कला

मिथिलाका कर्नाटवंशी महानायक नान्यदेव

संस्कृति

नौ सय वर्ष जति अघिको कुरो हो। चालुक्य सेनापति कर्नाटवंशी महासामन्त नान्यदेवले तिरहुत जिती राजधानी बनाउन खरखजाना र सबै सरजाम तयार गरी बसेका थिए। उनकी एक दासीको सम्बन्ध लङ्काको एक राक्षससँग रहेछ। राति सम्भोगपछि खुसी पारि उसले यो कुरा आफ्नो प्रेमी राक्षसलाई सुनाइसकेपछि विशाल किल्ला बनाउन कति दिन लाग्ला? भनी सोधिछे।

राक्षसले राजाले हामीलाई जिम्मा बक्से एक रातमै सक्छौं भनेछ। यो कुरा राजाले थाहा पाई स्वीकृति दिएपछि नररूपधारी त्यस राक्षसले आफ्ना भाइबन्धुलाई डाकी एक रातमै सिम्रौनगढको किल्ला तयार पारिदिएछ। यसअघि दिल्ली (इन्द्रप्रस्थका) राजाको नोकरीमा लाग्ने २५/२६ वर्षे नान्यदेव, आमाबुबा र स्वास्नीको मृत्यु भएपछि चित्त उदास भई फकिरी चालले अयोध्या पुगेछन्।

स्वप्नमा उनकी कुलदेवी तुलजाले (श्रीरामले जलमुनि राखी गएको) तुलजा यन्त्र झिकी ल्याई विधिविधानबाट पूजाअर्चना गर्नु भनेअनुसार गरेपछि देवीले स्वप्नमा जनकपुर नजिक जङ्गलमा रहेको ७ इनारमा रहेको गाडधन र नागमणि लिई राज गरेस् भनी मार्गदर्शन दिएको पौराणिक वर्णन भाषा वंशावलीहरूमा पाइन्छ (राजभोग माला, पुरातत्त्व विभाग, २०२३: २६-३३)। टिभी, रेडियो र सामाजिक सञ्जाल नभएको त्यस मध्ययुगमा यस्तो प्रचार-प्रसार गराउनुपर्ने बाध्यता (पछि स्वयम्लाई महाराजधिराज घोषित गर्ने) चालुक्य सेनापति महासामन्त नान्यदेवलाई थियो। त्यस बेलाका प्रजा पनि यस्ता अलौकिक वर्णनलाई अक्षरशः पत्याउँथे पनि तर ऐतिहासिक पुरातात्त्विक प्रमाणका आधारमा स्थापित सत्य तथ्य यस्तो थियो।

नान्यदेवको समय (राज्यकाल सन् १०९७–११४७ तिर) सम्पूर्ण भारत वर्ष विखण्डित र कमजोर थियो। (सन् १०००–१०२६ सम्म) गजनीले मध्यभारतसम्मको लुटपाट गरी कालिञ्जरको अभेद्य मानिने किल्ला फोडेपछि र गुजरातसम्म पुगी सोमनाथको प्रख्यात शिवलिङ्ग तोडेपछि सम्पूर्ण भारतवर्ष स्तब्ध, डर र असुरक्षाको जालमा फसेको थियो। कुनै सशक्त केन्द्रीय र ठूलो राज्य गुप्तकाल र हर्षवर्धनको शासनपछि देखा परेको थिएन।

सन् ७७०–८५५ का बीच, धर्मपाल र उनका छोरा देवपालले समस्त हिमाली क्षेत्रलाई तिब्बतीहरूको शासनबाट मुक्त गराएपछि कालान्तरमा उनका वंशजहरूको राज्य उत्तरी विहार, बङ्गाल र मिथिलामा साँघुरिएर बाँचिरहेको थियो। यस्तो अवस्थामा दक्षिण भारतका विन्ध्याचल दक्षिणका कल्याणीका चालुक्यहरू ठुलो शक्तिका रूपमा उदाएका थिए। रघुवंशी चालुक्य सम्राट सोमेश्वर (प्रथम) का राज्यकालमा उनका माहिला छोरा (पछि राजा भएका) विक्रमादित्य छैटौं (राज्यकाल १०७६–११२६) ले केरल, चोल, मालव र मरु (राजस्थान) सम्म विजय गरेका थिए।

