कला

वयोवृद्ध कलाकारको परिपक्व कला

यसपल्टको आलेख नितान्त पृथक रूपमा छ। मूलतः यो आलेख एक जना वयोवृद्ध, पाको, वरिष्ठ कलाकारको विषयमा छ। सँगसँगै उनबारे लेखिएको विशेष पुस्तकका बारेमा चर्चा गर्ने ध्येय पनि हो। नेपाली कलामा निरन्तर आजका दिनसम्म पनि योगदान पुर्‍याउँदै आएका यी मूर्धन्य कलाकारसँगसँगै यो पुस्तकको पनि चर्चा गर्नु नै पर्ने सन्दर्भ चाँहि यो पुस्तकको बडेमानको आकार, यस पुस्तकभित्र समेटिएका विषय, प्रस्तुति आदिले गर्दा पनि हो। विशेष गरेर नेपाली समसामयिक कलाका पुस्तकहरू जति पनि प्रकाशनमा आए, यीमध्ये यो पुस्तक एक अलग स्वरूप र प्रकृतिको हुनुले पनि यसको चर्चा–परिचर्चा समय–सान्दर्भिक भएको पनि हो।

कलाकारकै अनुसार मूलतः सर्वसाधारणका लागि अझ यो पुस्तकलाई व्यापक जनसमुदायमा पुर्‍याउन नयाँ दिल्लीका आदर्श बुकलाई जिम्मा लगाइएको छ। अहिले बजारमा उपलब्ध भएको पुस्तक यही नै हो। बजारमा यसको मूल्य २४ हजार रूपैयाँ राखिएको रहेछ। अझ यसभन्दा महŒवपूर्ण सन्दर्भ त यसअघि नै अझ स्तरीय कागज, छापाचित्रले सुसज्जित भएको यही पुस्तक ‘सोसियल साइन्स’ उनले काठमाडाैं महानगर, नेपाल सरकारका लागि प्रकाशनमा ल्याएका थिए। जुन अत्युच्च स्तरीय विदेशी पाहुनालाई नेपालका तर्फबाट विशेष उपहारका रूपमा दिन तयार पारिएको थियो। यसअघि पनि कलाकारका विहङ्गम कला प्रदर्शनीहरू चाहिँ भइ नै रहेका छन्, साथै यस्ता साना ठुला क्याटलगहरू निक्लेका पनि हुन्। तर यसपल्ट प्रकाशनमा आएको यो भीमकाय पुस्तकले भने छुट्टै अर्थ राख्छ।

८६ वर्ष काटिसकेका यी वयोवृद्ध, पाका कलाकार हरिप्रसाद शर्मा हुन्। यी कलाकारले नेपाली समसामयिक कलाको एक निश्चित कलागत धारमा एउटा अलग इतिहास खडा गरेका छन्। नेपालको कलाको विकासमा सन् १९३० को उत्तरार्धमा पश्चिमी कला पद्धत्तिले संस्थागत रूपमै दखल दिएको इतिहास छ। यसअघि अलि कमबेंसी बाह्य कलाले प्रभाव पारे पनि एक अलग कलागत स्वरूपले स्पष्ट आकार लिन सकिरहेको थिएन। यस बेला नेपालका मूर्धन्य कलाकारद्वय चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकार कलकत्ताको गभर्मेन्ट स्कुल अफ आर्टबाट कलामा पहिलोपल्ट विधिवत कला–शिक्षा हासिल गरेर नेपाल फर्केका थिए। पश्चिमी कलाका प्रवृत्ति, प्रविधि, दर्शन विश्वमै स्थापित भइसकेको कला पाठ्यक्रमबाट यी कलाकारद्वय दीक्षित हुन पुगेका थिए। यी दुई कलाका हस्तीहरूले नेपाल फर्केउपरान्त सिर्जना गरेका कलाहरू नितान्त पृथक रूपमा देखिनु स्वाभाविक नै थियो। यी कलाकारहरू नेपाल फर्केपछि पश्चिम कलाको पद्धति, चित्र सिर्जना गर्ने माध्यम, संयोजन, संगठनदेखि पश्चिमी–टेक्निक आदिमा नितान्त नौलो प्रकारका चित्रहरू निर्माण हुन थालेपछि नेपालको कला इतिहासमा दुई किसिमका कलाका स्पष्ट धारहरू विकसित हुन पुगेका थिए। एउटा परम्परागत कला अर्को समसामयिक भनिने यो कला। सम्भवतः यसै बेलादेखि जुद्धकला पाठशाला जुन त्यसबखत नेपालको एक मात्र कला सिकाउने स्कुल थियो। यसैमा पनि पश्चिमी पद्धतिअनुसारको पाठ्यक्रमको शुभारम्भ भइसकेको थियो। रमाइलो सन्दर्भ भनेको हरिप्रसाद शर्माले यसै कलास्कुलमा अध्ययन गरेका थिए।  

