कला

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

काठमाडौं- भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म 'वीर विक्रम'को गीति एल्बम सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले एल्बमसँगै फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको हो।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दिया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ। ताराप्रकाश लिम्बुले संगीत भरेको फिल्ममा तीनवटा गीत समावेश छ।

'सारे सारे' बोलको गीत युट्युबमा सार्वजनिक भएसँगै हिट भएको छ भने 'नजिक हुँदैछु' बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो। फिल्मका मुख्य कलाकार दयाहाङ राईले यसको कथावस्तु एउटा गाउँको भएको बताए। उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि 'कबड्डी'जस्तो भनिए पनि त्यस्तो कतै नमिल्ने बताए। उनले फिल्मको कथावस्तु र प्रस्तुति  फरक रहेको जानकारी दिए।

कलाकार अनुपविक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए। अर्का कलाकार अर्पण थापाले फिल्ममा आफू हास्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए।

कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए। निर्देशक मिलन चाम्सले आफू सधैं नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै 'वीर विक्रम' त्यसै अनुसार बनाइएको दावी गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली फिल्ममा नयाँ सोचको खाँचो रहेको औंल्याए। यसअगाडि 'हँसिया' फिल्म बनाएका मिलनले बनाएको दोस्रो फिल्म 'वीर विक्रम' हङकङ र युकेमा चलाइसकेको छ। रेनशा राइको कोरियोग्राफी रहेको फिल्मलाई यम थापाले लेखेका हुन्।

प्रकाशित: ७ श्रावण २०७३ ०३:०० शुक्रबार

कबड्डीभन्दा वीर विक्रम