कला

अभिभारा

कविता

दीपक समीप

हल्लाउँदै-हल्लाउँदै

रातो झन्डा

कमरेड

कुमारी गुफामा विलुप्त हुन्छ।

शीघ्र पतन भएको मार्क्सवाद

गर्भ तुहिएको लेनिनवाद

मृत जन्मेका प्रजातान्त्रिक विचारहरू

हामफालेका छन् पाताले छाँगोमा।

टिलपिल-टिलपिल

बैंसको फेवातालमा

डुंगा चलाइरहेको छ कोही

खसम भने लडाइँमा

सिरुपाते खुकुरी बोकेर

दुश्मन खोजिरहेको छ धुइँपत्ताल!

रातभर

अनिदा डिस्कोहरू

आलिंगनमा मस्त कुर्कुरे बैंस

रंगीन प्रकाशका अनेक हाउभाउ

कान सखाप पार्ने संगीतका

उत्ताउला आवाजहरू

नेपाली समयभन्दा

लाग्छ

निकै प्रकाश वर्ष अगाडि छ लेकसाइड।

शिवलिङ्गमा दूध चढाउँदा-चढाउँदै

कामधेनु गाई

एक्कासि बर्ताएर दौडिएको छ

मनका बहरहरू

कोही किला उखलेर

कोही दाम्लो चुँडालेर

सुइँकुच्चा ठोकेका छन् 

नारी गन्ध आएको बाटै बाटो।

बुढी आमा

कुरी बसेकी छिन्

महिना सकिएलगत्तै

वृद्धभत्ताको लाइनमा

छोरा

बियर बारमा टिप्स दिइरहेको छ

तरुनी वेट्रेसलाई

रातो गुलाब

फुलाएर ओठमा

जब मन्द-मन्द मुस्कुराउँछिन् बार टेन्डर

ऊ थप एक पेग दिमाग रित्याउँछ

र आफ्नो घर बिर्सन्छ

जसरी बिर्सन्छ्न् 

कमरेडले

देशको अभिभारा।

प्रकाशित: १० पुस २०७९ ०५:४८ आइतबार

अक्षर