कला

भेनिसमा छानियो दुई नेपाली फिल्म

काठमाडौं- इटालीमा हुन लागेको ७३ औं भेनिस फिल्म फेस्टिभलमा यसपालि पनि नेपाली फिल्म छनोट भएको छ। पोहोर मीनबहादुर भामद्वारा निर्देशित 'कालो पोथी' छानिएको फेस्टिभलमा यसपालि दीपक रौनियारको 'ह्वाइट सन' र विभूषण बस्नेत तथा पूजा गुरुङको सर्टफिल्म 'दद्या'ले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। भेनिस संसारकै सबैभन्दा पुरानो र सर्वाधिक प्रतिष्ठित पाँचको सूचीमा पर्ने फिल्म फेस्टिभल हो।

फेस्टिभलको आधिकारिक वेबसाइटमा बिहीबार सार्वजनिक गरेको सूची अनुसार दुवै फिल्म 'ओरिजान्टी' सेक्सनमा छनोट भएको हो। यो भेनिसको 'अफिसियल सेलेक्सन'अन्तर्गतकै सेक्सन हो। अघिल्लो वर्ष 'कालो पोथी' स्वतन्त्र समूह 'इन्टरनेसनल क्रिटिक्स विक'मा छानिएको थियो।

८७ मिनेट लामो फिल्म 'ह्वाइट सन'ले द्वन्द्वकालपछिको समयमा फरक आस्था राखेका दुई भाइको मनमुटावको कथा उठाएको छ। बुवाको अन्तिम संस्कारका लागि एक दशकपछि गाउँ फर्केको चन्द्रले आफ्नो गाउँ, समाज र छरछिमेकका समस्याको समाधान खोज्ने प्रयास गर्छ।

फिल्ममा दयाहाङ राई, आशा मगराती, रविन्द्रसिंह बानियाँ, सुमी मल्ल र अमृत परियारको मुख्य भूमिका छ। 'भेनिसमा मेरो फिल्म छानिनु भनेको नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण एक कदम अगाडि बढ्नु हो,' निर्देशक रौनियारले भने, 'भेनिसको सहभागिताले नेपाली फिल्म र नेपालकै प्रवर्द्धन हुनेछ भन्ने मेरो विश्वास छ।'

सात वर्षअघि एक माओवादी पूर्व छापामार र सैनिक जवानबीचको भलाकुसारीबाट प्रभावित भई फिल्मको कथा तयार पारिएको उनले बताए। 'द्वन्द्वकालपछिको नेपाल कस्तो छ र यहाँ कस्तो संवाद भइरहेको छ भन्ने कुरा प्रवाह गर्न मैले यो फिल्म बनाएको हुँ' उनले थपे।

'ह्वाइट सन'मा अमेरिका, नेदरल्यान्ड र कतारका फिल्म संस्थाहरुको समेत लगानी छ। रौनियारको पहिलो फिचर फिल्म 'हाइवे' सन् २०१२ को ६२ औं बर्लिन फिल्म फेस्टिभलमा छानिएको थियो। फिल्म पत्रकारिताबाट फिल्म निर्माणमा आएका उनले त्यसअघि सर्टफिल्म 'चौकठ' र 'पूजा' निर्देशन गरेका थिए।

जुम्लाको सिन्जामा खिचिएको १७ मिनेट अवधिको 'दद्या' विभूषण र पूजाको दोस्रो सर्टफिल्म हो। उनीहरुले बनाएको अघिल्लो सर्टफिल्म 'द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट' पनि केही स्वदेशी तथा विदेशी फिल्म फेस्टिभलहरुमा चर्चा कमाउन सफल भएको थियो।

जुम्लाको विकट गाउँमा दुई बुढाबुढीले आफ्नो एक्लोपनलाई कसरी सामना गर्छन् भन्ने कथा 'दद्या'मा छ। आफूहरुको फिल्म छानिएकोमा खुसी व्यक्त गर्दै निर्देशक पूजाले भनिन्, 'अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपाली फिल्महरु छानिनु भनेको अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको चासो र रुचि बढिरहेको छ भन्ने कुराको सन्देश पनि हो।'

११ दिने भेनिस फिल्म फेस्टिभल आगामी अगस्ट ३१ मा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा पछिल्लो समय भइरहेका कलात्मक अभ्यासलाई प्रतिविम्बित गर्ने फिल्महरु 'ओरिजान्टी' सेक्सनमा छानिएको आयोजकले जनाएको छ। यो प्रतिस्पर्धी सेक्सन हो।

गत वर्ष 'एभरेस्ट' फिल्मको प्रदर्शनीबाट सुरु भएको फेस्टिभलको उद्घाटन यसपालि अमेरिकी फिल्म 'ला ला ल्यान्ड'बाट हुनेछ। फेस्टिभलमा प्रमुख निर्णायकको जिम्मेवारी 'अमेरिकन ब्युटी', 'स्काई फल' र 'स्पेक्ट्र'जस्ता फिल्मका बेलायती निर्देशक स्याम मेन्डेसले सम्हाल्दैछन्।

प्रकाशित: १४ श्रावण २०७३ ०४:३२ शुक्रबार

भेनिसमा छानियो दुई नेपाली फिल्म