यस बेलाका कलाहरू परम्पराभन्दा अलग देखिएका र पश्चिमी कला–पद्धत्तिले यथेष्ट मात्रामा दखल दिएका कारणले पनि यसलाई समसामयिक कला भन्न थालियो। तथापि सिर्जना गर्ने प्रविधि पश्चिमी भए पनि चित्रको विषयचाहिँ नेपाली विषयमा आबद्ध भएका हुन्थे। नेपाली परम्परागत चित्रकलाको विधिविधानभन्दा अलग्गै रूपमा आकृतिमूलक चित्र बनाउने परम्परा यी कलाकारहरूले सुरु गरेका थिए। हाम्रै संस्कृति, संस्कार र दिनचर्यालाई कलाकारले कल्पनामा बुनेर कलाको सिर्जना गर्ने गर्थे।  

रंगभन्दा पनि रेखाहरूलाई प्राधान्यमा राखेर ससाना अवयवहरूलाई पनि समावेश गरी यथार्थजस्तो तर काल्पनिक परिदृश्य बढी मात्रामा यी चित्रहरूमा दृश्यावलोकन हुने गथ्र्यो। यसो हँुदा यस्ता चित्रहरू एक अलग शैलीका रूपमा देखिन गएको थियो। हाम्रो आफ्नै संस्कृति, संस्कार आदिलाई आधारभूमि बनाएका यस्ता चित्रहरू नितान्त नेपाली मौलिक कलाको विशेषताले भरपुर भरिएका हुन्थे। जसलाई अलिकति पश्चिमी कलागत भाषामा भन्नुपर्दा अलिकति स्वच्छन्दवादी, अलिकति यथार्थवादीको प्रभावमा विकसित भएको भन्न सकिन्थ्यो। यसो भए तापनि नितान्त नेपालीपनका साथ यो कलाको शैली देखिँदा यस बखत नेपाली समसामयिक कलाले नौलो मोडको प्रारम्भ भएको भन्न सकिन्छ। यस बखत केही कलाकारले यो कलाको शैलीलाई पछ्याए पनि यसलाई कसैले निरन्तरता भने दिएनन्। यसपछि यो नेपालको कला–स्कुलिङ हराएजस्तो भयो। यस्तो अवस्थामा हरिप्रसाद शर्मा मात्र एक जना यस्तो कलाकार देखा परे, जसले यो कलाको शैली (स्कुलिङ) लाई अपनाए, जीवन्त राखे र आजको दिनसम्म पनि अनुशासनबद्ध भएर पालना गरिरहेका छन्। अहिले पनि उनको कलामा यो नेपाली मौलिक कलाशैली बाँचिरहेको देख्न सकिन्छ। उनले यसैमा नेपाली प्राचीन, माध्यमिक कलाको ऐतिहासिक, राजनैतिक घटना, सामाजिक अवस्थालाई, समुदायको दिनचर्या, चाडपर्व, जात्रा आदिलाई थप अध्ययन गरी यसैको प्रतिबिम्बका रूपमा चित्रहरू बनाए। जसले गर्दा सुनमा सुगन्ध थपिएझैं गरेर आफ्ना कलाको सिर्जना गर्दा यसले नेपाली समसामयिक कलाको इतिहासमा नितान्त नौलो धार स्थापित हुन गएको देखिन्छ।  

