्ता लिई अमेरिकी उच्च अदालतले जेल सजाय तोक्यो।  

यी प्रसिद्ध व्यक्तिले घृणित कार्यको खुलासा सार्वजनिक रूपमा ती अभिनेत्रीले नगरेका भए अझ कति निदोष महिला यिनीहरूको यौन हिंसाको सिकारमा पर्थे होलान्। त्यसैले विश्वलाई नै चकित बनाउने यो घटनाले हामीलाई विशेष गरी स्कुल–कलेजमा अध्ययन गर्ने सानादेखि ठुला दिदीबहिनीमाथि हुन सक्ने यौन हिंसाप्रति सबै सचेत रहन आफूमाथि कुनै प्रकारका यस्ता यौन दुव्र्यवहार भइरहेको छ भने घरपरिवार तथा साथीभाइलगायत सम्बन्धित क्षेत्रलाई जानकारी दिनुपर्छ।

त्यस दिन मिश्र सरको कुरा सुनेपछि लिना आफैसित भन्छिन्– कुनै पनि प्रकारका हिंसा वा यौन दुव्र्यवहार सहनु उत्ति नै गलत रहेछ, जति गर्ने व्यक्ति हुन्छन्। आफूमाथि हिंसा भएको कुरा नलुकाईकन मानसिक रूपमै आफू प्रताडित भएर नबस्ने, कुनै प्रकारको हिंसा भएमा वा आफूले भइरहेको देखेमा परिवार, साथीभाइ जसलाई भन्दा सहज लाग्छ उसैलाई भन्ने गर्नुपर्छ। पीडक पनि यही समाजबाट नै आएका हुन्। उनीहरूबाट डराउन आवश्यक छैन।

प्रकाशित: ३० पुस २०७९ ०२:०१ शनिबार

अक्षर