कला

विकलको स्मृतिमा स्थापित पुरस्कार वितरण

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको ‘रमेश विकल वाङ्मय पुरस्कार’ वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःलाई प्रदान गरेको छ।  

पुरस्कारको राशी नगद ५० हजार रूपैयाँ रहेको छ। यसरी नै २० हजार रूपैयाँ राशीको ‘रमेश विकल सुशीला समाजसेवी पुरस्कार’ लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आएकी सपना र‍ोका मगरलाई प्रदान गरियो। ‘रमेश विकल सृजना पुरस्कार’ वरिष्ठ समालोचक रमेश गोर्खाली, ‘रमेश विकल बाल साहित्य पुरस्कार’ बाल साहित्यकार लक्ष्मी उप्रेती तथा ‘रमेश विकल सङ्घर्षशील नारी सम्मान’ धर्मशीला चापागाईंलाई प्रदान गरियो।  

‘रमेश विकल कला-संगीत पुरस्कार’ वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो। यी सबै पुरस्कारको राशी नगद १० हजार रूपैयाँ रहेको छ। १४ औं विकल स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए। प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेद्वारा उद्घाटन गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका थिए।  

सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोकार्पण गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत् उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाललगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएका थिए। 

प्रकाशित: ९ पुस २०७९ ०२:०० शनिबार

अक्षर