नेपाली आधुनिक कलाको पूर्वसन्ध्याको यो कलाशैली यसकारण पनि महत्वका साथ स्थापित भएको देखिन्छ। यसलाई अलग्याएर नेपाली आधुनिक कला वा उत्तरआधुनिक कलाको व्याख्या विश्लेषण गर्न सकिँदैन। यसै शैलीमा निरन्तर लागिरहन त्यस बेलाका अन्य मूर्धन्य कलाकारहरू आज जीवित छैनन्। यस अर्थले पनि यी वयोवृद्ध कलाकार हरिप्रसाद शर्माको महत्ता अझ बढेर गएको छ। उनैका बारेमा यस्तो गहकिलो पुस्तक निकाल्ने काम आफै पनि उनीमाथि गरिएको सम्मान, आदरभाव प्रकट हुन पुगेको देखिन्छ। यसैले पनि यो पुस्तकले थप महत्ता बोकेको भान हुन्छ। कलाकार हरिप्रसाद शर्मा ८६ वर्ष पार गरिसक्दा पनि निरन्तर कला सिर्जनामा व्यस्त छन्। कलाहरू निरन्तर सिर्जना गर्दैगरेको देखिन्छ। आफ्नै घरको तीनचार तला उक्लेर जानुपर्ने माथिल्लो तल्लाको एउटा सानो कोठामा उनले आफ्नो स्टुडियो बनाएका छन्। बीच तलाको बडेमानको ठुलो हलमा दर्जनौं उनका कलाहरू टाँगिएको एउटा व्यवस्थित कला दिर्घा देखिन्छ। उनको कला–स्टुडियोकै बाहिरपट्टि खुला कौसी छ। टन्न घामले बिहानैदेखि साँझसम्म दर्शन दिइरहेको यो घमाइलो तातोपनले पनि कलाकारको जाँगर अझ पलाएकोजस्तो देखिन्छ। अहिलेको जाडोको मौसममा अलिकति मुड आउँदा आफ्नो स्टुडियोतर्फ अनि चिसो चिसो हुँदै जाडोजस्तो लाग्दै गएपछि यसो बाहिर घाममा पनि आउन मिल्ने अवस्थाले गर्दा पनि आज यी पाका कलाकार हरिप्रसाद शर्मा निकै नै सक्रिय बनेका देखिन्छन्। यो चाँजोपाँचो मिलाउने काम चाहिँ उनैका छोरा डा. विष्णुुप्रसाद शर्मा हुन्। साच्चै भन्नुपर्दा देखिँदामा हरिप्रसाद शर्माले बनाएका चित्रहरू देखिन्छन् तर यो चित्र सिर्जना हुनुमा वास्तवमा यी दुवै बाबुछोराको त्यत्तिकै मेहनत भएको देखिन्छ। यो एउटा बाबुछोराबीचको पे्रम, माया, आस्था र श्रद्धा आदि गाँसिदा पनि आजका दिनसम्म पनि यी पाका कलाकार हरिप्रसाद शर्मा यसरी सक्रिय हुन सकेका हुन्। अहिले उनको सानो कला स्टुडियो अनि यही कला स्टुडियोमा चारैतिर छरिएर रहेका रङका ट्युबहरू, तुलिकाहरू अनि एउटा इजलमा एउटा ठिक्कको क्यानभास, क्यानभासमा अपुरो चित्र बन्दै गरेको पनि देखिन्छ।  