कलिङ, वैगु हुँदै तिरहुत (मिथिला) सम्म उनको सेना पुगेर राज्य खडा गर्न सम्भव भएको थियो। दक्षिण पूर्व बङ्गालतर्फका चालुक्य सेनापति विजयसेन थिए भने गङ्गा उत्तरको विहारको केही भागसमेत मिथिला कब्जा गर्ने सेनापति नान्यदेव थिए। चालुक्य सम्राट् (विक्रमादित्य छैटौं) को महासामन्त (राज्यपाल) का रूपमा नान्यदेवले सन् १०९० तिर उत्तरी विहारका नानपुरमा राजधानी बनाई राज्य सञ्चालन गरेका थिए (ठाकुर डा. उपेन्द्र, सन् १९८० मिथिलाक इतिहास: १४६)।

लगत्तै त्यसपछि चालुक्य सम्राट्लाई कर र सौगात-सलामी दिए पुग्ने अवस्था रहेको र उत्तर भारतमा उनीहरूको नियन्त्रण छुट्दै गरेको मौकाको फाइदा उठाई नान्यदेव आफै राजा हुने प्रयासमा लागेको बेला सिमराको पूर्वी भागमा पर्ने विकट चारकोसे जङ्गलमा माथि वर्णित वनगढ बनाउने प्रयासमा नान्यदेव लागेका थिए। चालुक्य सम्राट्को डरले यो काम गोप्य र अत्यन्त शीघ्र गर्नुपर्ने बाध्यता थियो। त्यसैले गर्दा रातारात अत्यन्त तीव्र गतिमा यो विशाल किल्ला बनिसकेपछि उपरोक्त राक्षसले एक रातमा किल्ला बनाउन लगाएको र गाडधन पाएको कथा गुथ्नुपरेको थियो होला।

हजारौंको जनसहयोगमा रातदिन गरी विश्वकै ठुलोमध्ये एक यो वनगढ १–२ वर्षमै तयार भएको मान्न सकिन्छ। यस विशाल, भव्य र सुदृढ किल्लाको वरिपरि ७ मिटर अग्लो जब्बर पर्खाल शृङ्खला भएको अनुमान गरिन्छ। राजा रामदेवको पालामा त्यहाँ पुगेका भिक्षु धर्मस्वामी, त्यसपछि फादर क्यासियानो र त्यसपछि होब्सनले देखेको वर्णन अनुसार ढुङ्गाको पर्खालवरिपरि अत्यन्त घातक गोही र सर्प रहेका नहर र पोखरी तथा त्यसभन्दा बाहिर अत्यन्त घना जङ्गलको छेकबार थियो। किल्लाभित्रै खानेपानीका पोखरी र खेतहरू थिए। भित्री भागमा बस्ती, देवालय र दरबार थिए। मुख्य बस्ती र दरबार एउटा लामो र ठुलो पर्खालले बनेको भुलभुलैया संरचनाभित्र थियो। यो किल्ला यति विशाल थियो कि यसको संरचनाभित्र बारा जिल्लाका लक्ष्मीपुर, कोतवाली र हरिहरपुरलगायत (तत्कालीन) ८ गाउँ पञ्चायतका केही भाग पर्दथे (यादव, राजन्द्रप्रसाद विसं २०४४ थेसिस सिम्रौनगढको इतिहास:क)।

 यस्ता विजेता मात्र होइन, मिथिलामा कर्नाट वंशका संस्थापक नान्यदेवको राज्य संस्थापनालाई धेरै महत्त्वपूर्ण ऐतिहासिक घटना मान्नुपर्ने र यसबाट मिथिलामा सुरक्षा स्थायित्व र विकासको पुनः आगमनको युगको सुरुवात मान्न सकिन्छ (सिन्हा, डा. सिपिएन, सन् १९७९, मिथिला अण्डर द कर्नाटज: ३४)। मध्ययुगको इतिहासमा नान्यदेव एकाएक देखा परेका थिए। भाषा वंशावलीहरूमा मात्र नेपालमा यिनका बारे केही विस्तृत र गोपाल वंशावलीमा अत्यल्य सूचना प्राप्त छन्। भारतीय इतिहासमा समेत नान्यदेवका पूर्खा, उनीहरूको मूल अमिजन तथा उनका बाल्य र यौवन कालबारेका सूचना शून्यप्रायः छ। नेपालको भाषा वंशावलीमा र मिथिलाका जनआख्यानमा मात्र लुकेर बसेका उपरोक्त प्रकारका अलौकिक र अतिरञ्जित वर्णनहरूलाई हटाई गहन अध्ययन गरी हेरेमा मात्र केही महत्त्वपूर्ण ऐतिहासिक सूचना प्राप्त हुन्छन् तापनि नेपालको मिथिलाको यस गौरवपूर्ण इतिहासको उपेक्षा नै भएको छ।

