कला

तुलसी पण्डितका पाँच लघुकथा

लघुकथा

तुलसी पण्डित

१) भोज

आमाबाबुले धनी परिवार भनेर एघार वर्षको हुँदा पचास वर्षको बूढालाई कन्यादान दिए। कलिलो उमेर न रोमान्स न उमंग। बुझ्ने भएपछि बूढा दुई दिनको विमारले ठहरै भए।

धन्य गर्भ रहेछ। छोरा जन्मियो। उसैलाई हुर्काइन्, पढाइन् र योग्य बनाइन्। छोराको विवाह भयो। छोराले विवाह गरेपछि आमालाई भन्यो,‘आमा,म एउटा कुरा भन्यौ?’

‘भन न बाबु, के कुरा हो!’

‘रिसाउनुहुन्छ कि नाइँ?’

‘रिसाउँदिनँ बा।’

‘म केही गरी मरिहाले तपाईं बुहारीलाई के गर्नुहुन्छ आमा?’

‘बाबु, तिमीले यस्तो कुरा सोच्नु हुँदैनथ्यो। सोचिहाल्यौ, यस्तो भइहाले म एकजना केटा खोजेर बुहारीको विवाह गरिदिनेछु। यौवन के हो भन्ने कुरा बल्ल मैले राम्रोसँग बुझेकी छु। एक्लो जीवन बाँच्न निकै गाह्रो हुने रहेछ बाबु।’

‘आमा, तपाईं अहिले कति वर्षकी हुनुभयो?’

‘म पन्ध्र वर्षकी हुँदा तँ जन्मिस्। अहिले तँ बाइस वर्षको भइस्। म अहिले सैंतीस वर्षकी भएँ।’

‘विदेशमा आफ्नै छोराले पचास वर्ष भएकी आमाको विवाह भोज खान्छ रे आमा!’

‘हो बाबू, त्यहाँ नारी स्वतन्त्रता छ। उनीहरूले जुन बेला पनि विवाह गर्न पाउँछन्। तर, यहाँ त्यस्तो कहाँ पाउनु! यहाँ त समाजको छेकबार छ।’

‘हामीले त्यस्ता कुरीति हटाउनुपर्छ आमा। त्यसको विरुद्ध मुकाविला गर्न सक्यो भने यो असम्भव छैन।’

‘त्यस्ता विकृतिले समाजमा असन्तुलन ल्याउँछ छोरा। जसले गर्दा सन्तानप्रतिको मायामा कमी आउनेछ।’

 २) मोवाइल प्रेम

कालेमा कत्ति परिवर्तन आएन। ऊ गृहकार्य गरेर ल्याउँदैन। समस्या बुझ्न खोज्यो समस्या पनि बताउँदैन। आजित छन् कृष्णमान।

उता सरहरू भन्छन्, ‘यो समस्या भएपछि उसलाई यहाँ किन राख्ने?’

हातमा पचास रुपैयाँ लिएर प्रअले भने,‘बाबु, तिमी किन गृहकार्य गर्दैनौ! पढाइमा त्यत्ति चासो पनि छैन।’

काले बोल्दै बोलेन। सरले पचास रुपैयाँ देखाउँदै भन्नुभयो,‘ल तिमीले साँचो कुरा भन्यौ भने म यो पैसा तिमीलाई दिन्छु।’

उसको ध्यान पैसामा खिचियो।

-सर, म घर गएपछि गृहकार्य गर्न बस्छु। तर, केही आउँदैन र आमालाई सोध्छु। आमाले झन् उल्टै हप्काउनुहुन्छ।

‘आमाले किन हप्काउनुहुन्छ?’

‘बाबाले विदेशबाट पठाएको मोवाइल छ। उहाँ त्यसैमा व्यस्त हुनुहुन्छ।’

‘तिम्रो आमाले कति पढ्नुभएको छ?’