समयक्रममा नेपाल  

आदर्श बुक्स, न्यु दिल्लीले प्रकाशनमा ल्याएको यो ‘समयक्रममा नेपाल’ नामक पुस्तक १९३ पेजको छ। कालो गाता (हार्ड कभर) सहितको एक अलग्गै साइजमा (११ इन्ची वाइ १७ इन्ची) मा देखापरेको यो पुस्तकको स्वरूप पनि अलग्गै अनि अजङ्गकै देखिन्छ। यसै पुस्तकलाई जतनसँग राख्न बनाइएको कालो रङको डब्बाले यसलाई अझ आकर्षण बनाइदिएको छ। पुस्तकभरि जम्माजम्मी अगाडि गातामा भएको समेत गरेर ८७ वटा चित्रहरू छन्। कलाकारले अहिलेसम्म बनाइसकेका चित्रहरू चाहिँ पछाडि विस्तारमा अलग सूचीकृत गरिएका छन्। जुन १७७ वटा रहेका छन्। पुस्तकमा छापिएका चित्रहरू अझ रामरी बुझियून् भन्ने उद्देश्यले चित्रकै अर्को भागमा नेपाली, अङ्ग्रेजी अनि नेवारी भाषामा चित्र सम्बन्धी ऐतिहासिक आलेखलाई लिपिबद्ध गरिएको छ। मूलतः यो कलाको विषयका बारेमा मात्र ऐतिहासिक आलेख हो। यसो हुँदा कलाको प्रकृति, लक्षण, शैली–प्रवृत्ति वा कलाकारको मौलिक विशेषतालाई अनि यसको गुणस्तरको लेखाजोखा चाहिँ अभिलेखन गरिएको देखिँदैन।

पुस्तकको हरेक पेजमा, पेजभरि नै सकभर चित्रकै झझल्को हुनेगरी यी छापा चित्रहरूलाई (बाह्र बाई साढे नौ इन्चीको साइजमा) मिलाएर आकर्षक ढंगले प्रस्तुत गरिएको छ। पछाडिका केही व्यक्ति चित्रहरू चाहिँ अलि सानो साइजमा (सात बाई नौ इन्ची) छन्। सबै चित्रहरू रंगीन छन्। यसले गर्दा पनि यो पुस्तक अझ ओजपूर्ण देखिन्छ। सम्भवतः कुनै पनि कलाकारको यसरी यत्रो ठुलो साइजमा यति बगुन्द्रो कलाका छापाचित्रहरू राखेर पुस्तकहरू प्रकाशनमा आएका छैनन्। नेपाली परम्परागत कला र आधुनिक कलाको सीमाजस्तो भएर देखिने यस्ता चित्रहरू थोरै नौलोपनका साथ देखिन्छ। धेरै जसो चित्रमा सयौं मान्छेहरूलाई विस्तृतमा अनि विविध क्षेत्रमा निर्माण गरिएको कुराको संयोजन छ। अनि यो सँगसँगै रुखपात अन्य वस्तुहरूलाई समेत विस्तारमा चित्रण गरिएको हुँदा भावकहरू यो चित्र हेर्दै पनि अवाक हुन्छन्। यसर्थ पनि यो स्वाभाविक हिसाबमा यी चित्रहरू अलौकिक लाग्छन्। पुस्तकमा प्रिन्ट पनि राम्रो छ। यसो हुँदा चित्रलाई पनि न्याय भएको नै देखिन्छ। सबैभन्दा रमाइलो पक्षचाहिँ यो पुस्तक बोक्नै पनि गाह्रो हुने किसिमको गहकिलो ओजनदार (३ किलोभन्दा पनि बढी तौेल भएको यो पुस्तक) छ।  

यो पुस्तकमा चित्रलाई विविध पाँच खण्डमा राखेर अलग अलग विषयको अलग अलग चित्रलाई समायोजन गरिएको छ। पहिलो खण्डमा इतिहास, (२९ वटा चित्रहरू), दोस्रो खण्डमा संस्कृति (१२ वटा चित्रहरू), तेस्रोे खण्डमा जनजीवन तथा सम्पदा (३३ वटा चित्र), चौथो खण्डमा बुद्धको जीवनी (३ वटा चित्र) र पाँचाैं खण्डमा मुहार चित्र (८ वटा चित्र) छन्।  

