कला

ग्याब्रियले अर्थात् ईश्वर नै मेरो शक्ति

मानिस स्वभावैले परिवर्तनशील प्राणी हो। सधैं केही गर्ने चाह र उत्साहले उसको जीवनमा दुःखसुख आइरहन्छ। दुःखसुख जीवनका वास्तविक पाटा हुन्। कथाकार हरिश कल्पितका कथासंग्रह ‘ग्याब्रियले’ पनि यस्तै जीवनको यथार्थमा आधारित १३ वटा कथाहरूको संग्रह हो। कथाका हरेक पात्र र उनीहरूसँग घटेका घटनाहरू पढ्दै जाँदा यस्तो लाग्छ कि यी घटनाहरू हाम्रै जीवनमा घटेका वा घटिरहेका छन्। एउटा पाठक भएर भन्नुपर्दा हरेक कथाले पाठकलाई कथाको एक अंशको भएको महसुस हुन्छ। यो कथाकारको अति नै बलियो पक्ष हो। कथाकार कल्पित र मेरो भेट केही दिनअघि मात्र स्वयम्भूमा मर्निङ वाकमा भएको थियो। उनले मलाई उपहार स्वरूप आफ्नो कथासंग्रह ‘ग्याब्रियले’ मलाई थमाउँदा पहिले त किताबको नामले नै मलाई कथा पढ्न उत्सुक बनायो। जब ग्याब्रियलेको अर्थ बुझें तब मनैदेखि कथा पढ्न झनै उत्सुकता बढ्यो। कथासंग्रह पढ्न सुरु गर्दा मलाई यति उत्सुकता बढ्यो कि मैले पहिलो कथाको मोहभङ्ग हुनासाथ अन्य कथा नपढी पृष्ठ ६८ मा रहेको छैटौं कथा ‘ग्याबिल्यले’ पढ्न पुगें।  

ओहो नामको अर्थ कति मिठो पो रहेछ। एउटा युरोपेली हजुरआमाले आफ्नी प्यारी नातिनीको नाम मायाले ग्याब्रियले राखेकी रहिछन्। युरोपेली भाषामा ग्याब्रियलेको अर्थ हुन्छ– ईश्वर नै मेरो शक्ति हो। आहा ! नामको अर्थ कति मिठो ! कथामा एउटा युरोपेली युवा थोमसले जापानी केटी मिकासँग प्रेम विवाह गरेको रहेछ। उनीहरूबाट जन्मेकी छोरीको नाम थोमसकी आमाले मायाले ग्याब्रियले राखेकी रहिछन्। यस कथामा वैदेशिक रोजगारीमा गएका युवाहरूले भोग्नुपरेको मानसिक, सामाजिक, आर्थिक, संवेगात्मक तथा भावनात्मक पीडालाई बढो सरल रूपमा प्रस्तुत गरिएको छ। एकातिर थोमस र मिकाको प्रेमसम्बन्ध एउटा सानो विषयले एक दिन मिका छोरी च्यापेर बेपत्ता हुन्छिन् र थोमक छोरी र मिकाको खोजीमा भौंतारिइरहन्छ। यसले मिका र थोमसको जीवन नै छिया छिया बन्छ।  

यो कथाका पात्रसँग कथाकार पनि साथै हुन्छन्। सोही कथामा नेपाली युवा विदेशमा हुँदा आफ्नो परिवार र बच्चालाई नेटको दुनियाँबाट कुरा गर्न पाउँदाको हर्षित मनोदशा निकै मार्मिक ढंगले लेखकले प्रस्तुत गरेका छन्। आमा प्रेमकुमारी सुवेदीको प्रकाशनमा प्रकाशित गरिएको ग्याब्रियले हरिशको दोस्रो कथासंग्रह हो।  

हरेक सम्बन्धमा कथा हुन्छन् तर सबै कथा लेख्न सकिँदैन। लेखकले थोरै कथाहरूमा पनि नेपाल र जापानका सहरिया जीवनमा दिनहुँ घटिरहने घटनाको संग्रह हो ग्य्राब्रियले।  

एक सय ५२ पृष्ठको कथासंग्रहमा पृष्ठ ४८ को मोहजालले त आमाबुबाले सामाजिक प्रतिष्ठाका लागि सन्तानलाई विदेश अध्ययनमा पठाउने र पछि सन्तानको विभिन्न बहाना बनाई आमाबुबालाई भेट्न नआउँदा आमाबुबाको मनको पीडालाई दर्शाउँछ। तर सधैं आमाबुबाले मात्र सन्तानको ख्याल राख्ने होइन अब सन्तानले पनि आमाबुबाको ख्याल राख्नुपर्ने सन्देश मोहजालले दिएको छ किनभने जब कथाको अन्तमा विदेशबाट छोरो सधैंका लागि घर फर्केर बुबाका साथमा बस्ने दृश्य भने बडो भावुक बनाउँछ। यसले पनि कथाको अन्तमा छोराछोरीको बाबुआमाप्रतिको कर्तव्यलाई प्रस्तुत गरेको छ। जापान सुखसुविधाले सम्पन्न देश भए पनि सम्बन्धहरू भने निकै चिसो रहेको कथाले दर्शाएको छ। आजको समाज काम, पैसा र मनोरञ्जनमा रमाउनेहरूको बन्दै गएको वरिपरि कथा बुनिएको छ। ‘ग्याब्रियले’ कथासंग्रहमा मोहजाल, मोहभंग, उहाँहरू आउनुभयो ममी ?, बधाई छ देवयानी, पुष्पलता, कृष्णसर, मेरी प्यारी छोरी, बिहे, अनिमालगायतका कथाले नेपाल र जापानका सहरिया समाजमा घट्ने घटनाहरूलाई दर्शाएका छन्। यी कथा प्रेम, बिछोड, वैदेशिक रोजगारमा गएका युवाहरूको भोगाइ, समाजका विभिन्न वर्गका उतारचढाव, नारीको मनोदशा, पुरुषभित्रको संवेगात्मक भावना, समय परिस्थितिले सिर्जना गरेका मानव जीवनमा आइपरेका अनपेक्षित मोडहरूजस्ता प्रसङ्गले पाठकहरू नै आफूलाई कथाको एउटा हिंसाका रूपमा महसुस गर्न सक्नु नै पाठकको ठूलो सफलता हो।

प्रकाशित: २३ पुस २०७९ ०२:२५ शनिबार

अक्षर