कला

जब यायातिले छोरी दान दिए

काठमाडौं- एउटी महिला कसैकी आमा हुन्छे। कसैकी पत्नी। अनि कसैकी प्रेमिका। यी भूमिकामा सदियौंदेखि हाम्रो समाजका नारी स्थापित छन्। तर उनीहरूले यी भूमिका निर्वाह गर्दा भोग्नुपरेका कठोरतम पीडाहरु अझै पनि उस्तै छन्।

आजका नारीजस्तै पौराणिक पात्र माधवीसमेत प्रेमवश कर्तव्य निर्वाह गर्न बाध्य हुन्छिन्। विश्वामित्रले शिष्य गालवलाई गुरुदक्षिणा वापत आठ सय अश्वमधी घोडा माग्छन्। गालव उक्त घोडा माग्न राजदरबार त्यागेका राजा यायातिको शरणमा पुग्छन्। तब सुरु हुन्छ, माधवीका प्रेम र दुर्दशा।

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक 'माधवी'को कथा हो यो। घोडा दिन नसकेपछि यायातिले छोरी दान दिन खोज्दै भन्छन्, ‘मेरी छोरी सुम्पिन तयार छु। जसलाई पाएर जुन राजाले पनि तिमीलाई अश्वमेधी घोडा दिनेछन्।'

माधवी आफ्नो बाबुको वचनलाई निर्वाह गर्ने क्रममा गालवसँग जान बाध्य हुन्छिन्। अयोध्याका राजा हर्यश्चको दरबार जाँदै गर्दा बाटामा गालव र माधवीबीच प्रेमको बिजारोपण हुन्छ। चिर कौमार्यको वरदान पाएकी माधवी चक्रवर्ती राजा जन्माउन सक्ने क्षमता बोकेकी राजशी कन्या हुन्छिन्। उनका पिता, प्रेमी र राजा सबै माधवीले सुख पाएको हेर्न चाहन्छन्। तर उनीहरुका स्वार्थमा बिनाकारण माधवी जेलिन पुिग्छन्।

‘म तिमीलाई सुखी देख्न चाहन्छु,' गालवले नाटकको मध्यतिर माधवी फकाउँदै बोल्छन्। 'मेरो बुबा हजुर पनि मेरो खुसी चाहनुहुन्छ, राजाहरु पनि मेरो खुसी चाहन्छन्,' माधवी गालवलाई जवाफ फर्काउँछिन्, ‘तर म कसरी खुसी हुनु?'

माधवीले साँच्चै चक्रवर्ती राजा जन्माएर राजदरबारको सुखसयल भोग गर्छिन्? वा गालवसँगको प्रेमलाई अँगालेर प्रेमपथमा रमाउँछिन्? उनको जीवन, प्रेम र कर्तव्यको डोरीले कस्ताकस्ता परिस्थितिमा उनलाई पुर्‍याउँछन्।

टंक चौलागाईंद्वारा निर्देशित नाटक 'माधवी'ले यी जिज्ञासा शान्त गरिदिन्छ। थिएटर प्रज्ञाले आफ्नो प्रस्तुतिको सुरूवात गर्दै 'माधवी' मञ्चन गरेको हो। भारतीय लेखक भीष्म साहानीले लेखेको नाटकलाई निर्देशक चौलागाईले नेपालीमा रुपान्तरण गरेर मञ्चन गरेका हुन्।

नेपालका साहित्यकार मदनमणि दीक्षितले पनि यही कथामाथि 'माधवी' पौराणिक उपन्यास लेखेका छन्। तर चौलागाईंले साहानीकै नाटकलाई मञ्चन गरेका हुन्। ‘माधवी हिन्दुधर्मशास्त्र ऋग्वेदको एउटा पाटो हो,' निर्देशक चौलागाईंले भने, ‘जसलाई मैले नेपाली नाटक बनाएर दर्शकलाई देखाएको छु।'

मञ्चन सुरु भएदेखि नै दर्शकको हाउसफल उपस्थिति रहेकोले नाटक समूहको हौसला बढेको छ। ‘साढे दुई घन्टाको थियो नाटक,' उनले भने, ‘दर्शक निदाउँलान् भनेर साढे एक घन्टामा झारे।' तर अहिले दर्शकको रुचि देख्दा साढे दुई घन्टा पनि कम हुने उनी देख्छन्। एक त पुरातन कथावस्तु। दोस्रो वजनदार पात्रहरु र उनीहरुका संवाद।

'माधवी' नाटक एउटा क्लाइमेक्समा आएर टुंगिन्छ। जसले यसपछि के भयो होला भन्ने हुटहुटी दर्शकका मनमा जाग्छ। त्यसैले दर्शकहरु बाँकी कथालाई ऋग्वेद र दीक्षितको 'माधवी' उपन्यासमा खोज्न प्रेरित भएका छन्।

चौलागाईंलाई 'माधवी' नाटक आफैं लेख्न मन थियो। तर आफैं लेख्दा तत्काल भनेजस्तो नहोला कि भन्ने उनलाई डर भयो। त्यसैले उनले भारतीय लेखकका नाटकलाई अनुवाद गरेका हुन्।

‘गहन विषयमा पनि नाटकका दर्शक छन् भन्ने कुरा 'माधवी' हेर्न आएका दर्शकको भीडले प्रमाणित भयो,' चौलागाईंले थपे, ‘पौराणिक विषय भए पनि अहिलेको समयलाई समेत सान्दर्भिक रहेकोले दर्शकले रुचाएको हुनुपर्छ।'

कथाकी मूख्य पात्र माधवीका रुपमा कलाकार अर्चना पन्थी छाएकी छिन्। उनले अभिनयमा आफ्नो सम्भावनालाई फराकिलो बनाएकी छन्। गालव बनेका घिमिरे युवराजको संवाद बेलाबेला अलि छिटो दौडेकोझैं लाग्छ। एक मुनिपुत्रमा हुनुपर्ने विनम्रता र धैर्यता उनमा अभाव छ। यायाति बनेका जीवन बरालले आफ्नो भूमिकामा न्याय गरेका छन्। दिवोदासको भूमिकामा देखिएका सरोज अर्यालले पनि दर्शकको वाहवाही लुट्न सक्छन्।

साउन ३१ सम्म चल्ने नाटकमा प्रदीप रेग्मी, किशोरकुमार चौलागाईं, राम केएसी, सविन कट्टेलले पनि अभिनय गरेका छन्।

प्रकाशित: २१ श्रावण २०७३ ०३:३७ शुक्रबार

जब यायातिले छोरी दिए