रमाइलो पक्ष के देखिन्छ भने यी मुहार चित्रभित्र ८ वटा चित्रमा एकैजसो भावका साथ मुखाकृतिहरू देखिन्छन्। यी आठवटा चित्रमा पाँचांै शताब्दीका राजा मानदेव, छैटौं शताब्दीका राजा अंशुवर्मा, चौधौं शताब्दीका राजा जयस्थिति मल्ल, सोह्रौं शताब्दीका राजा महिन्द्र मल्ल, सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्ल, सत्रौं शताब्दीका राजा प्रताप मल्ल, सत्रौं–अठारौं शताब्दीका अर्का राजा भूपतिन्द्र मल्ल, अठारौं शताब्दीका राजा जयप्रकाश मल्लका व्यक्तिचित्रहरू छन्। भेटेजतिको अभिलेखनको आधारमा (सालिक, शिलालेख, वंशावली आदि) कलाकारले सूचनाहरू सङ्कलन गरी यसैका आधारमा व्यक्तिको मुहारको परिकल्पना गरी चित्रहरू बनाएका छन्। यति गर्दागर्दै पनि चित्रहरू बनाउँदा सबैजसो राजाहरू एकै प्रकारका देखिन्छन्। ठुला ठुला आँखा भएका, खाइलाग्दा उज्यालो अनि जुँगा भएका अनुहारलाई प्रधानताका साथ राखिएको छ। अझ मल्ल राजाहरूको त जुँगाका साथसाथै दाह्री पनि राखिएको छ। सबैजसो राजाहरूको भेषभूषा र गरगहना एकैजसो छन्। सबै राजाहरूले टीका लगाएको देखाइएको छ। राजा मानदेवबाहेक अन्य राजालाई हरिजेन्टर तीन धर्के निधारभरि टीका लगाइएको छ। सबै राजाले कुण्डल लगाएको देखाइएको छ। सबै राजालाई मोतीको माला लगाई सिँगारिएको देखिन्छ।  

नेपालको कला इतिहासमा भारतीय कलाको आरम्भकालदेखि नै प्रभाव परेको छ। लिच्छवि कालका राजाहरूलाई भारतीय गुप्त राजाहरूको र मल्ल कालमा चाहिँ पालवंशको कला संस्कृति आदिको प्रभाव गहिरो रूपमा परेको छ। यसैबीच मुगल राजाहरूको (मुसलमान सुल्तान) पनि विशेष गरेर भेषभूषा र श्रीपेजमा प्रभाव परेको देखिन्छ। राजनैतिक इतिहास पनि योभन्दा फरक छैन। यसो हुँदा पनि उताको राजाकोे पहिरन, भेषभूषा, गरगहना आदि जस्तै कलाकारले पनि यताका राजालाई पनि लगाइदिनेजस्तो गरी देखिएको छ। लिच्छविहरू र मल्लहरू सबै उतै भारततिरबाटै नेपाल आएको ऐतिहासिक किम्वदन्ती छ। हुन सक्छ यसैका आधारमा पनि कलाकारले राजाको सन्दर्भमा मंगोल अनुहारलाई सम्भवतः मिसाउन नखोजेको देखिन्छ। राजा मानदेव र अंशुवर्मा लिच्छवि वंशका हुन् भने बाँकि राजाहरू सबै मल्ल वंशका हुन्।  