‘खोई कति पढ्नुभाछ, थाहा छैन। अब उहाँ बोर्डिङ स्कूल पढाउन जाने रे।’

‘ल लिए पैसा’ भन्दै उनले कालेलाई पचास रुपैयाँ दिए। पैसा पाएपछि काले खुशी भयो।

कृष्णमान अब समस्या समाधान हुने भयो भन्दै खुशी भए। उनले एउटा पत्र लेखेर कालेसँंग भने, ‘यो पत्र आमालाई देऊ है।’

छोराले स्कूलको पत्र दिएपछि चमेली झसंग भइन्। भोलिपल्ट छोरालाई लिएर उनी स्कूल गइन्।

‘सर, हजुरले मलाई किन बोलाउनुभएको?’

‘तपाई कालेकी आमा हो!’

‘हो सर।’

‘तपाई, छोरालाई कस्तो होस् भन्ने चाहनुहुन्छ?’

‘सरले के भन्नुभएको  होला। सबैले आफ्ना छोराछोरीलाई राम्रै होस् भन्ने चाहन्छन् नि।’

‘तपाईलाई एउटा कुरा याद छ। बाबु-आमाको मोवाइल प्रेमले धेरै छोराछोरी बिग्रेका छन् रे!’

३) पारदर्शिता

हिजो नारी मुक्तिको नारा निकै उर्लिन्थे। त्यसमा पनि प्रगतिशील भन्ने पार्टीबाट त नारी र पुरुष समान हुन् भन्थे। छोरीले पनि छोरासरह अंश पाउनुपर्छ भन्दै कुर्लन्थे। त्यसैको प्रतापले तिनीहरू सत्तामा पुग्न सफल भए।

सत्तामा पुगे। प्रधानमन्त्रीदेखि मन्त्री बने। कानुन बनाए। छोरीले छोरा सरह अंश पाउने कानुन पनि ल्याए।

सबै छोरी दंगदास परे, ‘ओहो,सरकार धन्य हो। बोलेको कुरा पूरा गर्‍यो।’

यही कुरा थाहा पाएका दुई छोरी अदालत पुगे। अदालतमा पेश भएको पत्रमा लेखिएको थियो,‘श्रीमान् आमाबुबाका हामी दुई छोरी। हामीले नै बाबा-आमालाई पाल्यौ। उहाँहरूको निधन भयो। नजिकका दाजुभाइ नभएकाले हामीले नै काजकिरिया गर्‍यौं। हामीले नै स्याहारसुसार र किरिया गरेकाले  बाबु-आमाको नाममा रहेको जग्गाजमिन हाम्रो नाममा पास गर्न अहिले निवेदन दिएका छौं।’

निवेदन दिएको भोलिपल्ट चिन्दै नचिनेको मान्छे आएर भने, ‘हामी दाजुभाइ हौ। वंशजको नाताले बाँकी रहेको सम्पत्ति हामीले पाउनुपर्छ।’

म छक्क परें, ‘न कहिले आमाबुबालाई भेट्न आएका छन् न हामीले चिनेका छौ।’

मुद्दा चल्दै गयो। आखिर चार भागको तीन भाग दावेदारले पायो। छोरीहरूले एक भाग मात्रै पाए।

छोरीहरूले सोचे,‘पैसाको भरमा चल्ने कानुनको खोई पारदर्शिता!’

४) तेज

हृदयघातबाट धिरेको आज मृत्यु भयो। गाउँका सबै जिल्ल परे। भर्खरै यही थियो, मरिसकेछ। जीवनको केही भरोसा रहेनछ। धिरेको मृत्युले घरमा चर्कै रुवाबासी चलेको छ। धिरेकी श्रीमती अनुपमा बेहोस भएकी छन्। उनी बिउँझिंदा घरमा लास पनि थिएन। आफै सेतो पहिरनमा थिइन्। हात र गलाका सबै शोभा खोसिएका थिए। यो देखेर अनुपमा झन् चर्को स्वरमा रोइन्।

तेह्र दिनको कार्य बढ्दै थियो। अनुपमाको रुवाइ रोकिएको थिएन।

आमालाई सान्त्वना दिन छोरीहरूलाई भनियो। छोरीहरूले आमालाई आश्वस्त पार्दै भने, ‘आमा, अब हामीलाई हेरेर चित्त बुझाउनुस्। हामी तपाईलाई घरको हरेक काममा सघाउनेछौ।’