राजभोगमाला र अन्य वंशावलीका अनुसार अयोध्याको राज्य छुटेपछि केही रघुवंशीहरू महाराष्ट्रसँगको कोकणदेश (कर्नाटक) मा गई बसे। त्यहाँबाट बसाइँ सरेर बाह्रमल्लारका अम्बलमा चन्द्रभागा नदीका किनारमा बस्या। जात सूर्यवंशी, चन्द्रवंशी, चौहान, वैद्य, कच्छर, शुद आदि। ३।४ पुस्ता त्यही बिताया। नयार भन्याको देश अझै चन्द्रभागा नदीको किनारामा छँदै छ। यिनीहरूमध्येको नान्यदेव दिल्लीका (इन्द्रप्रस्तका गहडवाल) राजाको सेवामा लागेको वर्णन माथि प्रस्तुत भइसकेको छ। यी वर्णनहरूमा भन्दा बढी स्पष्ट र विस्तृत वर्णन शिवराज श्रेष्ठ मल्लको सङ्ग्रहमा रहेको वंशावलीमा पाइन्छ। (स्व. धनवज्र वज्राचार्यको रायमा यो वंशावली गोपाल वंशावली जत्तिकै पुरानो हाल अप्राप्य कुनै प्राचीन वंशावलीको आधारमा लेखिएको हो।)

यस वंशावलीका अनुसार नान्यदेवका पुर्खाहरू अयोध्याबाट आई (हालको महाराष्ट्रको दक्षिणी भागको पश्चिम तटवर्ती इलाका) कोकणदेशमा ७-८ पुस्ता बसेपछि उत्तर-पूर्वतर्फ पर्ने तुलजापूजकहरू र राजपूतहरूको केन्द्र निवाड देश (राजस्थानतिर) सरेछन्। केही पुस्ता त्यहाँ बसेपछि राजपुतहरू र अन्यका साथ त्यहाँबाट चन्द्रभागा नदीका किनाराको बाह्रमल्लारका अम्बलमा गई बसेछन्।

निमारबाट यिनीहरू भाडाको सैनिकका रूपमा तिब्बतीहरूलाई हटाउन धर्मपाल, देवपालको सेनामा सम्मिलित भई (दक्षिण भारतको नायर प्रदेशतर्फ होइन) उत्तरी हिमाञ्चल-गढवालको ‘नयार’ नदी उपत्यकातर्फ लागेको अनुसन्धानबाट ज्ञात भएको छ। भाषा वंशावलीहरूमा वर्णित नयार देशको वर्णन कपोकल्पित होइन। कारण त्यहाँ वाह्रस्यूँ, भनिने क्षेत्र र शकहरूको मल्लारी (पुरातात्त्विक महत्त्वको) क्षेत्र रहेको पनि फेला परेको छ। यसै क्षेत्रमा नै चेनाव नदीको मुहानका रूपमा रहेका दुई साना नदी छन् चन्द्र र भागा। यस क्षेत्रमा अझै पनि बस्ने केही परिवारहरू आफूलाई कर्नाटवंशी भन्दछन् भन्ने ठोस प्रमाण पनि भेटिन्छ (डवराज, डा. शिवप्रसाद विसं २०२५, उत्तराखण्डका इतिहास, भाग–२: १५२)। यस क्षेत्रमा हाडा, राठौर, चौहान आदि जनहरूको पनि बसोबास छ। नयार क्षेत्रको मल्लारी शक सभ्यताको प्रभावमा नै नान्यदेवले मिथिलामा शक संवत् चलाएको मान्नु तर्कसङ्गत हुन्छ। यसबाट पनि नान्यदेवको जन्म हिमाञ्चल-गढवालको नयार क्षेत्रमा नै भएको प्रमाणित गर्न मद्दत मिल्ने देखिन्छ।