‘बुद्धको जीवनी’अन्तर्गत तीन वटा चित्रहरू क्रमशः दुःखको कारण बुझ्दै सिद्धार्थ, महाभिनीष्क्रमण, बुद्धको कपिलवस्तु आगमन छन्। जसलाई क्रमबद्धताका साथ चित्रित गरिएको छ। सिद्धार्थ गौतम महात्मा बुद्ध बन्नुअघि बुद्धत्व प्राप्तको मार्गमा जान पे्ररित गर्ने एउटा प्रमुख घटनालाई आधार बनाएर बनाइएको चित्र छ। सिद्धार्थ दरबारबाहिर घुम्न निस्कँदा बाटोमा वृद्ध, रोगी र मृतकको पीडालाई देख्छन्। उनलाई पनि पीडाबोध हुन्छ। उनलाई यसको कारण खोज्न लालसा उत्पन्न हुन्छ। यही सिद्धार्थ गौतमको बुद्ध बन्नुअघिको भागलाई सहज ढंगले चित्रित गर्ने कोसिस कलाकारले गरेका छन्। यसैक्रममा मानिसको दुःखलाई हेर्ने, बुझ्ने विभिन्न पात्र जस्तैः सिदार्थ गौतम, सारथि छन्दक, मनोरम बगैंचा, नदी, मृग सौम्यपूर्ण वातावरण आदिलाई चित्रमा समायोजन गरिएको छ। बग्गीमा आफू चढी घुम्न निस्केको परिदृश्यलाई बढो रमाइलो ढंगबाट संयोजन गरिएको छ। अग्र भागमा एक बुढो व्यक्ति र अलि पर बाटोमा लास लाँदै गरेको दृश्य देखाइएको छ। दोस्रो भागमा महाभिनीष्क्रमणमा श्रीमती र छोरालाई सुतिरहेको अवस्थामै छाडेर सुटुक्क बाहिरिँदै गएको सिद्धार्थ गौतमलाई चित्रित गरिएको छ। तेस्रोमा बुद्धको कपिलवस्तु आगमनमा चाहिँ सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि (महात्मा बुद्ध बनिसकेपछि) शाक्यमुनि बुद्ध कपिलवस्तुमा (आफ्नै दरबारमा) भिक्षुगणका साथ भिक्षा माग्न आएको दृश्य छ। पत्नी यशोधरा र विशेष गरेर छोरा राहुलले पितासँग पैत्रिक सम्पत्ति माग गर्दैगरेको दृश्यलाई चित्रित गरिएको छ।

‘जनजीवन तथा सम्पदा’ खण्डमा चाहिँ, खर्पन बोकेको किसान, कुमाले टोल, बाँडाको ज्यासल, मूर्तिकारका तीन पुस्ता, परम्परागत कपडा बुनाइ, व्यापारीहरूको तिब्बत यात्रा, झारफुक गर्ने गुझाजु, नागिनी र युवती, बत्ती सल्काउँदै गरेकी दुलही, ओखलमा चिउरा कुट्दै गरेको दृश्य, बँुइगलको ज्यापु भान्छा, इनारबाट पानी झिक्दै महिला, सामुदायिक ढुङ्गेधाराहरू, बहाःमा सामुदायिक दिनचर्या, सहरका पाटीको दिनचर्या, चिबहाः, साँढे जुधाइ, ढुङ्गेधारामा प्रेम–जोडी, ज्यापु दम्पत्ति, नृत्य गर्दै युगल जोडी, नेवार जात्राको रौनक, तमाखु तान्दै एक प्रौढ, जुवाखालको रमिता, भानुभक्तको कान्तिपुर नगरी, जैसीदेवल, कञ्चन वाग्मती, गुह्येश्वर मन्दिर र वाग्मती नदी, धन्दो चैत्य, बौद्धनाथ, काठमाडौंको काँठ, चराको आँखामा काठमाडौं उपत्यका, सिक्लेसको गुरुङ गाउँ, तामाङ जोडीको नृत्य रहेका छन्।  

