कला

डा.दामोदर पुडासैनी किशोरलाई पवन आलोक नियात्रा पुरस्कार

डा.दामोदर पुडासैनी किशोरलाई पवन आलोक नियात्रा पुरस्कार-२०७८ प्रदान गरिने भएको छ। नेपाली नियात्रा साहित्यमा  विकासको खोजी गर्ने लेखनमा विशेष योगदान पुर्‍याएकोमा किशोरको ‘ग्रीमको निलो बतास’ लाई सो पुरस्कार प्रदान गरिने भएको छ।

पवन आलोक नियात्रा कोष र नियात्रा समाज नेपालको बिचको सम्झौता अनुसार पवन आलोक पुरस्कारका लागि प्रारम्भिक छनोटमा पाँच कृति परेका थिए। ती कृतिमध्ये नेपालका क्षेत्रगत विशेषता बोकेका विभिन्न पर्यटकीय गन्तव्यहरूप्रति दर्शाइएको उच्च सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धनमा पुर्‍याउन सक्ने योगदान, ती क्षेत्रहरूको शाब्दिक पथप्रदर्शन र भूगोल तथा विकास प्रकियाको सुन्दर संयोजन गरी नेपाली नियात्रा साहित्यमा विशेष योगदान पुर्‍याएकोमा किशोरको ‘ग्रीमको निलो बतास’लाई सो पुरस्कार प्रदान गरिने भएको छ।

प्रतीक ढकालको संयोजक रहेको छनोट समितिमा कोष प्रतिनिधि पवन आलोक र  नियात्राविद् श्रीओम श्रेष्ठ रोदन रहेका छन्। छनोट समितिका विज्ञप्ति अनुसार नियात्राकार किशोरलाई आउँदो माघ १२ गते वसन्त पञ्चमीको दिन सो पुरस्कार प्रदान गरिनेछ।

डा.पुडासैनीको उक्त ‘ग्रीष्मको नीलो बतास’ मदन पुरस्कारको उत्कृष्ट ८ सूचीमा समेत समावेश थियो। साझा प्रकाशनले भर्खरै प्रकाशनमा ल्याएको उनको ‘डोल्पो!ओ डोल्पो!!’ नियात्रासंग्रह यतिखेर चर्चामा छ। कविता, कथा, निबन्ध र नियात्रा विधामा सक्रिय पुडासैनीको अठारौं कृतिको रूपमा उक्त कृति प्रकाशमा आएको छ।

प्रकाशित: ९ पुस २०७९ ०४:२३ शनिबार

अक्षर