कला

अमर शहीद बुबा

लघुकथा

रञ्जुश्री पराजुली

‘हाम्रो नेताज्यू अरू जस्तो दुई पैसे व्यक्तित्व भएको नभई महान् नेता हुनुहुन्छ। यसपालि मात्रै हैन, पहिले पनि उहाँले धेरैपल्ट चुनाव जितिसक्नुभएको छ। अरू बेला जन्मथलो बिर्सिए पनि चुनावको बेला उहाँलाई यसको चौपट्टै याद आउँछ। ठूलो नेता ठूलै काम भनेझैं उहाँ प्रचार-प्रसारका लागि गाउँ आउन नभियाए पनि आफ्नो गाउँ र गाउँलेलाई माया गर्दै मासुभात खाने खर्च कार्यकर्ताको हात बाँडन पठाउनुहुन्छ। पेटभरि खान नपाउने हामीलाई एकै दिन भए पनि मासुभात खान पाउँदा दसैं बिर्साइदिन्छ।

अघिल्लो पटक र त्योभन्दा अगाडि पनि गाउँमा स्कुल खोलिदिने वाचा गर्नुभएको थियो। जिल्लामा स्वास्थ चौकी पनि खोलिदिन्छु भन्नुभएको थियो। विचरा ठूलो मान्छे,दश थरी जिम्मेवारी हुन्छ। आफूले बोलेको जति कुरा कसरी पूरा गर्न सक्नु? विचरा नेताजी बिर्सिनुभएछ। यसपालि जितेपछि त पक्कापक्का भनेर वचन दिनुभएको छ।

चुनावको बेला नजिकिंदै आउँदा गाउँमा बसेको बैठकले यस्ता कुराहरूमा छलफल गर्‍यो। यसै बिच गाउँमा ती ठूला नेताको असी वर्षका बुबा जो मृगौलापीडित थिए। शहरमा छोरासँगै बस्दथे। उनको मृत्यु भएको खवर आयो।

उक्त खबरले गाउँमा शोक छायो। हाम्रा ठूला नेताका बुबाको मृत्युमा हामी शोक व्यक्त गर्दछौ। उनी गाउँका ठूला समाजसेवी थिए। हामी हाम्रा सन्तान तिनै सन्त पुरुषको अन्नपानी खाएर बाँचेका हौ। हामी उनलाई शहीद घोषणा गर्न माग गर्दछौ। यसका लागि हामी राजधानी गएर नारा-जुलुस गर्दछौ भन्दै ‘हाम्रो अन्नदाता  शहीद  नेता चिरञ्जीवी बहादुर अमर रहून्। अमर शहीद जिन्दावाद’ भन्दै नारा घन्काउन थाले।

प्रकाशित: १५ पुस २०७९ ०८:३२ शुक्रबार

अक्षर