कला

डेनमार्कमा गुन्जियो 'नेपथ्य'

कोपेनहेगन- नेपालको लोकरक ब्यान्ड नेपथ्यले डेनमार्कको कोपेनहेगनमा कन्सर्ट दिएको छ। स्थानीय आमाबियो हलमा मंगलबार भएको कन्सर्टमा दर्शक अन्तिम क्षणसम्म नेपथ्यका प्रस्तुतिमा रमाइरहे। डेनमार्कका बसोबास गरेका नेपालीमात्र होइन स्थानीय नागरिकहरुको पनि कन्सर्टमा उपस्थिति थियो।

'कस्तो सकारात्मक उर्जाको प्रवाह, ब्यान्ड र दर्शकको सम्बन्ध गजबको थियो,' सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा 'चिफ अफ मिसन' रहेका गर्ट मेनिकीले भने। उनी साथी र परिवारको राम्रै उपस्थितिका साथ कन्सर्टमा आएका थिए।

पछिल्लो समय नेपाली विद्यार्थीमाझ डेनमार्क लोकप्रिय शैक्षिक गन्तब्य बन्दै आएको छ। यो लोकप्रियतासँगै यहाँ पढ्न आउने विद्यार्थीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ।

'जुन सहरमा नेपालीहरुको संख्या नै केवल २५ सय हुन्छ, त्यस्तो ठाउँमा नेपथ्यजस्तो ब्यान्डको कन्सर्ट आयोजना गर्नु कम्ती चुनौतीपूर्ण हुँदैन,' आयोजक आइएनएसका तर्फबाट कार्यक्रम संयोजक रविन्द्र खड्काले भने, 'दोस्रो पुस्ताका नेपाली बढेसँगै हामीले सबैलाई केटाकेटीसमेत लिएर नेपथ्यको कार्यक्रम हेर्न आउन अनुरोध गरेका थियौं जसले गर्दा भावी पुस्ताले विश्व स्तरको हाम्रो आफ्नै ब्यान्डलाई पनि अनुभूत गर्न सकून्।'

ब्यान्डका गायक अमृत गुरुङले कोपेनहेगनको मञ्चबाट नेपालले अहिले बेहोरिरहेको संक्रमणकाल उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई धेरै ढिलो हुनुभन्दा अगावै केही गरिहाल्न एकपटक सचेत गराए। 'विश्वका महत्वपूर्ण स्थानमा पढेलेखेका र संसार देखेका तन्नेरीहरु जाग्नुभन्दा अगावै म हाम्रा नेताहरुलाई सकारात्मक पाइला चाल्न अनुरोध गर्छु,' अमृतले भने।

कार्यक्रम सदाबहार नेपथ्यका पुराना हिटहरु 'छेक्यो छेक्यो', 'हिमाल चुचुरे', 'रेशम', 'तालको पानी' हुँदै भर्खर रिलिज भएको 'कोशीको पानी यो जिन्दगानी'बाट अघि बढेको थियो। नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको 'गाउँ गाउँबाट उठ' र 'रातो र चन्द्रसूर्य' पनि यो सूचीमा समावेश थियो।

'यसपटक युरोपको दुइटा प्रस्तुतिसँगै नेपालीहरु थोरथोरै संख्यामा रहेका सहरमा पनि सफल कन्सर्ट आयोजना गर्न सकिँदोरहेछ भन्ने अनुभव प्राप्त भएको छ,' नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए, 'अब यस किसिमका आयोजनालाई निरन्तरता दिने भएका छौं।'

पहिले पनि नेपालका सन्धिखर्क, तम्घास, फिक्कल जस्ता मसिनो बसोबासको क्षेत्रमा नेपथ्यलाई प्रस्तुत गर्दैआएकामा अब युरोपलगायत विश्वका विभिन्न भागमा समेत यसैगरी थोरै संख्यामा रहेका नेपालीसम्म आफ्नो प्रस्तुति बढाउने श्रेष्ठले जानकारी दिए।

पहिलो अल्बम रिलिज भएका मितिले नेपथ्य ब्यान्ड २४ औं वर्षमा टेक्दैछ। गायक गुरुङले भने, 'मुलुकभित्र र बाहिरका दर्शकहरुबाट पाउँदै आएको माया र हौसलाका निम्ति म आभार प्रकट गर्छु।'

आफूले सधैं कति ठूलो दर्शकभन्दा पनि कति धेरै माया पाइरहेको छु भन्ने कुरालाई महत्व दिँदै आइरहेको बेला अब नेपालीहरु फैलिएका ससाना घेरामा पुग्ने जानकारीले थप उत्साह भरेको पनि अमृतले बताए।

कोपेनहेगनको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए।

प्रकाशित: २१ श्रावण २०७३ ०३:३५ शुक्रबार

डेनमार्कमा गुन्जियो नेपथ्य