सबैजसो चित्रहरूमा विशेष गरेर नेवार समुदायमा प्रचलनमा रहेको दिनचर्या प्रमुख रूपमा चित्रित गरिएको छ। यसबाहेक सफा सुग्घर चिटिक्क परेको घर, पौेवा, पाटी, हँसिला सुकिला वासीहरू खुसहालमा जीवन बिताइरहेका परिदृश्य उनका चित्रमा देखिन्छन्। महिलाहरू मिहिनेती, आआफ्नो काममा इमान्दार र तनमन दिएर संलग्न भएका दृश्यहरू यथेष्ट मात्रामा देखिन्छन्। यी सबैजसो चित्रहरू वास्तविक (अन द स्पट आर्ट) नभएर कलाकारको कल्पनाले बुनीवरी स्टुडियोमै बसेर बनाएका हुँदा कुनै न कुनै गाथा, लोकोक्ति अनि आफ्ना अनुभव, आफूले केटाकेटी छँदै देखेका घटनाहरू, अवस्थाहरू आदिलाई आधार लिएको देखिन्छ। कुराकानी गर्दै गरेको देखाउँदा पनि कल्पनाले निर्देशित गर्दा अलग अलग पात्रहरू, आआफ्नै अलग अलग क्रियाकलापमा आबद्ध भएको देख्दा नाटकको परिदृश्यजस्तो पनि देखिन्छ। चित्रमा सुखमय रमाइलो वातावरण देखिन्छ। कुनै न कुनै काममा व्यस्त भइरहेको दृश्य अनि वरिपरिका बृद्ध, बालबच्चाहरू कौेतुहलका साथ हेरिरहेका आदि दृश्यले गर्दा पनि आजभन्दा त्यति बेलाको काठमाडौं उपत्यका (लिच्छवि, मल्ल काल वा सयवर्ष अगाडिसम्म पनि ) भित्रको समाज धेरै नै खुसहाल थिए भन्ने देखाउन खोजेको भान हुन्छ। मन्दिर, पौवा, पाटीले हाम्रो ऐतिहासिक वास्तुकला, सम्पदा, गौरवपूण धरोहरहरूका रूपमा चित्रित गरेको देखिन्छ। यी चित्रहरू यथार्थ पनि हुन् अनि कल्पनाले बढी मात्रामा थिच्दा स्वच्छन्दतावादको छायाले नियन्त्रण गरेको स्पष्ट बोध हुन्छ। कलाकारले बाल्यकालमा देखेको गुहेश्वरीकै दृश्यचित्र बनाउँदा पनि स्वच्छ सफा वाग्मती, हराभरा प्रकृति र अनुपम कलालाई कल्पनामा गुथ्न खोजेको देखिन्छ।  

संस्कृतिको खण्डमा पचली भैरव जात्रा, आकाश भैरव जात्रा, नवरात्रि बाजा, सेतो मच्छिन्द्रनाथको रथजात्रा, खट जात्रा, बाँसुरी टोली, फागु, काठमाडौंको गाइ जात्रा पर्व, भक्कु भैरव नृत्य, सिंह सार्थ बाहु, नेवारी शव यात्रा छन्। विशेष गरेर नेवार समुदायले गर्ने गरेको चाड पर्व र जात्राहरूका बारेमा चित्रहरू बनाइएका छन्। धुमधामसँग हजारौं मान्छेको भिड, हर्षोल्लास अनि परम्परागत विधिविधानका साथ महिला–पुरुष एक भएर यस्ता जात्राहरू मनाइराखेका दृश्यलाई चित्रित गरिएको छ। विशेष गरेर रातको समयलाई कलाकारले कल्पनामा ल्याएका छन्। परम्परागत लोकोक्ति, गाथाका आधारमा कलाकारले बच्चै बेलादेखि सुन्दै आएका यस्ता जात्रालाई नेवार समुदायले कसरी भक्तिभावका साथ एक जुट भएर मनाउँछन् भन्ने कुरा उनका चित्रमा स्पष्ट देखिन्छ।  