अतः पृथ्वीनारायण शाहसँग आएका गोर्खाली खस मगर आदिबाट ‘न्यार’ भनिने शैवशाक्त (शस्य ६ थरे नेवारहरूका पुर्खाहरू उपरोक्त ‘नयार’ देशबाटै सिम्रौनगढ आई ५-७ पुस्ता त्यहाँ बसेपछि हरिसिंहदेवसँग भक्तपुर आई काठमाडौं उपत्यकामा फैलिएका हुन्। यी नेवारहरू दक्षिण भारतको ‘नायर’ देशबाट आएका होइनन् (श्रेष्ठ मल्ल, शिवराज, सन् २००४, मिथिलाका कर्नाटवंशीहरू: ३०-५२)। तल प्रस्तुत गल्तीका कारण सिल्भाँ लेभी आदि लेखकहरू नेवारहरू नायर देश (मालावारबाट) आएका हुन् भन्ने गलत निष्कर्षमा पुगेका हुन्।

ठूलो राज्यमा सुशासन र विकास गराउन उनलाई हजारौं विज्ञ, विशेषज्ञ, सेनानायकहरू र प्रशासकहरूको चरम अभाव भएको सजिलै बुझ्न सकिन्छ। त्यसैले भाषा वंशावलीहरूमा उल्लेख भएझैँ सिम्रौगढको निर्माणको क्रममा र त्यसपछि नान्यदेवले लडाकु वर्गका धेरै आफन्त हाल नेवार बिजुक्छे, राजभण्डारी, ग्वंग भनिने राजपूत (हाडा, चौहान, राठौर) र राजाका आफन्त रक्षक हाल जोन्छे भनिनेहरू, महाराष्ट्रका जोशी र आचार्यहरूका साथै समाजलाई चाहिने राजाका भैयाद वैद्यहरूका साथै शिल्पकारहरू, रजत (धोबी) आदि तथा व्यापारीहरू र प्रशासनमा पोख्त व्यक्तिहरूलाई गढवाल-हिमाञ्चलको नयारबाटै र केहीलाई कर्नाटकबाट सिम्रौनगढमा बोलाएका थिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासज्यूको सङ्ग्रहमा रहेको एक दस्ताबेजका अनुसार प्रशासनको जग बसाउन र राजकाज चलाउन धेरै कायस्थहरूलाई पनि नान्यदेवले कर्नाटकबाट बोलाएका थिए। कर्णाटकी भएकाले उनीहरूलाई कर्ण भनिन्छ। पूर्वी तराईमा अझै पनि धेरै राजपूत र कायस्थहरू फैलिएर रहेका छन्।

नान्यदेव र उनका वंशजहरूले पूर्व नेपालमा (सन् १०९७ देखि गयाशुद्दिन तुगलकले सिम्रौनगढ जितेको समय सन् १३२५ सम्म २२८ वर्ष राज गरी पूर्वी नेपाललाई तत्कालीन मुसलमान आक्रमणकारी र शासकहरूको धर्मान्धताबाट बचाउँदै स्थानीय आदिवासीहरूको संस्कृतिलाई अपनाउँदै महान् वैदिक धर्म र संस्कृतिको पुनर्स्थापना गर्दै मिथिलालाई पुनः सुसम्पन्न सुखी र सुशिक्षित पारेका थिए। नान्यदेवका पनाती राजा रामसिंहदेवले त बौद्ध भिक्षुहरूलाई धर्मप्रचारका लागि तिब्बत जान-आउनसमेत ठूलै सहयोग गर्ने गरेका थिए। उपरोक्त विषयहरूमा र मिथिलाका यस्ता ऐतिहासिक महापुरुषहरूबारे थप अनुसन्धान हुनु राष्ट्रियताको सबलीकरणका लागि पनि अत्यावश्यक छ।

(श्रेष्ठ मल्ल इतिहास र संस्कृति विषयका अनुसन्धानकर्ता हुन्।)

प्रकाशित: ३० पुस २०७९ ०१:३० शनिबार

अक्षर