कला

'भाग्यले बाँचेका'लाई मुम्बईमा अवार्ड

काठमाडौं- नेपाली डकुमेन्ट्री 'भाग्यले बाँचेकाहरु'का निर्देशक गणेश पाण्डेले मुम्बईमा 'गोल्डेन क्यामरा अवार्ड' सम्मान पाएका छन्। भारतको मुम्बईमा शनिबार आयोजित विशेष समारोहमा पाण्डेलाई नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का तर्फबाट गोल्डेन क्यामरा अवार्ड प्रदान गरिएको हो। गत फागुनमा नासिक सहरमा सम्पन्न निफमा 'भाग्यले बाँचेकाहरु'ले 'उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड' जितेको थियो।

पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए। साथै, निर्देशक पाण्डेले 'सिंघम'सहित सयौं बलिउड फिल्ममा अभिनय गरेका गोविन्द नामदेव लगायतलाई अवार्डसमेत प्रदान गरेका थिए। 

निफका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली फिल्मलाई प्राथमिकता दिने बताए। समारोहमा भारतसहित बेलायत, इरानका फिल्मकर्मीलाई पनि सम्मान गरिएको थियो।

महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको 'भाग्यले बाँचेकाहरु'ले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। साथै, ३२ भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ। 'आगामी महिना स्वीजरल्याण्ड र इट्लीमा हुने फिल्म महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ,' निर्देशक पाण्डेले भने।

प्रकाशित: २७ असार २०७३ ०३:४६ सोमबार

भाग्यले बाँचेकालाई मुम्बईमा अवार्ड