कला

युरोपका दुई देशमा नेपथ्य

काठमाडौं- नेपथ्य समूह जर्मनी र डेनमार्कको सांगीतिक भ्रमणमा बुधबार प्रस्थान गरेको छ। जर्मनीको ह्याम्बर्ग र डेनमार्कको कोपेनहेगनमा समूहको कन्सर्ट आयोजना हुँदैछ। आगामी जुलाई ३० मा ह्याम्बर्ग र अगस्ट २ मा डेनमार्कको कोपेनहेगनमा नेपथ्यले गाउनेछन्। जर्मनी र डेनमार्कमा नेपथ्यले कन्सर्ट दिन लागेको पहिलोपटक हो। 'नेपाली डायस्पोराको फराकिलो घेरा समात्दै नेपथ्यको निम्ति बिल्कुल नयाँ मुलुकमा प्रस्तुत हुन लागेकोमा म उत्साहित छु,' नेपथ्यका  गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, 'श्रोतादर्शकसँग हामी रमाइलो मात्र होइन आफ्नो देश र समाजका चर्चा पनि गर्नेछौं।'

अमृत गुरुङ गायनमा जत्तिकै पैदलै मुलुकका कुनाकाप्चामा पुगिरहने यात्रीका रुपमा पनि परिचित छन्। उनले हालसम्म ७३ जिल्लाको भ्रमण गरिसकेका छन्। यसरी यात्रा गर्दा उनले अनुभव र संकलन गरेका गीतका भाकाहरु नै नेपथ्यको मेरुदण्ड बन्दै आएको छ।

'पदयात्रा र कन्सर्टमा उभिएर गाउनु  यी दुई कुराले नै मलाई उर्जा दिइरहेको छ,' अमृत भन्छन्, 'पैदल यात्रामा भोगेका अनुभवहरुले मलाई थप नयाँ गन्तब्य तय गर्न उर्जा दिइरहेको हुन्छ भने हरेक लाइभ कन्सर्टमा दर्शकसँगको अन्तर्क्रियाले मेरो सांगीतिक उडानमा इन्धन भर्दै लैजाने गरेको छ।'

'युरोपको यो संक्षिप्त भ्रमणमार्फत् हामीले थोरथोरै नेपाली बसोबास रहेका स्थानहरुमा पनि नेपथ्यको पहुँच बढाउन सुरुगरेका छौं,' नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'ब्यान्डसँगको १५ वर्षे सहकार्यमा हामीले यसलाई मुलुक भित्रैका पचास साना ठूला बस्तीसम्म पुर्‍याउन सफल भइसकेका छौं।'

मुलुकभित्रमात्र नभई बाहिर पनि नेपालीहरुको संख्या मात्र नहेरेर नेपथ्य र उसका दर्शकहरुको सम्बन्धको क्षितिजलाई अझ फराकिलो पार्दै लैजाने लक्ष्य आफूहरुको रहेको किरण बताउँछन्।

ह्याम्बर्गको प्रस्तुतिलाई तमु समाजले र कोपनहेगनको कार्यक्रम 'इन्टरनेसनल नेप्लीज आर्टिस्ट सोसाइटी'ले गर्न लागेको हो।

प्रकाशित: १४ श्रावण २०७३ ०४:३० शुक्रबार

युरोपका दुई देशमा नेपथ्य