तीन छोरीकी आमा अनुपमाको चित्त बुझाउने बाटो तिनै  छोरी थिए। तिनैको सान्त्वनाले मन केही धैर्य भयो।

तेर दिनको कार्य सकियो। दिन बित्दै गए। छोरीहरू ठूला हुँदै गए। छोरीहरूले नै घरको सारा काम ढाकेका थिए। केही काम आमालाई गर्न दिंदैनथे। गाईको गोबर सोहोर्नेदेखि खेतको सारा काम उनीहरूले गर्थे। पढ्न पनि निकै तेज थिए। कक्षामा पहिला र दोस्रो हुन्थे। गाउँले सबै चकित थिए। घरको सारा काम भियाएर पनि उनै पहिलो र दोस्रो हुन्छन्। मेलापात पनि उनै पुगेका छन्। पढ्दै जाँदा उनीहरूले डिग्री पास गरेर जागिर खाए। तैपनि उनीहरूले बिहानबेलुका घरको सबै काम गर्न छोडेनन्। धेरै पढेकाले काम गर्नु हुँदैन भन्ने कुराको उनीहरू विरोधी थिए। पढाइलाई कामले रोक्दैन भन्थे।

गाउँको साहू हनुमन्ते छोरीसँग गुनासो गर्छ, ‘खोई छोरी, तिमीले पढ्न सकिनौ। जुन कक्षामा पनि फेल मात्र भएकी छौ।

छोरीले रिसाउँदै भनिन्, ‘आमालाई गर्भावस्थामा प्रशस्त पौष्टिक तत्त्व खुवाएको भए म पनि पढाइमा तेज हुने थिएँ।’

५) शत्रु

पण्डित बाजेको इच्छा साकार भएन। उनले भन्ने गर्थे, ‘काग कागसँग र बकुल्ला बकुल्लासँग हुन्छ। एकमा अर्को आएर बसे शोभा हराउँछ। त्यस्तै हो विवाह पनि। म आफ्नी छोरीलाई आफ्नै जातमा दिन्छु। गाउँको मरिचे इञ्जिनियर हो। उसले धेरै पटक मान्द्रीसँग विवाहको प्रस्ताव लिएर पठायो। मान्द्री पनि पढेलेखेकी छ। ऊ जातियताको विरोध गर्थे। जात भनेका स्त्री र पुरुष दुई वटा छन्।

बाबाले मरिचेसँगको विवाहको प्रस्ताव अस्विकारेकामा ऊ खिन्न छ। उसले सोचविचार गरी। ती विवाहको प्रस्ताव लिएर आउने मान्छेलाई एकान्तमा भेटेर भनी, ‘बाबाको कुरा वास्ता नगर्नुस्। उहाँलाई भनिदिनु। मान्द्री मरिचेसँग विवाह गर्न राजी छ।’

उनीहरूको सम्पर्क बढ्दै गयो। आखिर दुवैले मन्दिरमा गएर विवाह गरे।

पण्डित मुर्मुरिए। छोरीलाई माइत आउन वर्जित गरे। केही समयपछि पण्डित बाजे बेहोस भए। उनलाई अस्पताल लगियो। डाक्टरले भने,‘तुरुन्त रगत नदिए उहाँको मृत्यु हुन सक्छ। रगत खोजियो। उनको ग्रुपको रगत पाउन दुर्लभ भयो। छोरीले पनि यो कुरा थाहा पाइन्। उनी तुरुन्तै आएर रगत जाँचेर बाबालाई रगत दिइन्।

बेहोसमा भएका पण्डित बाजे रगत राखेपछि बिउँझिए। अगाडि छोरी देखेर रिसले दाह्रा किट्दै पण्डित बाजे उठे। डाक्टरले बिमारीलाई भने, ‘के भयो? किन उठ्नुभएको? जसले रगत दिएर बँचायो उसैमाथि यो कुदृष्टि किन?’

पण्डित बाजेले अनायस बोले, ‘यो जातियता सृष्टि गर्ने नै सबैको शत्रु हो।’

प्रकाशित: ९ पुस २०७९ ०७:३८ शनिबार

अक्षर