इतिहास खण्डमा चाहिँ अशोकको लुम्बिनी तीर्थ यात्रा, गरुड स्तम्भ स्थापना गर्दै मानदेव, मानदेवको कलापक्ष, कैलाशकुट भवन, भृकुटिको स्वागत गर्दै स्रङचङ गम्पो, अरनिको चीन प्रस्थान, जयस्थिति मल्ललाई स्वागत गर्दै देवलदेवी, जगज्ज्योतीर्मल्ल नृत्यको निर्देशन गर्दै, सिद्धिनरसिंह मल्लको बिदाइ, प्रताप मल्ल स्वयम्भूमा बज्र चडाउँदै, रानी पोखरी, प्रताप मल्ल रानीहरूको शृङ्गार कक्षमा, प्रताप मल्लको रङ्गीन साँझ, प्रताप मल्ल होली मनाउँदै, प्रताप मल्लको अन्त्य, नाग पोखरीमा जितामित्र मल्ल, पाटन दरबार भण्डार खाल बगैंचाको कमल पोखरी, मल्लकालीन हात्तीखेदा, जयप्रकाश मल्ल र तलेजु भवानी, नव कुमारीको गृह प्रवेश, पृथ्वीनारायण शाह र जयप्रकाश मल्लको कुटनीतिक मितेरी, कालु पाण्डेलाई आदेश दिँदै पृथ्वीनारायण शाह, पृथ्वीनारायण शाहद्वारा कान्तिपुरमाथि आक्रमण, पृथ्वीनारायण शाह कुमारीको हातबाट टीका थाप्दै, पृथ्वीनारायण शाह नेवारको नाँच हेर्दै, पृथ्वीनारायण शाह पाटनका जनतासँग भेट्दै, पृथ्वीनारायण शाहको दिव्योपदेश, नेपाल एकीकरणका नायक बहादुर शाह, महादेव पार्वती मन्दिर स्थापनामा बहादुर शाह, कोत हत्याकाण्ड, जङ्गबहादुर र लौरा बेल, राणाकालीन चाकरी प्रथा आदि छन्।  

यो खण्डमा लिच्छविकालदेखि मल्लकाल हुँदै शाहकालसम्मको राजनीतिक ऐतिहासिक राजाहरू, राजनीतिक घटना आदिलाई क्रमबद्ध रूपमा चित्रित गरिएको देखिन्छ। संगीत, नाँच, वास्तुकलाको अनुपम नमुनाहरू, सामुदायिक, धार्मिक काममा राजाको सक्रिय संलग्नता आदिलाई देखाउन कोसिस गरिएको छ। प्यागोडा शैली, शिखर शैलीदेखि स्तुपा शैलीसमेतका नेपालका वास्तुकलाका अद्वितीय नमुनालाई कुनै न कुनै प्रसङ्गमा कलाकारले आफ्नो चित्रमा प्रवेश गराएको देखिन्छ। झ्याल, चौकोस, ढोका आदिलाई सुन्दर काष्ठकलाले सिँगारिएको देखिन्छ। कलाले भरिएको कलात्मक दरबार, कलालाई उपहार दिने प्रचलन आदिलाई पनि देखाउने कोसिस गरिएको छ। यसका साथसाथै हरेकजसो चित्रमा मान्छेको ठुलो भिड देखाउने कलाकारको मूल विशेषता देखिन्छ। राजाहरूको रंगीन साँझको परिकल्पना, रानीहरूको शृङ्गारलाई विशेष चासोका साथ चित्रित गर्ने कोसिस कलाकारको देखिन्छ। तान्त्रिक शक्तिद्वारा देवीहरूलाई बोलाउन सक्ने राजाको पनि परिकल्पना गरिएको छ। यस्ता धेरै विशेषताहरू छन्। यी सबैलाई यो सानो आलेखमा अटाउन भने सकिँदैन। समग्रमा सफा, सुन्दर एवम् कलाकारका धेरै कलाकृति समेटिएर प्रकाशनमा आएको यो पुस्तक कलाको उत्कृष्ट दस्तावेज हो भन्न सकिन्छ।  

(लेखक कलाकार एवम् कला समीक्षक हुन्।) 

प्रकाशित: २३ पुस २०७९ ०२:४० शनिबार

अक्षर