कला

संगीत साधनामा व्यस्त लामा

आधुनिक गीतसंगीत मान्छेको कथाव्यथा बोक्ने सांगीतिक विधा हो। नेपाली आधुनिक सुगम संगीतमा नारायण गोपाल, गोपाल योञ्जन, नातिकाजी, अम्बर गुरुङ, फत्तेमान, तारादेवी, अरूणा लामालगायतका गायकगायिकाहरूको उल्लेख्य योगदान रहेको पाइन्छ। पछिल्लो पुस्तामा आधुनिक गीतसंगीतमा उदाएका अनेकौं गायकगायिकामध्ये एक हुन्– पूर्णिमा लामा।  

गायिका लामाले ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘तिम्रो एउटा झुटले’, ‘बन्दुक र गोली बोकेर झोला’ लगायत थुप्रै गीतमा स्वर दिएकी छन्। झन्डै डेढ दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय लामाले हालसम्म ४ सय हाराहारी गीत गाइसकेकी छन्।

गायिका लामा भन्छिन्, ‘गीतसंगीतमा निरन्तर साधना गरेर उत्कृष्ट गायिका बन्नु नै मेरो सपना हो।’ गायिका लामाका दृष्टिकोणमा पहिलाका तुलनामा अहिलेका गीतहरूमा बढी विकृति रहेको छ। आजको गीतसंगीतको कमजोर पक्ष शब्दमा ध्यान नदिनु रहेको लामाको धारणा छ। सानो उमेर अनि छोटो समयमा धेरै गीत गाएकी लामाले राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, प्रथम नेपाल म्युजिक अवार्ड २०७५, विन्ध्याबासिनी म्युजिक अवार्ड २०७७, नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ लगायतका पुरस्कार तथा अवार्ड प्राप्त गरेकी छन्। 

प्रकाशित: ९ पुस २०७९ ०२:०५ शनिबार

अक्षर