कला

लेखक संघको पुरस्कार दीपक समीपको ‘अक्षर अक्षरमा देश’ कृतिलाई

नेपाली लेखक संघ कास्कीले वर्षैैपिच्छे प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०७८’ साहित्यकार दीपक समीपको ‘अक्षर अक्षरमा देश’ मुक्तकसंग्रहलाई प्रदान गरिने भएको छ।

डा.ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले २०७८ सालमा गण्डकी प्रदेशका लेखकहरूबाट प्रकाशित कृतिमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरिएको हो।

नेपाली लेखक संघ कास्कीको कार्य समिति बैठकले पुरस्कार छनोट समितिद्वारा गरिएको निर्णय अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सहसचिव प्राञ्जलले बताए।

चालीसको दशकको उत्तरार्द्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो। यसअघि २०६२ सालमा प्रकाशित उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रहले पनि सुदूर पश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गजल साधना सम्मान-२०६३ बाट पुरस्कृत भएको थियो।

उनका रचनाहरू पचासको दशकबाटै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। विशेषगरी गीत, गजल, मुक्तक, कविता र आख्यान लेखनमा सक्रिय उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन्।

२०७८ सालमा प्रकाशित कृतिहरू संकलन गरी कार्तिक २७ गते बसेको कार्य समिति बैठकले उत्कृष्ट ७ कृति छनोट गरी अन्तिम निर्णयका लागि पुरस्कार छनोट समितिसमक्ष सिफारिस गरेको थियो। साथै मंसिर २९ गते बसेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कारका लागि समीपको कृति  छनोट गरेको थियो।

डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिका सदस्यहरूमा डा. भूमिराज बस्ताकोटी, ईशा शाह, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ रहेका थिए।

गणेश शर्माको अध्यक्षतामा रहेको कार्य समितिले २०७५ सालमा स्थापना गरेको यस पुरस्कारबाट हालसम्म सरोज अर्यालको उपन्यास ‘दिव्याञ्जलि’ (२०७५) र डा. मतिप्रसाद ढकालको ‘महाभारतमा के छ?’ (२०७७) पुरस्कृत भइसकेका छन्।

२०७६ सालको पुरस्कार भने कोभिड-१९ का कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष सञ्जीव पौडेलले बताए। आउँदो माघमा आयोजना गरिने एक विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ।  

प्रकाशित: २० पुस २०७९ ०४:२१ बुधबार

अक्षर